काठमाडौँ, २१ असोज – सरकारले दर्ता गराएको राजनीतिक दलसम्बन्धी विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउँदै थ्रेसहोल्ड राख्न प्रस्ताव गरेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल तथा सांसदहरू राजेन्द्र पाण्डे, रवीन्द्र अधिकारीलगायतले राखेको संशोधनमा आम निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट जितेको वा कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको राजनीतिक दलले मात्रै समानुपातिकतर्फ सिट प्राप्त गर्ने व्यवस्था हुनुपर्ने प्रस्ताव गरिएको छ ।
‘थ्रेसहोल्डबिना निर्वाचन व्यवस्थापनै कठिन हुन्छ,’ प्रमुख सचेतक ढकालले भने, ‘कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको वा प्रत्यक्षतर्फ एक सिट जितेको भन्ने वाक्यांशले साना दलहरूको माग पनि सम्बोधन हुन्छ ।’ एमालेकै सांसद रामेश्वर फुयालले भने राष्ट्रिय मान्यता प्राप्त दल हुन कम्तीमा ५ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने गरी थ्रेसहोल्डसम्बन्धी व्यवस्था गर्न अलग्गै प्रस्ताव गरेका छन् ।
उनको संशोधन प्रस्तावमा प्रत्यक्षतर्फ कम्तीमा ३ सिट जितेको वा ५ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको दललाई मात्र समानुपातिक सिट दिइनुपर्ने उल्लेख छ । आम निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा राज्यकोषबाट अनुदान दिई राजनीतिक दललाई चन्दा उठाउन निषेध गर्नुपर्ने पनि उनको प्रस्ताव छ ।
प्रमुख सत्तारूढ दल माओवादी केन्द्रले भने घुमाउरो भाषामा डेढ प्रतिशतको थ्रेसहोल्ड प्रस्ताव गरेको छ । माओवादी सांसद रामनारायण बिडारीको संशोधन प्रस्तावमा कम्तीमा डेढ प्रतिशत मत प्राप्त गर्ने दललाई संगठन सञ्चालनका लागि राज्यकोषबाट रकम दिने व्यवस्था प्रस्ताव गरिएको छ ।
उनले दलको केन्द्रीय समितिमा मात्र नभई पदाधिकारीमा पनि कम्तीमा एक तिहाई महिला हुनुपर्ने व्यवस्था प्रस्ताव गरेका छन् । विधेयकमा राजनीतिक दलको केन्द्र, प्रदेश र स्थानीय कमिटीमा कम्तीमा एक तिहाई महिला प्रतिनिधित्व हुनुपर्ने व्यवस्था प्रस्तावित छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने निर्वाचनसम्बन्धी विधेयकबारे पार्टीका वरिष्ठ नेताहरूबीच छलफल चलिरहेको बताए ।
राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड राख्न प्रस्ताव
Previous Articleढोरपाटनमा आफूखुसी सिकार गर्दै विदेशी
Next Article त्यत्तिकै खेर गइरहेको छ ४२ मेगावाट बिजुली