नयाँ संरचना अनुसारको स्थानिय तहको निर्वाचन भएको आज एक बर्ष पुरा भएको छ । नेपालको संबिधान २०७२ ले परिकल्पना गरे अनुसारको संरचना बनाएर पहिलो चररणको निर्वाचन भएको आज एक बर्ष पुरा भएको हो । लामो समय जनप्रतिनिधि बिहिन बने र नयाँ संरचनामा गएका स्थानिय तहहरुले झण्डै बिस बर्षको अबधिमा स्थानिय तहमा जनप्रतिनिधि त पाए तर संबिधानको कार्यान्वयनको अवस्थामा रहेको देश र नयाँ संरचनाअनुसारका पुर्वाधार निर्माण, कानुन निर्माण, बिधि र प्रक्रिया सबै नयाँ व्यवस्थापन गर्नुपर्ने भएका कारण स्थानिय तहले सोचेको जस्तो सितलो सास अझै फेर्न पाएका छैनन् । स्थानिय तहमा आएका जनप्रतिनिधिले लामो समय राजनीतिक यात्रामा रहेका केही छन्भने केही नयाँ अनुभवको रुपमा स्थानिय सत्ताको कार्यकारी पदमा रहेकाले पनि उनीहरुको अनुभव र दक्षता नपुगेको जस्तो देखिन्छ ।
स्थानिय सरकार बने यता बागलुङको सन्दर्भलाई हेर्ने होभने यहाँका स्थानिय तहमा केही सडकलाई चक्लाउने अर्थात फराकिलो गर्ने कामबाहेक अरु केही पनि काम हुन सकेका छैनन् । निर्वाचनका बेला आँफुले जितेको एक बर्षमा गर्ने गरि बनाएका कामको तालिका पनि निर्वाचित बनेका जनप्रतिनिधिको घरमा थन्किएर बसेका छन्भने अधिक महत्वकांक्षा बोकेका आम सर्बसाधारणको एक प्रतिशतसम्म पनि आकांक्षा सम्बोधन हुन सकेको छैन् । स्थानिय तहमा भौतिक संरचनाको अभाव एकातर्फ छभने अर्कोतर्फ कर्मचारीको चरम अभाव स्थानिय तहहरुले ब्यहोर्दै आएका छन् । राज्य संक्रमणमा रहेको बेला समेत नभएको अभाव यो एक बर्षको अबधिमा स्थानिय तहहरुले ब्यहोरेका छन् । जनप्रतिनिधिको कमजोर निर्णय क्षमता र कर्मचारीले २० बर्ष सम्म गरेको जस्तै राज अहिले पनि गर्न खोजीरहेका कारणले पनि स्थायि तहहरुले चाहेको जस्तो प्रगती यो एक बर्षको समयाबधिमा हुन सकेन । स्थानिय तहको निर्वाचन सकिएको करिव छ महिनाभन्दा लामो समय पुरा देशनै प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा रुमलिएका कारण पनि यो समयमा चाहेको जस्तो काम हुन सकेन् ।
स्थानिय तहबाट सर्वसाधरणले लिँदै आएको पञ्जीकरण, घटना दर्ता, र सिफारीस लगायतका काममा केही सहजता आएको भएपनि विकासका काममा नत भौतिक पुर्वाधार विकास न त मानव विकास दुवै क्षेत्रमा विकासको गति निकै मन्द देखियो । जे जसरी भए पनि स्थानिय तहले जनप्रतिनिधि पाएको एक बर्ष पुरा भएको छ । एक बर्ष लामो समयमा गर्नै पर्ने छुटेका केही काम र आगामी दिनका कामका बिषयमा अब जनप्रतिनिधिले गम्भीर समिक्षा गरेर आगामी दिनको बाटो तय गर्न आवश्यक छ । हिजो गर्न नसकेको कुरामा पछुतो हैन भोलि गर्न सक्ने कुरामा योजना बनाएर प्रभावकारी बाटो रोज्नु नै जनप्रतिनिधिका लागि उत्तम उपाय हो । पाँच बर्षका लागि निर्वाचित भएका जनप्रतिनिधिले एक बर्ष समय बिताएका भएपनि बाँकी चार बर्ष उनीहरुका लागि काम गर्न बाँकी समय हो । परिक्षण काल त्यति राम्रो नभएपनि मध्यमकाल र सत्ताको समयलाई उपलव्धीमुलक बनाएर स्थानिय सत्ताबाट बाहिरिने गरि जनप्रतिनिधिका आगामी कार्ययोजना बनुन् । सत्तारोहणको पहिको बार्षिकीको स्थानिय तहका जनप्रतिनिधिलाई हाम्रो शुभकामना । अब आफ्नो ठाउँलाई राम्रो र हाम्रो बनाउने अभियनमा लागौं ।
Previous Articleमोदी भ्रमणको उदेश्य धार्मिक कि राजनीतिक ?
Next Article २०७५ वैशाख ३१ गते सोमबारको राशिफल