पछिल्लो समय नेपालमा बलात्कारका घटना बढ्दै गएका छन् । आजभोलि बालिका, उमेर पुगेका अनि वृद्वामाथि पनि बलात्कार भएका घटना बढेका छन् । घाँस दाउरा लिन गएकी महिलामाथि सामूहिक बलात्कार, पटक पटकको बलात्कारले किशोरी गर्भवती, ट्युसन पढ्न आउने छात्रामाथि शिक्षकद्वारा यौन दुव्र्यवहार, असक्त किशोरलाई बन्धक बनाई पटक–पटक बलात्कार गरेको खबरहरु दैनिक जसो सञ्चार माध्यममा आउने गरेका छन् । यसले के देखाउँछ भने पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने अपराध उल्लेख्य रुपमा बढ्दै गएको छ । बलात्कार जस्तो जघन्य अपराधमा पनि सरोकारवाला निकाय गैरजिम्मेवार हुँदा घटना दोहोरिरहेको कतिपयको मान्यता छ । जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानून कार्यान्वयनमा फितलोपन र सांस्कृतिक विचलनले पनि जर्बजस्ती करणीका घटना बढिरहेको छन् ।
दैनिकजसो महिला तथा बालिकामाथि यौनजन्य हिंसाका घटना भईरहेपनि रोकथामको सवालमा प्रभावकारी कदम चालेको भने कहिँकतै देखिदैन । फितलो कानुनकै कारण बलात्कार जस्तो जघन्य अपराध रोक्न नसकिएको हो । जजक जस्तो अपराध निर्मुल पार्ने काम प्रहरी प्रशासनको होभने दोस्रो दायित्व नागरिकको पनि हो । महिला तथा बालिकामाथि जबर्जस्ती करणीका घटनाको बढ्दो वृद्धि दरलाई न्यूनीकरण गर्न प्रहरी प्रशासनले आमनागरिकको सहभागितामा कार्ययोजना बनाएर प्रभावकारी रुपमा अघि बढ्नु पर्छ । जबर्जस्ती करणीका घटनालाई न्यूनीकरण गर्न प्रहरीको मात्रै प्रयासले संभव हुँदैन आम नागरिकको पनि उत्तिकै सहयोग र साथ अनिवार्य हुन्छ । जबर्जस्ती करणी सम्बन्धमा गाउँटोलदेखि विद्यालय स्तरमा सचेतनामुलक अभियान सञ्चालन गर्न सके घटनामा कमी आउनेमा दुई मत छैन । कहिलेकाहिँ संचालन गरिने यस्ता अभियानलाई निरन्तर जारी राख्नुपर्छ ।
नेपालमा बलात्कारको घटना बढेको भन्दापनि बलात्कार पीडित नारीहरु अगाडी आउने श्रृंखला बढेको मान्छन् । चेलीहरु यौन दुव्र्यव्हारबाट पीडित भएर पनि समाजले घृणित पात्रको रूपमा हेर्ने डरको कारण खुल्न नचाहेको अवस्थाको अहिले अन्त्य भएको छ । यस्ता जघन्य अपराध सहेर बस्ने महिलाले कानुनी उपचार खोज्नु सराह्रनीय कार्य हो । पीडित महिलाको पिडा बुझेर बलात्कारीलाई अदालतको कठघरासम्म उभ्याउने काम प्रहरीको हो । आफ्नो दायित्वबाट प्रहरी चुक्नु हुँदैन । तर, लामो समयपछि स्थानिय तहले जनप्रतिनिधि पाएका छन् । स्थानिय तहबाटै अब बलात्कार र यौनजन्य क्रियाकलाप रोक्नका लागि गतिविधि संचालन गर्न सके त्यो निकै नै प्रभावकारी हुन्छ । यस्ता घटना रोक्न प्रहरीसँगै स्थानीय तह पनि अब परिचालित हुनुपर्छ । जजकका घटना रोक्नको लागि प्रहरीसंगै स्थानिय तह पनि परिचालित हुने कार्य देशका कतिपय ठाउँबाट शुरु भएका छन् । यसलाई देशका सबै स्थानिय तहले आत्मसाथ गर्नुपर्छ ।
Previous Articleबेनी नगरपालिका गुरुयोजना बनाउँदै
Next Article २०७४ चैत २२ गते बिहिबारको राशिफल