राजेशचन्द्र राजभण्डारी
अहिले सरकारी बिद्यालयमा जनप्रतिनिधि सरकारी कर्मचारी र शिक्षकका छोराछोरीलाई पढाउने निर्णय हुँदा हामी कहाँ स्थानीय हैन अहिले रास्ट्रिय खबर बन्ने गरेको छ । साँच्चै यसलाई हामीले सकारात्मक रूपमा हेर्न जरुरी देखिन्छ । बागलुङ जिल्लाको १० स्थानीय तहमध्ये बागलुङ सदरमुकाम नजिक रहेको काठेखोला गाउँपालिकाको वडा नम्बर ७ रेशमा रहेको सबै सामुदायिक बिद्यालयका शिक्षकका छोराछोरी जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सदस्य सबैले अबदेखि अनिवार्य रूपमा सामुदायिक बिद्यालयमा पढाउने निर्णय गरेका छन् जुन स्वागतयोग्य कदम हो ।
काठेखोला गाउँपालिकामध्ये वडा नम्बर ७ रेशले मात्रै अहिले एउटा साहसिक निर्णय गरेको छ । अब यसलाई ब्यबहारिक रूपमा उतार्न जरुरी छ । बागलुङ जिल्लाको पहिलो निर्णय गर्ने काठेखोला गाउँपालिका रेश नुनथला माध्यमिक बिद्यालय हाताभित्र बसेर जुन महत्त्वपूर्ण निर्णय गर्ने काम भएको छ साँच्चै हामी सबै आफ्नो ठाउँमा इमानदार हुने होभने समस्या केही पनि छैन । अहिले मात्रै समस्या भनेको हामी समाजमा फरक देखिनको लागि आफु पनि अरू भन्दा ठूलो देखिनको लागि भएपनि आफुले सकी–नसकी आफ्नो छोराछोरी लाई निजी बिद्यालयमा एक झोला पुस्तक र कपी बोकाएर पठाउन पाए हामीदंग पर्छाै । साँच्चै अहिले सरकारी बिद्यालयमा पढ्न पठाउँदा हाम्रो इज्जत नहुने हो त ? अबश्य पनि हैन । किनभने हामी अहिले आडम्बरी भइसकेका छौ । अनि हाम्रो सामुदायिक बिद्यालय पनि शिक्षकहरूले सरकारी तलब भत्ता खाएर राजनीति गर्ने आश्रम जस्तो हुदै गइरहेको छ । समस्या नीतिमा हैन समस्या त नियतमा हो । सरकारी बिद्यालय दिन प्रतिदिन नराम्रो हुदै जानू संस्थागत बिद्यालय फस्टाउदै जानूको पछाडि के कारण छ ? हामीले पहिला त्यो खोज्न जरुरी छ ।
हामीले सरकारले दिने सेवा सुबिधा सबै–सबै खोज्छौ तर आफ्नो छोराछोरीलाई त्यही सामुदायिक बिद्यालयमा पढ्न पठाउदैनौ त्यतिमात्र कहाँ हो र बाबूआमा त्यहीँ सामुदायिक बिद्यालयको शिक्षक शिक्षिका छन् । आफ्नो छोराछोरी भने निजी स्कुलमा पढ्न पठाउछौ । हामीले पढाउने कुरामै हामी आफैलाई बिश्वास छैन भन्ने कुरा यसबाट पनि प्रमाणित हुन जान्छ । सरकारले शिक्षाको क्षेत्रमा ठुलो धनराशी लगानी गरेको छ । शिक्षकलाई चाहिने तालिम दिएर सक्षम पनि बनाउने काम गरिसकेको छ तर पनि सामुदायिक बिद्यालयमा बिद्यार्थी भर्ना गराउन निकै गाह्रो छ । नेपालका कतिपय सामुदायिक बिद्यालयले राम्रो मेहेनत गरेको कारणले केही बिद्यालयमा बिद्यार्थीको चाप निकै देख्न सकिन्छ । तर देशका अधिकांश सामुदायिक बिद्यालय भुकम्पले हल्लाएर जिर्ण पारे जस्तो अबस्थामा पुगेको छ । बागलुङ जिल्लाको पनि दुई चार बटा सामुदायिक बिद्यालयमा बिद्यार्थीको चाप ह्वात्तै बढेको छ । यसले एसईईमा देखाएको नतिजा अन्य गतिविधिमा यसले देखाएको नतिजा हेर्दा साँच्चै तनमन दिने होभने अहिले पनि सामुदायिक बिद्यालय निजीभन्दा राम्रो गर्न सक्छ भन्ने कुरा प्रमाणित भइसकेको छ । जति तालिम प्राप्त शिक्षक–शिक्षिका सामुदायिक बिद्यालयमा छन् त्यो निजीमा छैन । जति तलबभत्ता सेवा सुबिधा सामुदायिक बिद्यालयमा पढाउने शिक्षक शिक्षिकालाई छ त्यसको तुलनामा निजी बोर्डिङ स्कुलमा पढाउनेलाई छैन तर पनि नतिजा सामुदायिकले भन्दा निजीले दिन सफल भएको देखिन्छ । मेहेनत अहिले निजी बिद्यालयले गरेको छ । बिज्ञापन होस् कि भर्ना अभियान होस् अहिले सबै कुरामा निजीले उछिन्दै गैरहेको छ । कारण अहिले अभिभावकको रोजाई र खोजाई पनि निजी मै केन्द्रीत छ । आफ्नो छोराछोरीलाई जति महंगो स्कुलमा भर्ना गर्न सकियो त्यति बढी आफुलाई धनी संझने समाजको गन्यमान्य संझिने कारणले पनि अहिले सरकारी स्कुल भरिया मजदुर गरिबमा पनि अति गरिब र बिपन्न बर्गका छोराछोरीले मात्र पढ्ने धर्मशाला जस्तो बन्न पुगेको छ । यतिबेला सरकारी भनौ या सामुदायिक बिद्यालयमा आफ्नो छोराछोरी पढाउदा खेरि आफ्नो इज्जत जाने संझन्छन् । अहिले नेपाली जनताको जीवनस्तर ह्वात्तै माथि बढेको पनि हैन सोचमा परिवर्तन आयो भनु भने कसरी भन्ने ।
जबसम्म नेता सांसद राजनीति गरेर हिड्ने सरकारी कर्मचारीका छोराछोरीले सामुदायिक स्कुलमा भर्ना भएर पढ्न जादैन तबसम्म त्यो सुधार हुन सक्ने देखिदैन । अहिले बागलुङ जिल्लामा पुरानो रेश गाउँ विकास समितिले यसको शुरूवात गरेको छ । अब केही आशा गर्न सकिन्छ अन्यत्र नभए पनि यहाँ सामुदायिक बिद्यालयमा भौतिकदेखि शैक्षिक शुधार अबश्य पनि हुनेछ । किनभने जुन स्कुलमा आफ्नो छोराछोरी, भाई र भतिजोले पढ्ने गर्छ उसलाई त्यही स्कुलको माया लाग्ने गर्छ । दबाब प्रभाव पनि पर्छ । नराम्रो गर्ने शिक्षकलाई कार्वाही राम्रोसँग पढाउनेलाई पुरस्कार पनि अभिभावकले दिनेछन् अनि केही समयमा सामुदायिक बिद्यालयपनि निजी सरह प्रतिस्पर्धामा जान्छ ।
काठेखोला गाउँपालिकाका जनप्रतिनिधि वडा अध्यक्ष प्रेम लामिछाने, रेश नुनथला माध्यमिक बिद्यालयका प्रधानाध्यापक ओमबहादुर थापा लगायतले जुन भुमिका खेलेर नयाँ तरङ्ग ल्याउन सफल भएका छन् यसको लागि धन्यवाद दिनै पर्छ । खाली खोक्रो प्रचार–प्रसारको लागि होभने यसले नकारात्मक असर गर्ने छ । अब वडा अध्यक्षदेखि सबैले आफ्नो छोराछोरी सामुदायिक बिद्यालयमा भर्ना गरेर नयाँ शैक्षिक सत्रको भर्ना अभियान शुरू भएको घोषणा गर्न जरुरी छ । अहिले हामीले नीति गत निर्णय गर्ने आफ्नो छोराछोरी बजारमा राख्ने अनि बजारको पनि महंगो निजी बिद्यालयमा भर्ना गर्ने काम अब बन्द गर्न जरुरी छ । अहिले भएको निर्णयमा पालना नगर्नेलाई सरकारी सेवा सुबिधाबाट बन्चित गर्ने हिम्मत वडाले राख्न सक्नुपर्छ ।
हामीले भन्ने बेलामा अनिवार्य भनेर भन्ने तर नीति नियम पालना नगर्नेलाई नैतिक सामाजिक सबैखालको कार्बाही गर्न जरुरी छ । साँच्चै सामुदायिक बिद्यालय राम्रो बनाउने होभने अनिवार्य बनाउने होभने यहाँ केही पनि गर्नु पर्दैन मात्रै सरकारले केन्द्रबाट प्रदेशले प्रदेशबाट नीति बनाइदिए पुग्छ । जसले त्यसलाई पालना गर्दैन उसले पाउने सबै खालको सरकारी सेवा र सुबिधा बाट बन्चित गराइ दिने बाध्यकारी ब्यबस्था नभएसम्म मात्रै कुरामा सिमित हुनेछ । जसले समाजमा निजी स्कुल खोलेर सेवा हैन ब्यबसाय गरिरहेका छन् तिनलाई समेत कानुनी दायरामा ल्याउने सरकारी नितिमा ल्याउन जरुरी छ । अहिले स्थानीय तहमा सबै अधिकार गएको छ । स्थानीय तहको नीति नियम बनाउदा यसबारे समेत सम्बोधन हुने गरि गराउन सके राम्रो हुनेछ । सरकारी स्कुलमा पढाउने शिक्षकले राजनीतिक दलको झण्डा बोक्ने स्कुलमा बिद्यार्थीलाई पढाउने समयमा राजनीति गर्ने कामको पनि अन्त गर्न सक्यो भने अहिले भइरहेको बिद्यालयमा धेरै सुधार हुनेछ ।
Previous Article२६ चैत २०७४, ढोरपाटन दैनिक
Next Article गाउँ–गाउँमा सहकारीको चार अर्ब लगानी