कृष्ण प्रसाद शर्मा
छ न त हाम्रो देशमा सिन्डिकेट यातायातमा मात्रै होईन राजनीतिदेखि खुद्रा व्यापार सम्ममा छ । यसको संजाल ठुलो छ । तरकारी व्यापारीको बिचौलिया सिन्डिकेटले गर्दा किसानले बेचेको तरकारी घर आईपुग्दा तेब्बर पुग्छ । किसानले बेचेको उखुको भाउ बिचौलीयाले गर्दा चिनी महंगो बनेको छ । जसको अर्थ नुनदेखी सुनसम्म सिन्डिकेट छ तर आज केवल यातायात सिन्डिकेटको कुरा गर्दा ठीक होला । अहिले सरकार र यातायात व्यवसायीको वाकयुद्ध चलेको छ । यो युद्ध अलि कडै हुने देखिन्छ किन कि यो सरकार भन्दा अगि पनि सिन्डिकेटका कुरा आउँदा यातायात सिन्डिकेटवालाहरूले राज्यलाई कहिलै टेरेनन् त्यसैले अहिले पनि केही गर्न सक्दैन राज्यले भनेर यातायात ठप्पका धम्की सुनिएको छ । राज्यले सूचना संकलन र यसलाई व्यवस्थित गरेर राख्ने खास संयन्त्र नभएका कारण तथ्याङका रुपमा कुनै डाटा नभए पनि बार्षिक करीब ५ अर्बभन्दा माथिको कारोबार यातायात व्यवसायीले गर्ने गरेको एक सचिवको भनाई छ ।
साधारण हिसाबले हेर्दा पनि तपाई हामीले देखेका यातायत व्यवसायी जो करीब दश बर्षभित्रै आठ दश वटा बसका मालिक र आलिशान घरमा बस्ने भए । यसको मुल श्रोत यही यातायात व्यवसाय हो । एउटा सामान्य दोबाटोमा गरालो तेर्साएर चुङगी कर उठाउनेको आम्दानीको हिसाब बाँडफाँड भट्टी पसलमा हुन्छ भने यसबाट पारदर्शिताको नमुना देखिन्छ भने अरु ठुला यातायातवालाको हिसाब किताबको बारे आँफै अड्कल गर्नुस् । सानो व्यापारीले समेत पान नं. लिएर करको दायरामा ल्याउ खोजेको बेला यतिको कारोवार हुनेलाई वेलगाम किन छोड्ने । कमाएपछि निश्चित कर तिर्नु नै पर्छ । यातायात व्यवसाय खास गरी कम्पनीमा दर्ता भएर करको दायरामा आउनु पर्नेमा जिल्ला प्रशसनमा दर्ता भएर एनजीओको जस्तो कमाउ धन्दा गर्ने तर राज्यलाई गलत कुराको साक्षी राख्ने बाहेक केही भएको छैन ।
यदि तपाईले देशैभरिका जिल्लाका यातायात व्यवसायको संघ र संगठनमा तिनीहरूका नेताहरू हेर्नु भयो भने एक किसिमले मान्छे पिट्ने छबी बनाएका मात्र छन् । चालढाल र रहन सहन हेर्दा थाहा लाग्छ किन बिना मुद्राका यातायात व्यवसायीका नेता नै छैनन् । राजनैतिक रुपमा युवा संघ, तरुण दल र वाईसिएलका दादा नै जिल्ला र केन्द्रका यातायात व्यवसायीका मालिक र नेता छन् । आजसम्म संरक्षण भएको प्रमुख कारण यही हो । केन्द्रको सिन्डिकेटवालाको समितिमा सबै पार्टिका कोही हरुवा कोही सक्रिया कार्यकर्ता रहेको देखिन्छ । नाम र ठाम खोजेर भिडाउँदा हुन्छ ।
सिन्डिकेटका कारण यात्रुले चर्को भाडा तिर्नु परेको छ । साझा बसले देशैभरि बस संचालन गर्न चाहेर पनि चल्न नदिने अवस्था छ । धुलिखेल काठमाण्डौको रुट पाउन साझालाई युद्ध लड्नु पर्ने स्थिति आयो । प्रतिस्पर्धा भए मात्र भाडादरको सहुलियत हुने हो तर जब खाए खा नत्र घीचको रुपमा देशैभरि यातायातको सिन्डिकेट छ । सिन्डिकेटवालाले नयाँ रुट चलाउ तर चलि राखेको बाटो दिन्नौसम्म भनेर नयाँ व्यवसायीले गाडी थन्काएर अरु व्यापार व्यवसाय गरेका छन् । सिन्डिकेटका कारण बर्षौसम्म चलेका गाडी जति पुराना भएपनि चलाई राखेका छन् । प्रहरीले देखो नदेखो मात्र होईन उनीहरू संगै मिलेर पुराना गाडी निर्वाद रुपमा गुडी राछन् । जसका कारण वातावरणमा असर परेको छ । सिन्डिकेटका कारण यात्रुहरूले मात्र होईन सामान ओसारपसार गर्नेमा पनि ठुलो असर परेको छ । बसले मान्छे मात्र होईन सामान समेत ओसारेर त्यो पैसाको कुनै आयकर वा लेखाजोखा नै छैन । त्यसैले मालवाहक ट्रकमा बाहेक बसमा सामान समेत बोक्न दिनु हुँदैन ।
सिन्डिकेटका कारण सेना, प्रहरी समेत धुस्या भएका छन् । बाटोमा कुनै गाडीको आवश्यक भन्दा बढी यात्रु वा सामान बोकेको भए समितिको नाम हेरेर छोड्ने पछि भट्टीमा पैसा हप्ता बुझ्ने आज पनि चलिराछ । ट्राफिक प्रहरीले गर्ने व्यावहार पनि यि सिन्डिकेटवालाहरू र अरुमा फरक छ । सिन्डिकेटवाला आर्थिक रुपमा भ्रष्ट र सामाजिक रुपमा पतिट भएपनि यिनीहरूको संजालका कारण समाजमा एक किसिम त्रास हो त्यो भनेको गाडी किन्दा सिन्डिकेटवालाहरूलाई चित्त नबुझाए गाडी नै कब्जा गरेको देखिन्छ । समस्त रुपमा सरकारले अहिले सिन्डिकेट खारेजको जुन कदम चालेको यसलाई कुन सरकारले गरेको छ भन्ने नहेरी सबैले सहयोग गरेर यो २७ बर्षको जालो फालौं ।
Previous Article‘करबाकेली इको टे«क’ जंगल सफारीका लागि आर्कषक
Next Article प्रवासी जागे, सरकार कहिले जाग्ने हजुर