दलित भएर बाँच्न कति गाह्रो छ भन्ने कुरा देशको राजधानी काठमाडौंमा केही महिनाअघि घटेको घटनाले उजागार गर्छ । घटना थियो– दुई बागलुङे पत्रकारलाई दलित समुदायको भएकै कारण घरधनी गैरदलितले भाडामा लिएको कोठाबाट निकालेका थिए । देशकै राजधानी काठमाडौंमा जातिय विभेदको खाडल यतिसम्म गहिरो छभने देशका दुर्गम ठाउँमा कस्तो होला एकपटक कल्पना गरौं त । एक पत्रकार जो अरुका दुःख लेखेर आश्रयको जोगाड गर्न पहल गर्छ । तर त्यही पत्रकार जातिय विभेद जस्तो अमानवीय व्यवहारबाट प्रताडित हुन्छ भने समाजको बेतिथी कहिले अन्त्य होला । हामी २१ औं शताब्दीको युगमा छौ । तरपनि दलितमाथि जातिय विभेद गरेर मन्दिर प्रवेशमा रोक लगाइन्छ, बोक्सीको आरोप लगाएर तातो पन्युले जिब्रो डामिन्छ, अनि अछुत जात भन्दै धारामा रोक लगाइन्छ । विभेदका यस्ता घटना खबर बेक्रिङ न्युज बनेपनि सम्बन्धित निकायले कानुनी दायरामा ल्याउन भने प्रभावकारी कदम चालेको देखिदैन ।
जातिय विभेदलाई कानुनले बन्देज गरेपनि दलित समुदाय माथि हरेक दिन दमनका घटना भईरहेको छ । दलित समुदायको क्षेत्रमा काम गर्ने उदेश्यले सरकारले दलित आयोगको समेत व्यवस्था गरेको छ । तर, आयोग गरिखाने भाँडोमा मात्रै सिमित बनेको छ । होइन भने दलित समुदायले दिनानुदिन भोग्दै आएको पीडामा किन बोल्दैन ? जातिय समानताको विषयमा बहर पैरवी र सचेतनामुलक कार्यक्रम संचालन गर्दैन ? समाज जति आधुनिक बन्दै गएको छ, मान्छेभित्रको मानवीयता पनि हराउँदै गएको छ । जातिय अहंम्ताकै कारण आज मिलेर बसेको समाज बिग्रह हुँदै गएको छ । छिमेकी भनेका मर्दाका मलामी र जिउँदाका जन्ती भनिन्छ । जातियताकै आधारमा समुदाय विभाजित हुँदा भोलि यसले नराम्रो असर निम्त्याउन सक्छ । त्यसैले सबै जातजाति एक भएर समाजको विकासमा जुट्नु पर्छ । जातिय विभेद अन्त्य गर्ने उदेश्यले सहभोज कार्यक्रम तथा अन्तरजातिय विवाह गर्नेलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था सरकारले गरेको अवस्था छ । जातिय विभेद अन्त्य गर्नको लागि सहभोज र प्रोत्साहन भत्ताको व्यवस्था गरेर मात्रै हुदैन, चेतनामुलक कार्यक्रम पनि गर्नुपर्छ ।
भीमापोखराका दलित समुदायले उत्पादन गरेको दुध स्थानिय सहकारीले नलिएको सनसनीपुर्ण घटना सार्वजनिक भएको केही महिनापछि फेरि धम्जाका गैरदलित र दलित समुदाय विभाजित भएको समाचार बाहिर आएको छ । काठेखोला गाउँपालिका–३ धम्जाका गैरदलित र दलित समुदाय एकअर्काको जन्ती तथा मलामी समेत जान छाडेका छन् । पछिल्लो दुई महिनायता धम्जाको असौजे गाउँका दलित र गैरदलित समुदाय एकआपसमा बोलचाल गर्न समेत छाडेका छन् । कसैको बिहेवारी र मृत्यु शोकमा छिमेकी गाउँसम्म एक साथ जाने आजभोलि बिहेवारी हुँदा एकआपसमा निम्तो पनि नगर्ने र गरिहाले पनि निम्तोमा नजाने प्रवृत्ति सुरु हुनु कदापी राम्रो होइन । मिलेर बसेको समाज विभाजित हुँदा कसैलाई पनि फाइदा हुँदैन । विभाजित समुदायलाई एउटै मालामा परिणत गर्न स्थानिय सरकारले विशेष महल गर्नुपर्छ । जातियताको तुष हटाएर अब मानवियता जगाउँदै एकसाथ अघि बढ्नु पर्छ ।
Previous Articleढुंगाखानी कानुनी दायरामा ल्याईने
Next Article २०७५ वैशाख १३ गते बिहिबारको राशिफल