काठमाडौं, ३ जेठ –नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन भएको औपचारिक घोषणा भएको छ । नेकपाको ६ बुँदे घोषणापत्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।राष्ट्रिय सभागृहमा बिहीवार साँझ आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले घोषणा पत्र वाचन गरेर सुनाए । एकता महाधिवेशनसम्म पार्टी दुईअध्यक्षात्मक प्रणालीमा चल्नेछ । ओली र प्रचण्ड दुवै अध्यक्ष रहनेछन् ।
नयाँ पार्टीको ९ सदस्यीय सचिवालय गठन भएको छ । पार्टी महासचिवको जिम्मेवारी विष्णु पौडेललाई दिइएको छ भने नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ प्रवक्ता चुनिएका छन् । यस्तै ४५ सदस्यीय स्थायी समिति र ४४१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत दर्ता भइसकेको छ ।
नेकपाको शक्ति कति ?
यो नेपालको सत्तारुढ दल हो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखसहितका सबै महत्त्वपूर्ण व्यक्ति यही पार्टीबाट छन् ।यसअघि प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतलाई आधार मान्ने हो भने यो पार्टीको पपुलर मत करीब ४५ लाख छ ।प्रतिनिधिसभाका कुल १६५ निर्वाचन क्षेत्रमध्ये ११६ निर्वाचन क्षेत्रका सांसद यही पार्टीबाट निर्वाचित छन् । प्रतिनितिसभाका कुल २७५ सदस्यमध्ये १७५ सदस्य नेपाल कम्युनिस्ट पार्टीकै हुनेछन् । राष्ट्रियसभाका ५९ सदस्यमध्ये ४२ जना यही पार्टीबाट रहेका छन् । कुल ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा यही पार्टीको बहुमतसहितको सरकार छ । कूल ७५३ स्थानीय तहमध्ये ४५ प्रतिशतभन्दा बढी स्थानीय सरकार पनि नेकपाकै नेतृत्वमा रहेको नेता योगेश भट्टराई बताउँछन् ।