काठमाडौं, २७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। आइतबार अपराह्न बसेको प्रतिनिधिसभा (संघीय संसद)को दोस्रो बैठकबाट ओलीले दुई तिहाईसहित विश्वासको मत पाएका हुन्। बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए।
उनको प्रस्तावलाई एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, राप्रपाका सांसदले पक्षमा मत दिएका थिए भने कांग्रेसका सांसदले विपक्षमा मत दिए। संसद सचिवालयका अनुसार बैठकमा उपस्थित कुल २६८ मध्ये ओलीको समर्थनमा २०८ मत आयो भने विपक्षमा ६० मत पर्यो। यो परिणामसँगै ओली अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री बनेका छन्।
एमालेका तर्फबाट नेता माधव नेपाल, माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल, राजपाका महेन्द्रराय यादव, फोरम नेपालकी सरिता गिरी र राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेमकिपाका तर्फबाट प्रेम सुवालले रोस्टबाट सम्बोधन गर्दै प्रधानमन्त्रीलाई समर्थन गरे।
कांग्रेसका तर्फबाट विजय गच्छदार र गगन थपाले समर्थन नगर्ने जानकारी गराए। समर्थनको पक्ष र विपक्षमा बोल्दा नेताहरुले विकास र समृद्धिमा जोड दिएका थिए। भाषणभन्दा पनि परिणाममुखी काम गर्न सुझाव दिए। मधेस केन्द्रीत दलका नेताले भने संविधान संशोधन र प्रदेश २ को मुद्दा सम्बोधन हुनुपर्ने माग गरे।
विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री हुनका लागिमात्रै भएको होइन, देशका लागि केही गर्न प्रधानमन्त्री भएको हुँ, भ्रष्टचार गर्दिन, भ्रष्टाचार हुन दिन्न।’ प्रधानमन्त्रीले आफू विश्वासको मत लिएर दमनकारी शासक हुन नखोजेको पनि बताए। ‘दमनकारी शासक होइन, सुशासन दिने शासक हुन चाहन्छु,’ उनको भनाइ थियो, ‘सरकार विकासको अग्रणी हुन्छ, भ्रष्टाचार विरोधी हुन्छ, सदाचारको अभियन्ता हुन्छ।’
विपक्षी कांग्रेसलाई संकेत गर्दै ओलीले आफूले विगत र वर्तमानमा विश्वास गर्नै नहुने कुनै काम नगरेको भन्दै मत मागे। ‘मलाई विश्वास नगरेर संसदको कुन हातले कता भोट देला र?,’ उनको भनाइ थियो, ‘प्रतिपक्षले सत्तापक्षलाई भोट दिन मिल्छ, २ नम्बर प्रदेशमा एमाले माओवादी विपक्षमा छन् तर मत दिएका छौं। प्रतिपक्षीलाई कुनै अप्ठ्यारो पर्छ कि भन्नुपर्दैन, कानुनी अप्ठ्यारा छैनन्।’
समृद्धिको अगुवाइ सत्तापक्ष र प्रधानमन्त्रीको हिसावले आफूले नेतृत्व गर्ने भए पनि विकासको अभियान सत्तापक्षको मात्र नहुने भन्दै विपक्षीको सहयोग मागे। विपक्षी सांसदहरुले दुई तिहाइ बहुमत दुरुपयोग गर्ने आशंका गरेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिंदै भने, ‘मैले दुई तिहाइमात्र होइन, सबैको सहमति जुटाउन खोजेको हो। दम्भका लागि, दुरुपयोगका लागि होइन। म प्रधानमन्त्री नेकपा एमालेको होइन, एमाले र माओवादी केन्द्रको पनि होइन नेपालको प्रधानमन्त्रीको रुपमा काम गर्छु।’
प्रधानमन्त्री ओलीले आफूले बोलेका हरेक कुराको जवाफदेहिता लिने बताउँदै एकछिनका निम्ति असल र राम्रा कुरा गरेर उम्किने हिसाबले प्रधानमन्त्रीको पदमा नआएको स्पष्ट पारे। ‘कुनै एस्क्युज खोज्दिन, उत्तरदायी र जवाफदेही हुने हो,’ चुनावी घोषणापत्रका विषयमा कांग्रेसले उठाएको प्रश्नको जवाफ दिंदै उनले भने, ‘घोषणापत्र बिहान बिहान पारि तरौंला भनेर पाठ गर्न ल्याएको होइन। परलोकको कुरा गरेको होइन, इहलोक बनाउने कुरा गरेको हो।’
कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीको ‘काउण्टडाउन’ सुरु भएको भन्दै दिएको चेतावनीप्रति ओलीको भनाइ थियो, ‘म सिमाभित्र छु, असीमित ज्ञान असीमित सामर्थ्य, असमीमित समय छैन। तर, इमान, प्रतिबद्धता र अठोट असीमित छन्।’ देश बनाउने विषयमा चिन्ता नलिन आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘देश बन्छ, ढुक्क भएर सुत्नुहोला, निन्द्रा नबिग्रियोस्।’
अहिले सरकारले लोकतन्त्र, आधारभूत मूल्य मान्यता मास्ला भनेर आशंका नगर्न आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘प्रतिपक्ष भनेपछि विरोध गर्नुपर्छ भन्ने परम्परा रहेको छ। गुणदोषका आधारमा समर्थन गर्नुहुन्छ भन्ने विश्वास छ।’ नेपालको सामाजिक विभेद आफ्नो सरकारले हुर्काएकोजस्तो आरोप लगाएकोमा ओलीको भनाइ थियो, ‘एक महिना भएको छैन, सरकारले अस्ती रोपेर हुर्काएको जस्तो कुरा भयो, कैलालीको थाहा पाउनेवित्तिकै सरकारको तर्फबाट निर्देशन दिएको छ। गिरफ्तार गर्ने आदेश दिएको छु, कानुनबाट दण्डबाट उन्मुक्ति दिन सक्दैन सामाजिक पछौटेपन २५ दिनदेखिको होइन।’ काठमाडौंको दरबारमार्ग, ललितपुरगायतका ठाउँमा भएको बलात्कारका घटना मध्यस्थताबाट मिलाएकोमा विरोध गर्दै भने, ‘मध्यस्थताका दिन गए अब कडाइका साथ कारबाही गरिन्छ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको पक्षमा तत्कालै एक्सनमा गएर काम गर्नुपर्ने बताए। ‘अब यसो भयो भन्ने होइन, सिधै दोषिमाथि कारबाही गर्नुपर्छ,’ दाहालले भने, ‘भाषण गरेर जनताले विश्वास गर्दैन।’ केपी ओली सरकार बलियो अधिकारसहित र दुई तिहाइ नजिक रहेको बताउँदै दाहालले परिणाम देखाउने गरी काम गर्न सुझाव दिए। ‘सरकारले एक्सन लिन सुरु गरोस् परिणाम देखाउन सुरु गरोस्, दोषिलाई जे गर्ने हो गरोस्, कठोर कदम चालोस्,’ उनको सुझाव थियो, ‘ऐन–नियममा के व्यवस्था गर्नुपर्ने हो गरोस्, जनताले सरकारबाट एक्सन नै खोजेका छन्।’
प्रधानमन्त्रीले देश बनाउने हर भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभएकोमा धन्यवाद दिंदै उनले लुलो हातले होइन बलियो हातले काम गर्न सुझाव दिए। दाहालले माओवादी शान्ति प्रक्रियामा आएपछि बनेका १० मध्ये ८ वटा सरकार बनाउन आफ्नो भूमिका रहेको स्मरण गर्दै भने, ‘८ वटा बनाउने अवसर पाएको छु, भविष्यमा कति प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा नाम लेखिन्छ ?’ उनले कतिपयलाई संसदमा ल्याउन अप्रत्यक्ष भूमिका खेलेर र कतिपयाल्ई सिधै प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको उल्लेख गरे।
संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको समर्थनमा ओली फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए।
Previous Article२७ फागुन २०७४, ढोरपाटन दैनिक
Next Article आर्थिक समृद्धिका लागि उद्यमशीलता जरुरी