कृष्णराज शर्मा
कफिका कप ट्र्यासमा फाल्दै गाडीमा चढ्यौं । सबैको मुहारमा चमक भरिएको थियो । यस अघिको बाटोमा गाडीमा बस्दा-बस्दा पाट्टिएका खुट्टा दुरूस्त बनेका थिए । भोकले आत्तिएका चालक छोराहरू पनि थप हौसिएका थिए । अर्थात सबै ठिकठाक पछि पुनः आफ्नो गन्तव्य तर्फ बढ्यौं । फूर्ती साथ केही अगाडी बढेपछि सडक पारी निकै पर यौटा भीमकाय सौर्य शक्ति उत्पादन केन्द्र देखा पर्यो । शयौं रोपनी क्षेत्रफल ओगटेको थियो त्यो सौर्य शक्ति केन्द्रले । सौर्यताप शोषण गर्नका लागि विच्छ्याईएका प्यानलले पानीको ठूलै तलाउको आकार र प्रकारको भ्रम खडा गरेको थियो । यही भ्रम भित्र उठेको यौटा ठूलो झलझलाकार सौर्य बत्तिको प्रकाशले हाम्रा आँखा खाईदियो । त्याहाँ जडित बत्तिको प्रकाशमा हाम्रा आँखा जुधाउन सक्दैनथ्यौं । यस्तो लाग्थ्यो त्याहाँ अर्को सूर्य उदाएको छ । बाटोको वायाँतर्फ देखिने यो सौर्य बत्तिले उब्जाएका जिज्ञासाले उत्पन्न तर्कवितर्कले केही बाटो कट्यो । यिनै र यस्तै मानव निर्मित राष्ट्रियस्तरका भव्य संरचना देखिनु बाहेक अरू बाँकी मरूभूमीको झल्को दिने भूगोल छिचोल्थ्यौं । सर्पै सर्पको बासस्थान जस्तो सडकमार्गका रेखाले अनुभूती दिन्थ्यो । भयंकर चट्टानी ईलाका पनि यही मार्गमा देखा परे । यस्तै चट्टानी भागमा पनि बडेबडे बिल्डिङ देखिंदा लासभेगासको निकट पुग्न लागेको अन्दाज गर्न सकिन्थ्यो । ति बिल्डिङहरू होटल र रिसोर्ट थिए । परैबाट ति होटल र रिसोर्टबाट आउने क्यासिनोको बासना बसाउँथ्यो । बासना नाकबाट नभै आँखाले छुट्ट्याउँथ्यो । कहिलेकाँही हाम्रा ज्ञान ईन्द्रीयहरू पनि साटासाट गर्थे । अत्यन्त कलात्मक भवन र रंगरोगनले मादकता उत्पन्न गर्थ्यो । यतै त यस्तो छ,लासभेगास कस्तो होला ! गाडीको गति भन्दा हाम्रो कौतुहलताको गति दुगुना हुन्थ्यो । यस्ता मदहोस् गराराउने रिसोर्ट र होटलहरू फाट्टफुट्ट देखापर्थे । तर भव्य र शालीन बनेर । कहिलेकाँही त लाग्थ्यो,एकरात यतै बिताएर भोली बिहान त्यता जाउँला ! हाम्रा दिशाबोधकहरू सँग यस्तो परिकल्पना गर्दा अमेरिकी व्यस्त जीवन र समयको स्मरण गराउँथे । अत्यन्त समयसारिणीमा चलेको छ अमेरिका । यसमा लापर्वाह गर्नु सजिलो छैन । यही बताए उनीहरूले । मैले यसैबेला नेपालको ‘नेपाली समय’को याद गरें । हुनत यस अघि पुगेका देशहरूमा पनि समयको महत्व कति छ भन्ने बुझि सकेको हुँ । नेपालमा भए समयतालिका बाहिर पुगेर अर्को योजना तयार गर्ने र पछि विरामी सर्टिपिकेट पेश गरेर मिलान गर्न सकिन्छ । यस्तो जाली कुरा त्यहाँ हुनै सक्दैनथ्यो । ति रिसोर्टहरूमा बस्न पाए कस्तो हुँदो हो ! कल्पना त गर्यौं तर,संभव भएन । अगाडी बढ्यौं । लगभग हामी लासभेगास प्रवेश गर्ने अवस्थामा थियौं । केही माईल वरैबाट लासभेगासको शहर छुन थालेका आभाष झनझन् थपिएको थियो । यति लामो यात्रा पारगर्दा सम्म हिंजो विश्व हल्लाएको नरसंहारकारी घटनाको कुनै संकेत सम्म कतै देखिएन । अब भने काठमाण्डौको थानकोटको जस्तो चेकपोष्ट भेटिने हो कि भन्ने शंका गर्यौं । लासभेगाशको प्रबेषद्वारमा केही होईहाल्ने हो कि भन्ने सोच्यौं । कतै केही मिलेन ।
अब भने लासभेगासका गगनचुम्बी अग्ला भवनहरू देखिन थाले । अग्ला भवनहरू पनि भद्रभलाद्मी जस्ता । मलाई त लाग्यो,टाई सुटमा सजिएका भन्दा दौरासुरूवालमा सजिएका हाम्रा हिंजोका बुढापाका जस्ता भलाद्मीपन ति भवनले झल्को दिन्थे । अहिलेका उत्ताउला तर ऊ बेलाका भद्र शालीन लाग्थ्यो’नि,हो त्यस्तै गमीला भवनहरू हामीलाई परैबाट हेर्दै थिए । जाँदै छौं,अरू-अरू भेट्छौं देख्छौं तर चेकपोष्ट भेट्दैनौं । आकाश भरी बोईङ उडेको पनि देख्यौं । हाम्रो प्रवेश लासभेगासमा भैसक्यो तर द्वारको पत्तै भएन । हामीले अमेरिकी सुशासनका बारेमा जे आँकलन गरेका थियौं । त्यही सत्य भयो । हाम्रा शँका उपशंका नेपाली परिवेशमा फीट भएपनि त्यहाँ पत्तै भएन ।
एक चुस्की मै रम-रम पार्ने मद जस्तै प्रवेश गर्दा शहरमा देखिएका रात्रीकालिन उदाउँदो झिलीमिलीले हामी तिरीमिरी भयौं । लासभेगास पिउनु त छंदैछ शुरूमै झड्का दियो । हामी रमाई रहेथ्यौं । तर चालकहरू लसएञ्जलस देखि बुक गरेको होटल सर्चगर्न थाले । हामीलाई गाडीभित्र बाट भेगास चिहाउँदै ठिक्क थियो । काठमाण्डौ सुन्धाराका होटल खोजेजस्तो यहाँ थिएन । झोला काँधमा झुण्ड्याउँदै साईनबोर्ड खोज्नु पर्ने पनि होईन । जे गर्छ कमाल जीपीएसले गर्छ,कति सजिलो ! त्यस्तो मध्यशहरमा अवस्थित किरीमिरी जेलिएका सडकबाट होटल पुर्याउँछन कसरी ? अलमलमा पर्ने त होईनन् चिन्तैचिन्ता बीच कताबाट बुक गरेको होटलको परिसरमा गाडीले प्रवेश पायो । ढुक्क भयौं । अब समस्या सडक छिचोल्दै होटल पुगेको गाडीलाई सुरक्षित पार्किङ गर्नु पर्थ्यो । सबैकुरा त्याहाँ दिईएका सूचकहरू बाटै बुझ्नु पर्थ्यो । सोध्ने कोही नहुने । यो व्यवस्था मिलाएपछि हामी होटलको प्राङ्गणमा भेला भयौं । समय संसाँझै भैसकेको थियो । न दिन न रात । चौतर्फी दिशा पक्डेर फोटो लिंदै होटल भित्र पस्यौं । होटलको नाम थियो- रियो ( RIO ) ! भित्र पस्ने ढोकैमा देखियो हिन्दु नाट्य देवताको सुन्दर मूर्ती । हामी आश्चर्यमा पर्यौं । किन र कसरी यो होटलमा यस्तो मूर्ती सजियो ? बुझ्दै जाँदा त्यो भयानक रियो होटलको मालिक ईण्डियन रहेछन् । अर्थात हिन्दु रहेछन् । तर सोच्यौं किन अन्य देवी देवताको मूर्ती नराखेर नाट्य देवताकै मूर्ती मनपराए यिनले ? कसैलाई सोध्न सकेनौं । होटल भित्र पस्दा ठूलै शहरमा पसेको अनुभूती मिल्यो । त्यो आलिशान भवनको भूईंतल्लामा रँगमञ्च,जूवा खेल्ने स्लट मेशिन ( slot machine ) जूवाकै पूल बोर्ड लगाएत के के हुन् के के जूवाकै लागि थापिएका थुप्रै खाल देखिए । उस्तै बहुमूल्य सामानका पसल । ओहोर दोहोर मान्छेको भीड । बाक्ला कार्पेट बिच्छ्याएको भूईं । स्लट मेशिनको अगाडी कूर्चीमा बसेर मदीराको चुस्कीमा उडेका चूरोटको धूवाँको पुईँ- पुईं ! सुन्दरीहरूको सेवा सुश्रुषा ! समष्टीमा लासभेगासका क्यासिनो अथवा जूवाघर यिनै रहेछन् । होटलको मूल काउण्टर भेट्न यहींबाट गुज्रनु पर्ने रहेछ । काउण्टर भेटियो । हिंजै रकम भुक्तानी भैसकेको जानकारी गराउना साथ काउण्टरकि युवती मिठो आतिथ्यता दर्शाउँदै केही बुकलेटहरू हातमा थमाएर सोधिन् – कति उचाईमा बस्नुहुन्छ ? जति सकेको माथी नै बस्ने मेरो मन थियो ।
छोराकि ममी डराई भो’धेरै माथी नजाऊँ । तलै बसौं । लाग्थ्यो- गाडीको थकानले धेरै भर्याङ चढने मन नभएर त्यसो भनिन् । भनें – लिफ्ट चढ्ने हो केही समस्या हुँदैन माथी नै बसौं । पछि थाहा भयो – नेपालमा गएको भू-कम्पको भूतले छोडेको रहेनछ । धेरै अग्लोमा जान डर रहेछ । हुन पनि त्यो झस्को सितिमिति मेटिंदैन हाम्रो मनबाट । चारतल्ला माथी रहँदा हामीले त्यो भयानक भूकम्पको भयानक अनुभव गरेका थियौं । कति रात त खुलाचौरमा बिताएका थियौं । आफ्नो घर देखेर आँफैलाई सताउँथ्यो । अग्लो होटलको कोठा रोज्दा ति कुरा स्मृतिमा आउनु अन्यथा पनि लागेन । मेरै जिद्धिले अट्ठाईस् तला माथी कोठा रोज्यौं । रिसेप्सनिष्ट युवतीले कोठाको सेन्सरवाला चाबी सहित दुई कोठाका लागि दुई बुक ‘रियो’ लेखिएका तास हातमा थमाईन् । मानौं त्यो ‘तास’ होटलको भिजिटिङ कार्ड हो । त्यसरी थमाईन् तासका बुक ! हाम्रो कोठाको रूट खोज्दै लिफ्टबाट माथी पुग्यौं । रूम नपुग्दै बाहिरी दृश्य त्यहाँको प्लेटफर्म बाटै चिहायौं । कोठा भित्र पस्यौं । तीन प्रकारका पर्दाले ढाकिएको झ्याल पुरै शिशाको थियो । होटलको उचाईमा पुगेर आफ्नै कोठाबाट लासभेगासका गगनचुम्बी भवन लगाएत पुरै लासभेगासको दृश्य देखियो । उपत्यका शहर रहेछ त्यो । त्यही नजिकै ‘ट्रम टावर’ देखेर दङ्ग पर्यो । डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पदमा विजयी बनेपछि सुनेको थिएँ,ऊ त्यति धनाढ्य अमेरिकी हो । वासिङ्टन डिसिको मुटुमा पनि ठूलै क्षेत्रफल ओगटेर बनाईएको भव्य होटल बाहिरबाट देखेका थियौं । अथाह सम्पत्तिको मालिक रहेछ ट्रम्प त ! चुनावमा पनि सम्पत्तिको खोलै बगाएको नेपालमै मिडिया मार्फत सुनेका थियौं । ट्रम्प टावर त्याहाँ पनि ‘ एक्स्ट्रा’ थियो ।
त्यही झ्यालबाट धेरै क्यामेरा खेलायौं । हेर्दाहेर्दै लासभेगास शहरको रंग बदलियो । रात्रीकालिन शहर हो लासभेगास । अमेरिकालाई कहिल्यै निंन्द्रा लाग्दैन । कहिल्यै सुत्दैन भन्ने प्रमाण सहित लासभेगासले हामीलाई बताउँदै थियो । यो शहरलाई अँगालो हाल्न जो कोही आतूर हुन्छन् रे ! यसको न्यानो आलिङ्गनको मिठो स्पर्शका लागि बाहिर निस्कनै पर्थ्यो । एकातिर भने अर्कोतिर,हिंजो नरसँहार भएको मण्डला डे होटलको घटनास्थल टाढै बाट भएपनि एक झल्को हेर्ने मन थियो । अहिले सम्म टिभिले मात्र झूट्ठा खबर दिएको जस्तो लागेको थियो । शहरमा केही पनि बदलाव थिएन । जनजीवन सामान्य सरह थियो । त्यत्रो घटना घटेपछि कतै त सन्नाटा छाउनु पर्थ्यो ? त्यस्तो केही अनुभूति भएको थिएन अहिले सम्म हामीलाई । हामी फ्रेस भएपछि लासभेगासको अँगालो नहाले पनि आँख मिचौलीका लागि कोठाबाट निस्क्यौं । पैदल संभव थिएन । स्लो ट्र्याकबाट भएर कमगतिमा गाडी गुड्थ्यो ।
नजिकै रहेको घटनासथल तर्फ शुरूमा दिशा लियौं । केही मिनेटको यात्रामा त्याहाँ पुग्यौं । बस्,बल्ल अनुभुति भयो घटना त भएकै रहेछ भनेर । घटनास्थल घेराबन्दीमा रहेछ । फरक-फरक रङका रिबनले घटनास्थललाई घेरा हालेको छ । अत्याधुनिक हतियारले सुसज्जित ‘प्रहरी’ आफ्नो राष्ट्रपति जत्तिकै बलियो भएर उभिएको छ । त्यो रूट भएर नियमित गुड्ने गाडीहरू घेराबन्दिमा पुगेपछि प्रहरीले नै नम्रतापूर्वक गाडी डाईभर्ट गराउने रहेछ । धेरै होईन,करिब पचास वर्गमीटरको क्षेत्रफल शील गरिएको रहेछ । त्याहँबाट डाईभर्ट भएपछि आपसमा कुरा गर्यौं । प्रहरीको मुखमा पुग्दा पनि प्रहरीले किन ? कसरी ? कहाँ ? कुनै प्रश्न गरेन । हुन त हामीलाई सोधपुछ् गर्नुपर्ने के नै थियो र ! विनम्रता पूर्वक बाटो देखाईदियो । हामी कँहा त्यस्ता घटना झापामा घटेको भए बागलुङका प्रहरी राताकाला भएर तमक देखाउँथे । काठमाण्डुमा निःशेधाज्ञा जारी गरे बागलुङ काँप्थ्यो । हाम्ले हाम्रो देशमा त्यस्तो खेपेका हौं । आहा,त्यहाँको प्रहरीमा कस्तो विनयशीलता ! त्यस्तो पो मानवअधिकार ! बल्ल पो ‘प्रहरी मेरो साथी !’ यिनैकुरा गम्दै यस पछि हामी ‘रातकी रानी’ लासभेगासको आलिंगनका लागि अर्को दिशा तर्फ मोडियौं । क्रमश……