लक्ष्मी लम्साल
चीनको राजधानी बेइजिङमा विश्वव्यापी ध्यानाकर्षक दुई ठूला अधिवेशनहरू जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) र चिनियाँ जनकांग्रेस (एनपीसी) चलिरहँदा चीनमा रहेका विदेशी कूटनीतिज्ञहरू, विभिन्न देशका सर्वसाधारणहरू आफ्नो देशलाई के फाइदा हुन्छ भनेर चासो दिइरहेका छन्।
विश्वको केन्द्रमा रहेको चिनियाँ योजनाले आफ्नो भूमितर्फ पनि प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने भएकाले धेरैले आफ्ना दृष्टिहरू त्यस कोणबाट सोझ्याएको देखिन्छ। चिनियाँ अधिवेशनप्रति विश्वका धेरै मुलुकले आआफ्नै स्वार्थको हेराइ होला। निकटताका हिसाबले आफ्नो फाइदा के अर्थमा हुनसक्छ भनेर नेपालले पनि सोच्नु अन्यथा होइन। मुख्यतः चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) लाई कुन रफ्तारले अघि बढाउँछ र उसका सीमावर्ती मुलुकहरूप्रति कस्तो पद्धति अपनाएर उत्प्रेरित गर्छ भन्ने चासो हो।
चीनका दुई ठूला अधिवेशन सन् २०१८, मार्च महिनामा चलिरहँदा एक छिमेकीका रूपमा नेपालको राजनीतिक संक्रमणपछि पनि अन्त्य भैसकेको अवस्था हो। यतिखेर नेपालले नयाँ संविधान अनुसार सम्पूर्ण निर्वाचनहरू सम्पन्न गरेर राजनीतिक स्थिरताको लय समातिसकेको छ। यसो हेर्दा चीनको आर्थिक विकाससँग लपेटिनका लागि नेपालका लागि पनि अनुकूल परिस्थिति सिर्जना हुँदै गैरहेको छ।
चिनियाँ जनकांग्रेसको अधिवेशनले सन् २०१८ लाई चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनले अंगिकार गरेका नीतिहरूको कार्यान्वयन गर्ने ‘प्रारम्भ वर्ष’को रूपमा लिइरहेको छ। नेपालका लागि पनि यो वर्ष हालसम्मका सम्पूर्ण राजनीतिक गतिरोध सिध्याएर विकासका लागि संघीयता समेत कार्यान्वयन भएको अवसर हो।
गत वर्ष अर्थात् सन् २०१७ मा नेपाल र चीनबीचमा केही उल्लेख्य गतिविधिहरू भएका छन्, जुन यस वर्षदेखि कार्यान्वयनमा जाने हो भने दुवै देशको महत्वाकांक्षाले मूर्तरूप लिनसक्ने छ। २०१७ मै नेपालले चीनको बेल्ट एण्ड रोड इनिसियटिभको समझदारी पत्रमा हस्ताक्षर गरेको वर्ष हो। यद्यपि कुनै ठोस परिणति विना नै नेपालले अर्को नयाँ वर्ष भित्र्याइ सक्यो। सोही वर्ष नेपालले चीनबाट ठूलो लगानीको प्रतिवद्धता पनि प्राप्त गरेको थियो। नेपालका लागि प्रत्यक्ष वैदेशिक लगानीमा चीन पहिलो नम्बरमै उक्लिसकेको छ।
वाम गठवन्धनको नयाँ सरकारलाई ‘चीनमैत्री’ को संज्ञा पनि दिइएकाले आपसी विकासको ‘केमेस्ट्री’ पनि मिल्नसक्ने प्रचुर संभावनाहरू छन्। नेपालले राजनीतिक संक्रमणहरू टुंग्याएर विकासको महायज्ञ थाल्ने हो भने चीनले यसै वर्ष खुलापनको ४०औं वर्षगाँठ मनाउँदैछ। यस हिसाबले एउटा संयोगको रूपमा नेपालले पनि आफ्नो विकासमार्गको ‘गियर’ खिच्न सक्नेछ।
नेपालप्रति चिनियाँ प्रभाव पनि सुधारिँदै गएको छ। २०७२ को भूकम्पपछि जसरी दक्षिणी छिमेकीले नाकावन्दी लगायो, त्यही मौकामा चीनले पनि नेपालको सदाशयता ह्वात्तै बढाउन पायो। चीनले लगानीको मात्रा बढाउन सक्ने हो भने ठूलो उपलब्धी हासिल गर्ने साइत पनि जुर्दै गएको छ। पूर्वाधार निर्माण, रेल पारवहन, बाटोघाटो, विद्युतीय प्रसारण लाइन, कृषि विकास, व्यापार सहयोगमा चिनियाँ लगानीले अवसर छोप्नसक्छ। त्यति मात्रै नभएर नेपाली उत्पादनले बजार खोजिरहेका बेला चिनियाँ बजारले पनि उपयुक्त वातावरण सिर्जना गर्नसक्छ।
हाल चीनले नेपालका ८ हजार भन्दा बढी वस्तुमा भन्सार सुविधा दिँदा पनि नेपालले त्यसको उच्चतम फाइदा उठाउन सकेको छैन। कारण, चिनियाँ अनुकूलको नेपाली उत्पादन छैन। त्यस्तो अवस्थामा चिनियाँ लगानीले नेपालमा उत्पादकत्व बढाउने काममा हात हाल्नसक्छ। हाल नेपाल–चीन व्यापार घाटा पनि उच्च छ। चीनले खुला बजार अर्थतन्त्रको नीति अवलम्वन गरेर विश्वका लागि ढोका खोल्दै गएबाट नेपाली निर्यातले पनि फाइदा लिनसक्छ।
बेल्ट एण्ड रोड इनिसियटिभमार्फत् नेपालले धेरै पूँजी, प्रविधि, अनुभव र चिनियाँ ज्ञान भित्र्याउन सक्नेछ। नेपाली उत्पादनका लागि बजार विस्तार हुनसक्छ। चीनले धेरै चिनियाँ पर्यटकहरू नेपाल घुम्न प्रेरित गर्नसक्छ। दुई देशबीच साँस्कृतिक आदानप्रदानका कुराहरू बढ्न सके भने दोहोरो फाइदा हासिल हुनेछ। एकअर्काका विद्यार्थीका लागि अझै अवसरहरू पनि सिर्जना हुनेछ।
चीन यतिखेर विश्व अर्थतन्त्रको धुरीमा पुगिसकेकाले बेइजिङमा चलिरहेका अधिवेशनले दूरगामी र अनुकूल निर्णय गर्नेछन् नै। तर यसका नीतिमार्फत् प्रत्यक्ष अप्रत्यक्ष फाइदा छिमेकी र विश्वका मुलुकहरूले लिनसक्नेछन्। चीनको गियर अब पछाडि फर्किनका लागि थिचिने छैन। कथंकदाचित केही कदम मात्रै पछि धकेलिनु पर्यो भने विश्व अर्थतन्त्रमा गम्भीर चोट लाग्ने निश्चित छ। तर फाइदा कुन मुलुकले कसरी र कस्तो अवस्थाबाट लिने भन्ने मात्रै हो।
हाम्रा नेता तथा विद्वानहरूले चीन र भारतजस्ता दुई ठूला अर्थतन्त्र भएका मुलुकको बीचमा रहेर पनि नेपालले फाइदा लिन नसकेको धारणा लामो समयदेखि पोख्दै आएका हुन्। अहिलेसम्ममा त उनीहरूसँग पनि ठोस भिजन बनिसक्यो होला। त्यो भन्दा पनि महत्वपूर्ण कुरा, यतिखेर नेपालको केमेस्ट्री उत्तरतिर मिल्न खोजेको छ। अब चाहिं नेपालले केही फाइदा उठाउन सक्छ या यत्तिकै अल्मलिरहन्छ, नियाल्नुपर्ने विषय हो।
(लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्) नेपालखवर
मिल्ला त चीन-नेपाल विकास ‘केमेस्ट्री’ ?
Previous Articleपति थप्न प्रतिस्पर्धा गर्ने होईन, सुधार्न गरौं !
Next Article परमाणु बम बनाउने साउदी अरबको चेतावनी