बागलुङको विकासका लागि कस्तो खाका बनाउन सकिन्छ भनेर जिल्ला समन्वय समितीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित जिल्लाका सबै तहका जनप्रतिनिधिले समृद्ध बागलुङ बनाउने संकल्प गरे । जिल्ला समन्वय समितीका संयोजक राजेन्द्र ढुंगानाले प्रस्तुत गरेको कार्यपत्र माथि बोल्दै जनप्रतिनिधिले गरेका टिप्पणी र प्रतिबद्धतालाई सुन्दा लाग्छ अब जिल्लाको विकासमा जनप्रतिनिधिले कुनैपनि कसर बाँकी राख्ने छैनन् । समृद्धिको नारा लगाउँदै आईरहेका जनप्रतिनिधिले गरेको यो संकल्प पहिलो भने होईन् । स्थानिय तहको निर्वाचन भएको एक बर्ष पुरा हुन केही दिन मात्रै बाँकी छभने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भएको झण्डै आधा बर्ष पुरा हुनै लागेको छ । निर्वाचनका बेला आफ्ना घोषणा पत्र र जनताको घरदैलो पुगेर अहिले सत्ताशिन दलका प्रतिनिधिले पनि बागलुङको मुहार फेर्नका लागि तत्कालै काम थाल्ने भनेर अनेकौं सपना सहितका प्रतिबद्धता र संकल्प गरेका थिए । तर निर्वाचन सम्पन्न भएर तल्लो तहदेखी माथिल्लो तहसम्मको सरकारमा रहेका जनप्रतिनिधिले समय बिताउने र भत्ता पचाउने बाहेकका केही पनि काम जनताले विश्वास गर्ने हिसावले गरेका छैनन् ।
लामो समय जनप्रतिनिधि नहुँदा कर्मचारीको भरमा रहेका स्थानिय तहले राजनीतिक संयन्त्र र कर्मचारीको भरमा चलाएका विकास निर्माण काम जस्तै कामहरुलाई निरन्तरता दिने बाहेकका अन्य कुनैपनि नयाँ कामको थालनी भएको छैन् । उपभोक्ता समितीमार्फत हुने काम उल्टो राजनीतिक पहुँचका आधारमा समिति निर्माण गर्ने र टेण्डरमार्फत गर्नुपर्ने काम आँफु अनुकुलको ठेकेदार कम्पनीलाई जिम्मा लगाउने र कमिसनको चलखेल गर्ने काममा कहिँकतै जनप्रतिनिधीहरु लागेका गुनासाहरु पनी सर्वसाधारणको तहबाट आउने गरेका छन् । यदि इमान्दार भएर राजनीतिक अभिष्ठभन्दा सामाजिक दायित्वलाई केन्द्रमा राखेर काम गरेको भए जनप्रतिनिधिका लागि एक बर्षको समय भनेको विकास निर्माणमा कायापलट गर्न सक्ने समय हो । एकातर्फ कानुनी जटिलता र अर्कोतर्फ कुटिल प्रशासक बन्न नसक्दा अझैपनि जनताका प्रतिनिधिहरु कर्मचारीले चलाएको भरमा चलिरहेका छन् । आफ्नै कार्यालयमा भएका कर्मचारीलाई समेत सम्हालेर काममा लगाउन नसकेका जनप्रतिनिधिका सामु यि र यस्ता खालका अनेकौं सवालहरु खडा हुने गरेका छन् ।
समृद्ध बागलुङको सपना जनप्रतिनिधिको मात्रै हैन आम बागलुङ बासीको सपना हो । जिल्लाका सबैखाले क्षेत्र र बर्गको चाहना हुँदाहुँदै पनि समृद्धिको बाटोमा कहाँबाट कसरी र कस्ले नेतृत्व गरेर लाग्ने भन्नेमा अन्यौलता कायम छ । संबैधानिक रुपमा पुर्ण अधिकार पाएर पनि निर्णय क्षमता कमजोर भएका कारण कर्मचारी र केही आसेपासेको भनसुनकोे भरमा विकास निर्माण तथा मानव विकासका कामहरु चलिरहेका बेला फेरी पनि हामी समृद्ध बागलुङको बाटोमा छौं भन्नु लज्जास्पद हुन्छ । त्यसैले अब जिल्लाको समृद्धिका लागि आवश्यकता, उपलव्धता र सम्भावनाका क्षेत्रहरुको पहिचाहन गरि तल्लो तहदेखि राज्यको उपल्लो तह सम्मको सबै शक्ति लगाएर स्पष्ट धारणासहित अगाडि बढ्नुनै अहिलेको आवश्यकता हो । कोठे भाषण र कागजी कामले मात्रै समृद्धिको गन्तव्यमा पुगिंदैन् । समृद्धिको गन्तव्य पहिल्याउनका लागि आजैबाट कामको थालनी गरौं ।
Previous Articleप्राथमीक विद्यालयलाई वालमैत्रि व्यवस्थापन तालिम
Next Article २०७५ वैशाख १६ गते आईतबारको राशिफल