काठमाडौँ, १४ चैत – प्रधानमन्त्री केपी ओलीले वैशाख १ गते मुगुको रारा तालबाट देशवासीका नाममा पहिलो औपचारिक सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री भएपछि देशवासीका नाममा सम्बोधन गर्ने चलन छ । ओलीले अहिलेसम्म औपचारिक सम्बोधन गरेका छैनन् । प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने मिति र स्थानबारे बुधबार जानकारी दिएका हुन् । पर्यटन वर्ष २०७५ को उद्घाटन राराबाट हुन लागेकाले त्यसको शुभारम्भ गर्न आफू जाने र त्यहीँबाट देशवासीका नाममा सम्बोधन गर्ने ओलीले बताए ।
‘कर्णाली प्रदेशले आयोजना गर्न लागेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु,’ अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।’ आउँदो वर्षलाई सरकारले पर्यटन वर्षका रूपमा मनाउँदै छ । यस क्रममा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ ।
समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए । ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ,’ ओलीले भने, ‘यो सरकारले नेपाल बनाउँछ । केही वर्षमा मानिसले नेपाललाई सिंगापुर र स्विट्जरल्यान्डजस्तो भन्नेछन् ।’ प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताए । ‘यसपालिको भर्ना अभियानमा म एक जना बालिकालाई विद्यालय भर्ना गराउँछु र देशैभरका जनप्रतिनिधिलाई पनि त्यसै गर्न लगाउँछु,’ ओलीले भने, ‘यसपालि वैशाख ५ गते निरक्षरताविरुद्ध हमला गरौं ।’