काठमाडौं, ९ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपालले पानीजहाज र रेल सञ्चालन गर्ने बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै उनले सरकारले दुई वर्षभित्र रेल र पानीजहाज सञ्चालन गर्ने दाबी गरे। ‘२ वर्षअघि मजाक उडाएका थिए। अब २ वर्षपछि ठट्टा गर्ने मान्छे को हुन्, मजाक उडाउने मान्छे को हुन् खोज्दा भेटिने छैनन्’, उनले भने, ‘किनभने रेल कुद्छ। पानी जहाज सञ्चालन हुन्छ।’
२ वर्षअघि प्रधानमन्त्री हुँदा पनि अाेलीले रेल र पानीजहाजमा जाेड दिएका थिए। त्यतिबेला सर्वसाधारणले उनलाइ ठट्टाकाे विषय बनाएकाे प्रधानमन्त्रीले स्मरण गरे। ‘पानीजहाजको कुरा गर्दा त्यतिबेला उधुमै उडाए। प्रधानमन्त्री कार्यालय अगाडि कागजको डुंगा बनाएर, बाल्टीमा पानी हालेर तमासा गरे’, प्रधानमन्त्रीले भने, ‘अर्को साल अथवा हुनसक्छ २०७६ सालमा नेपालको पानीजहाजले कसरी झन्डा हालेर सामान र मान्छे बाेकेर हिँड्छ हामी देखाउँछौं। रेकर्ड गरेर राखे हुन्छ।’
प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन बढाउने दिशामा काम गर्न सरकार प्रतिबद्ध भएको बताउँदै अब उद्यम विकासको लहर आउने उल्लेख गरे। सरकारले देश र जनताका पक्षमा समर्पित भएर काम गर्ने उनको दाबी थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री मातृका यादबले निजी लगानी भित्र्याउन कानुन परिमार्जन गर्ने तयारी भइरहेको बताए। ‘लगानी भित्र्याउन आवश्यक ऐनकानुनको व्यवस्था गरिनेछ’, उनले भने, ‘लगानी निरुत्साहित गर्ने किसिमका कानुन संशोधन गरिनेछ।’
राष्ट्रिय उत्पादनलाई प्रश्रय दिने उद्देश्यले सरकारले भृकुटीमण्डपमा राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको आयोजना गरेको छ। प्रदर्शनीमा ३ सयभन्दा बढी स्वदेशी उत्पादनका स्टलहरु रहेका छन्। पाँच दिनसम्म चल्ने प्रदर्शनीमा ८ करोड रुपैयाँको कारोबार हुने लक्ष राखिएको छ।