डिल्लीप्रसाद गौतम
प्रदेश सभा तथा प्रतिनिधि सभामा नराम्रोसंग हार व्यहोरेको मुलुककै प्रमुख प्रजातान्त्रिक दल नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक स्थगित हुँदै पुनः बस्दै लम्बिरहेको छ । संघीय संरचनाअनुसार गत मंसिर (२०७४) १० र २१ गरी दुई चरणमा सम्पन्न संघीय संसद र प्रदेश सभामा पार्टीको लज्जास्पद हार पश्चात अनेकन टिकाटिप्पणी र केन्द्रिय समितिको बैठक आव्हान गर्न पार्टी सभापति शेर बहादुर देउवामाथि चर्काे दबाब पश्चात बल्लतल्ल बोलाईएको उक्त बैठक करिब १ महिना पुग्नै लाग्दासम्म पनि चलिनै रहेको छ । निर्वाचनमा पार्टीको लज्जास्पद र अनपेक्षित हार व्यहोरेको कांग्रेसलाई हारको नालीबेली पत्ता लगाउन निकै नै गाह्रो परिरहेको छ । अनेक गुट–उपगुट, घात प्रतिघात, पार्टीमा नैतिकताको खडेरी अनि जिल्ला जिल्लामा नेतृत्वलाई नाङ्गेझार पार्न र असफलताको जिम्मेवारी पुर्ण रुपमा केन्द्रमा केन्द्रिय पार्टी सभापति तथा जिल्लामा जिल्ला सभापतिलाई थोपरेर आफुहरु पानीमाथि ओभानो बन्ने प्रवृत्ति अहिले कांग्रेसमा झाङ्गिएर बसेको पाइन्छ । केन्द्रदेखि जिल्लाहुँदै गाउँ–गाउँसम्म कांग्रेसमा गुट–उपगुट तयार छन् । अनुशासन र नैतिकता, पार्टीप्रतिको लगाव अनि वफादारिताको कांग्रेसमा अभाव छ । एक गुटका नेताले अर्काे गुटका नेताको तेजोबोध गर्न कम्मर कसेर लागिरहेका छन् । पार्टीको संगठन पुर्ण रुपमा ध्वस्त भैसक्दा समेत कांग्रेसमा जिम्मेवारी बोध अझैसम्म पनि कुनै नेताले गर्न सकिरहेका छैनन् । यस्तो विषम परिस्थितिमा बोलाईएको केन्द्रिय समिति बैठकमा समेत करिब १ महिना वितिसक्दा समेत कुनै निचोड भने निस्कन सकिरहेको छैन ।
पार्टीको हारको प्रमुख कारण खोज्न् २०७४ चैत्र ९ गतेदेखि चालु कांग्रेस केन्द्रिय समितिको बैठक चैत्र १६ मा कांग्रेस नेता, पुर्वमन्त्रि खुमबहादुर खड्काको निधनका कारण स्थगत हुन पुगेको थियो । तत्पश्चात पुन २०७५ बैशाख ९ देखि पुनः सूचारु भएको कांग्रेस केन्द्रिय समिति बैठकमा नेताहरुले एकले अर्काेलाई आरोप–प्रत्यारोप गर्नमा नै व्यस्त रहेका छन् । नेताहरुको तेजोवध हुने गरी खास गरी रामचन्द्र पौडेल र शेर बहादुर देउवा पक्ष बीच जुहारी नै चलिरहेको छ । हुन त कांग्रेसमा देउवा–पौडेल मात्र नभएर सिटौला र खुम बहादुर खड्का गरी ४ वटा गुट–उपगुट तयार भैसकेका छन् । तर पनि पछिल्लो समयमा आइपुग्दा नेता खुम बहादुर खड्काको निधन पश्चात उक्त गुट अहिले नेताविहिन छभने ३ वाट गुट जिल्ला–जिल्लासम्म खडा भएका छन् । यसरी नेता अनुसारका गुट–उपगुटका बीच नेतृत्वप्रति तीव्र असहयोग, घात प्रतिघातका बावजुत सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको हारको कारणको आसपास खोजी भन्दा पनि नेताहमाथि गाली–गलौज र आक्षेप लगाउने फोरम बनेको छ चालु कांग्रेस बैठक । स्वभावतः नेतृत्वकर्ताका हिसाबले नैतिक जिम्मेवाररु पार्टी सभापतिले लिनु पर्नेमा दुई मत छैन । तर यति लामो इतिहास बोकेको, मुलुकमा हरेक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको, मुलुकमा प्रजातन्त्र प्राप्ती पश्चात लामो समय सत्ताको बागडोर सम्हालेको, खास गरी ०६२÷०६३ को आन्दोलको बलमा २४० वर्ष पुरानो शाहवंशिय शासनको अन्त्य र मुलुकमा जारी १० वर्षे भूमिगत आन्दोलन गरिरहेको तत्कालिन नेकपा माओवादीलाई संसदीय राजनीतिको मुल धारमा ल्याउन अहं भूमिका निर्वाह गरेको, संघीय संविधान निर्माण गरी तिनै तहको निर्वाचन आफ्नै नेतृत्वमा सम्पन्न गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको मुलुककै प्रमुख प्रजातान्त्रिक पार्टी यहीँ निर्वाचनमा इतिहासमा नै लज्जास्पद हार व्यहोर्न पुगेको छ । तसर्थ यो पार्टीको हारलाई वर्तमान अवस्थामा शेर बहादुर देउवाको नेतृत्वकालमा आएर मात्र समिक्षा गर्न खोजिनु राजनीतिक भूल मानिन्छ ।
कांग्रेस पार्टी गणेशमान, कृष्ण प्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशिल कोइरालाहुँदै शेर बहादुर देउवाको नेतृत्वकालमा आईपुग्दा थला परेको छ । पार्टी लामो समयदेखि विभिन्न गुट–उपगुट तथा आन्तरिक घात प्रतिघातको शिकार बनिरहेको छ । मानौ कांग्रेसमा क्यान्सर रोग नै लागेको छ । उक्त क्यान्सर रोग पनि स्टेप–स्टेप पहिलो, दोस्रो, तेश्रो तथा चौथो मध्यममा कांग्रेस पार्टीलाई अहिले अन्तिम स्टेपको रोगले ग्रसित बनाएको अवस्था छ । उक्त रोगलाई विषम विशेषज्ञको प्रत्यक्ष निगरानीमा इलाज गर्न सकिएमा मात्र उक्त रोग नियन्त्रणमा आउन सक्दछ । उक्त रोगको उपचारमा कैयन भागको चिरफार तथा कुनै अंग शरीरबाट हटाएर अर्काे अंग प्रत्यारोपण समेत गर्नु पर्दछ । कांग्रेसमा जलित रोग लागेको र यथासक्य छिटो उपचारको खाँचो छ । कांग्रेमा लौहपुरुष गणेशमान सिंह पार्टीबाट सन्यास लिनु पर्ने कारण, ०५१ को उपचुनावमा सन्त नेता कृष्ण प्रसाद भट्टराई पराजित हुनुको कारण, ०५६ को निर्वाचन पश्चात पार्टीको तर्फबाट निर्वाचित भै प्रधानमन्त्री बनेका सन्त नेता कृष्ण प्रसाद भट्टराई पदबाट अपदस्त हुनु पर्नुका कारण, ०५१ को मध्यावधि निर्वाचन (जहाँ पार्टी पुर्ण बहुमुतमा थियो) घोषणा गर्नु पर्नुको कारण जस्ता अनेकौ जीर्ण रोगको कारण र निदान कार्यभित्र छलफलको विषय बन्नु पर्दछ । कांग्रेस कार्यकर्तामा समेत वर्षभरको ३६५ दिनमा ३६४ दिन कांग्रेस हुने र १ दिन बर्बराउने रोग विद्यमान छ । यस रोगको निदान पनि आवश्यक छ ।
यसरी कांग्रेस पार्टीको जारी बैठक कांग्रेसमा लागेको खतरनाक क्यान्सर रोगको निराकरण र निवारण गर्नमा केन्द्रित हुनु पर्नेमा केवल वर्तमान हारको जिम्मेवारी कसले लिने भन्नेमा मात्र केन्द्रित रहनु दुर्भाग्यपुर्ण मान्नु पर्दछ । यस निर्वाचनमा पार्टीका प्रमुख हस्तीहरु नै पराजित हुन पुगेका छन् । ०४६ को राजनीतिक परिवर्तन पश्चात निरन्तर पार्टी र सरकारमा उच्च पद ओगटेर राज गरिरहेका, आर्थिक अवस्था मजुत पारेका, नातापात र आफन्तमा समेत राम्रै आर्थिक हैसियत स्थापना गर्न सफल नेताहरु किन पराजित हुनुप¥यो ? उहाँहरुको कर्यशैली, आमनागरिक प्रतिको उत्तरदायित्व, आर्थिक पारदर्शिता आदि इत्यादि कैयन कारणहरु पार्टीका प्रमुख नेताहरु हार्नुका आफैमा कारणहरु छन् । नातावाद, कृपावाद उत्तरदायित्व बहनमा देखिएका समस्या, देश र नागरिक प्रतिको उत्तरदायित्व बहन गर्नमा हाम्रा नेताहरु बेला–बेलमा पक्कै चुकेकै छन् । तसर्थ कांग्रेस केन्द्रिय समिति बैठकमा हारको कारण खोजिरहँदा विगतलाई नजरअन्दाज गर्न पटक्कै मिल्दैन । तर पनि निर्वाचनको अवधिभर र पुर्व सन्ध्यामा आएर टिकट वितरणदेखि राजनीतिक नेतृत्वले लिएका कतिपय निर्णयहरु पार्टी हारका सहायक कारणहरु भने पक्कै बनेका छन् ।
त्यसैले आगामी दिनमा जनताको कांग्रेस बनाउनको लागि चालु केन्द्रिय समितिले नेतृत्वको मात्र आलोचना हैन आफुले पार्टीप्रति के कति लगाव राखियो ? कतै आफ्नै आनीबानी र व्यवहारले कार्यकर्ता रुष्ट र टाढिन त पुगेनन् ? पार्टीको संगठन चुस्त र दुरुस्त बनाउन आफुहरुको भूमिका कस्तो रह्रयो ? भोलिको दिनमा आफुले नेतृत्व लिनका लागि संगठन गर्नुपर्ने कि नपर्ने ? आदि इत्यादि गंभीर विषयवस्तुमा छलफल केन्द्रित हुन जरुरी छ । त्यसैले सर्वप्रथम नेताहरुले आत्मविश्लेषण गर्न जरुरी छ । त्यस पश्चात पार्टी सञ्चालनमा नेतृत्वबाट समेत समय समयमा भए गरेका कमीकमजोरी र त्रुटीहरुलाई सच्याएर लैजाने प्रतिवद्वता व्यक्त गर्नुपर्छ । खासगरी कांग्रेस नेता कार्यकर्ताहरुमा कार्यशैली, आनीबानी र व्यवहारमा पुर्ण निखारता आएमा मात्र कांग्रेस पार्टीले नवजीवन प्राप्त गर्नेमा दुई मत नहोला । त्यसैले कांग्रेस केन्द्रिय बैठकमा उल्लेखित विषयमा समेत घनिभुत छलफल गरी गुटगत राजनीतिको अन्त्य भएको घोषणा गर्न सकेमा मात्र कांग्रेस पार्टीले पुर्नजिवन प्राप्त गर्न सक्ने छ ।
Previous Articleप्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव
Next Article २०७५ वैशाख १२ गते बुधबारको राशिफल