सोल, १४ बैशाख – वर्षौँसम्म उच्च सैन्य तनावको सामना गरिरहेको कोरियाली प्रायद्वीपका लागि शुक्रबार एक ऐतिहासिक दिन बन्यो। दुवै देशका सर्वोच्च नेताले सीमावर्ती गाउँ पान्मुन्जोममा एक संयुक्त घोषणामा हस्ताक्षर गर्दै कोरियामा शान्ति र समृद्धियुक्त भविष्यको परिकल्पना गरे। किम जोङ उनले कोरिया युद्धपछि पहिलो पटक दक्षिणतर्फ प्रवेश गरेर इतिहास रच्न सफल भए।
किम र मुनले आपसमा हस्तमिलन र अंकमाल मात्र गरेनन्, युद्धका कारण विभाजित परिवारजनलाई मिलनको पहल गर्ने पनि बताए। कोरिया संकटको सम्पूर्ण समाधान अझै सहज छैन, तैपनि यसको पहिलो खुड्किलो सहजतापूर्वक पार भएको छ। शुक्रबारको ऐतिहासिक दिनमा डिमिलटराइज्ड जोनको पान्मुन्जोम गाउँमा के के भयो त ?
स्थानीय समयअनुसार बिहान साढे ९ बजे सीमारेखामा किम र मुनले हात मिलाए।साथमा सीमा रेखा पार गर्दै किम र मुन
दुई नेता भेट भएर मुस्कुराउँदै हात मिलाएपछि किमले अचानक मुनलाई उत्तर कोरियातर्फ निम्त्याएका थिए र उनीहरु सीमा रेखा नाघेर उत्तरतर्फ गइ पुनः हात मिलाएका थिए। त्यसपछि पान्मुन्जोमको शान्ति भवनमा राखिएको अतिथि पुस्तिकामा किमले अब ‘नयाँ इतिहास सुरु भएको’ लेखेका थिए।शिखरवार्ताको सुरुवातमा किमले आफूहरुलाई यत्तिका वर्ष अलग बनाएको सीमारेखा नाघ्न नसकिने भए पनि त्यहाँसम्म पुग्न आफूलाई ११ वर्ष लागेको टिप्पणी गरेका थिए। उता मुनले भने किमले नाघेको सीमा रेखा आइन्दा विभाजनको होइन, शान्तिको प्रतीक बनेको बताएका थिए। दुई नेताबीचको वार्ता करिब २ घण्टासम्म चलेको थियो। वार्ताको टेबलमा उपस्थित दुवै देशका ६ जना नेतामध्ये एक मात्र महिला थिइन् किमकी बहिनी किम यो जोङ। पहिलो सत्र समाप्तिपछि किम कारमा चढेर खाना खान आफ्नो देशको सीमाभित्र प्रवेश गरेका थिए। उनको कारलाई चुस्त अंगरक्षकहरुको समूहले घेरेको थियो।
खाना खाएर फर्केपछि किम र मुनले शान्ति र समृद्धिको प्रतीकस्वरुप रोपिएको एक रुखमा माटो र पानी हालेका थिए। त्यसपछि शिखरवार्ताको दिवा सत्र सुरु भएको थियो। दिवा सत्रको अन्त्यमा दुवै नेताले संयुक्त घोषणामा हस्ताक्षर गरे।
‘आठ करोड जनताका अघि दुवै नेता गम्भीरतापूर्वक घोषणा गर्दछौँ, आइन्दा कोरियाली प्रायःद्वीपमा युद्ध हुने छैन,’ घोषणामा लेखिएको छ।त्यसलगत्तै उत्तर र दक्षिण कोरियाली प्रथम महिलाहरुबीच पहिलो पटक भेट भयो। रात्रीभोजमा सहभागी हुन किमपत्नी री सोल जु पान्मुन्जोम पुगेकी हुन्।
त्यसपछि दक्षिणका राष्ट्रपति मुन जे इनले किमको स्वागतमा रात्रीभोज आयोजना गरे। रात्रीभोजमा पस्किइने खानाको सूची पहिले नै सार्वजनिक भइसकेको थियो। सूचीमा उत्तर कोरियाबाट प्रचलनमा आएको तर अहिले दक्षिणमा चाहिँ बढी चर्चामा रहेको चिसो चाउचाउलाई पनि राखिएको छ। शिखर वार्ताको क्रममा किमले यसका बारेमा मजाक गरेपछि शुक्रबार सामाजिक सञ्जालमा पनि यो परिकार ट्रेन्डिङ आएको बताइएको छ।
शिखर वार्ताको अर्को रोचक पक्ष के छ भने बर्लिन पर्खाल ढलेपछि पूर्वी र पश्चिमी जर्मनीबीच एकता सन्धिमा हस्ताक्षर गर्न प्रयोग भएकै ब्रान्डको कलम दुई कोरियाबीचको संयुक्त घोषणा हस्ताक्षर गर्नमा पनि प्रयोग भएको छ। स्वीस ब्रान्ड मोन्ब्लांकको सो कलम किमकी बहिनीले हस्ताक्षरका लागि दिएकी थिइन्।दुई कोरियाबीचको यो ऐतिहासिक घोषणाको विश्वभरबाट स्वागत भएको छ। चीन, जापान, रुस र अमेरिकाजस्ता देशहरुले शिखरवार्ताको स्वागत गरेका छन्। अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्विटमार्फत् कोरिया युद्ध समाप्त हुने बताए। उनले अमेरिकी जनताले यसबाट गर्व लिनुपर्ने बताए। उनले आफ्ना ‘असल भित्र’ सी जिनपिङबिना यो पक्रिया अझ लामो र अप्ठ्यारो हुने पनि बताए। चीनले सफल शिखरवार्ताका लागि दुवै देशलाई बधाइ दिएको छ।
रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवले दुई देशबीच हुने भनिएको पूर्वाधार निर्माण कार्यमा आफूहरुले सहजीकरण गर्ने प्रस्ताव पनि राखेका छन्।साँझ सांगीतिक प्रस्तुतिसहितको रात्रीभोजपछि कोरियाली प्रायःद्वीका लागि ऐतिहासिक मानिएको यो दिन समाप्त भएको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग सफल शिखरवार्ता सम्पन्न गरेर उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्केका छन्।
यस्तो छ किम र मुनबीचको सहमति :
उत्तर कोरियाली नेता किम जोंङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले शान्ति सम्वन्धी एक घोषणापत्रमा हस्ताक्षर गरेका छन्। यो सँगै उनीहरुको ६५ वर्षे द्वन्दको अन्त्य हुने अनुमान गरिएको छ। दुई नेताले शुक्रबार कोरियाली प्रायद्विपमा युद्ध नगर्ने घोषणा गरे। दुई नेताको भेटले उत्तर र दक्षिण कोरियामा शान्तिको संचार भएको छ।
दुई नेताले हस्ताक्षर गरेको घोषणापत्रमा अब कोरियाली प्रायदिपमा कुनै प्रकारको युद्ध नहुने घोषणा गरिएको छ। उनीहरुले शान्तिको नयाँ युग सुरु भएको बताएका छन्। वार्ता पछि दुवै नेताले सम्वोधन गरेका छन्। वार्ता पछि भएको ऐतिहासिक हस्ताक्षरलाई ‘पान्मुन्जोम घोषणा’ को संज्ञा दिइएको छ। आणविक निशस्त्रीकरणका लागि दुवै पक्षले प्रायस गर्ने संयुक्त घोषणामा उल्लेख छ। दुई देश एक अर्का प्रति लड्नु पर्ने कारण नभएको समेत उनीहरुले बताए।
दुई देशमा रहेका परिवारबीच मिलन गराउने सम्झौतामा उल्लेख छ। यस्तै दुवै देशलाई आधुनीक रेल यातायात सुविधाले जोड्ने प्रतिवद्धता जनाइएको छ। यसै वर्ष हुने एसियन गेममा दुवै देश मिलेर खेल्ने जनाइएको छ। दुबै देशले उत्तर कोरियको गैसंगमा एक साझा कार्यालय खोल्ने घोषणा गरेका छन्। सागै दक्षिण कोरियाली नेता मून जे इनलेले यसै वर्षको अन्तिमा उत्तर कोरियाको भ्रमण समेत गर्ने छन्।
Previous Article१४ वैशाख २०७५, ढोरपाटन दैनिक
Next Article नेपालकै ठूलो २५ मेगावाट सोलार प्लान्टको शिलान्यास