बागलुङ, ६ जेठ – तत्कालीन एमालेले एकीकरणपछि घोषणा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ४५ केन्द्रीय सदस्यको मनोनयन टुंगो लगाएको छ । नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले ४५ केन्द्रीय सदस्यको मनोनयन टुंगो लगाएका हुन् । आधिकारिकरुपमा भने पार्टीले मनोनीत सदस्यको नाम सार्वजनिक गरेको छैन । ‘एकता प्रक्रियामा आएका कतिपय नेताहरुलाई समावेश गर्न सकिएको छैन,’ पार्टी उच्च स्रोतले भन्यो, ‘ती नामको बारेमा पनि छलफल भइरहेको छ ।’ टुंगिएका केन्द्रीय सदस्यहरुमा अर्थमन्त्री, सञ्चार राज्यमन्त्रीदेखि मुख्य मन्त्रीसम्म छन् ।
पार्टी स्रोतका अनुसार अर्थमन्त्री युवराज खतिवडा, सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा, युवा संघका पूर्वमहासचिवद्वय रविन्द्र अधिकारी र निरज आचार्य, पत्रकार विष्णु रिजाल केन्द्रीय सदस्यमा मनोनीत हुने भएका छन् । पूर्वसांसद तिलकुमार मेन्याङ्बो, तत्कालीन एमाले मोरङका पूर्वअध्यक्ष महेश रेग्मी, सांसद राजेन्द्र गौतम, झापाका पूर्वसचिव देवेन्द्र दाहाल, पूर्वसांसद आनन्दप्रसाद पोखरेल, प्रमोदनारायण यादव केन्द्रीय सदस्य मनोनीत हुने भएका छन् ।
राष्ट्रिय जनता पार्टीबाट एमाले आएका समिम अन्सारी, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेल, सांसद महेश बस्नेत, पुराना एमाले नेता गुरु बराल, अनेरास्ववियुका पूर्वमहासचिव एवं प्रदेशसभा सांसद वसन्त मानन्धर, जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ, किसान महासंघका केशवलाल श्रेष्ठ, युवा संघका पूर्वउपाध्यक्ष दिलुकुमारी पन्त पनि मनोनयन सूचीमा छन् ।
एमाले सांसद एवं पूर्वमन्त्री खगराज अधिकारी, शारदाप्रसाद सुवेदी, श्रीनाथ बराल, कृष्ण राई, लक्ष्मण ज्ञवाली, नरुलाल चौधरी, विमला घिमिरे, गोविन्द विक्रम शाह, भानुभक्त जोशी, दयालबहादुर शाही, चन्द्रबहादुर शाही पनि मनोनीत हुने भएका छन् ।
नयाँ शक्ति पार्टीबाट केही साताअघिमात्रै एमाले प्रवेश गरेकी पूर्वसांसद लिला भण्डारी, जनमोर्चाबाट आएका साध्यबहादुर भण्डारी, रामेश्वर राना, एकबहादुर राना, अच्युत मैनाली, बलराम बास्कोटा, विनोद ढकाल, गौरी ओली, अइन्द्रसुन्दर नेम्वाङ, नरेश खरेल, देवी ज्ञवाली, रामेश्वर फुयाल, भीम कार्की र पुण्य गौतम पनि मनोनीत केन्द्रीय सदस्यको सूचीमा छन् ।