पोखरा, ३० बैशाख – गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई कानुनविपरीत तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएका छन् । शान्तिसुरक्षा र विपद् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्तरीय सुरक्षा गोष्ठीमा आइतबार उनले यस्तो निर्देशन दिएका हुन् । ‘संविधानविपरीतका कुनै पनि हर्कत गर्नेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुस्,’ उनले भने, ‘कानुनविपरीत हुने कुनै पनि काम गर्नेलाई पनि नछाड्नुस् ।’ कार्यक्रममा प्रदेशको विद्यमान सुरक्षा अवस्था, चुनौती र समाधानबारे प्रस्तुति र छलफल भएको थियो ।
स्थानीय र प्रदेश सरकारबीच समन्वय, यातायातको सिन्डिकेटको अवस्था, सुशासनलगायत आवश्यक कानुन नबन्ने बेलासम्म शान्ति सुरक्षाका लागि आवश्यक समन्वय विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले बताए । गृहमन्त्रीबाट जारी ८२ बुँदे कार्ययोजना र ३७ बुँदे निर्देशन, शान्ति सुरक्षा, सुशासन र नीतिगत अस्पष्टतालाई स्पष्ट पार्ने, मौसमी विपद्को तयारी तथा व्यवस्थापन र समग्रमा त्रुटिरहित सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यसाथ गोष्ठी आयोजना गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश चारका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्लास्तरीय प्रमुखहरुको सहभागिता थियो । गृहमन्त्रीले सबै जिल्लाको शान्ति सुरक्षालगायत समसामयिक समस्याबारे जानकारी लिँदै आवस्यक निर्देशन पनि दिएका थिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, प्रमुख सचिव लक्ष्मण अर्याल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी, नेपाली सेनाका उपरथी शरदकुमार गिरी र गृहसचिव प्रेमकुमार राईलगायतको गोष्ठीमा सहभागिता थियो ।