पर्वत, १६ फागुन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई बहुमत पुर्याएर दिगो बनाइने दाबी गरेका छन् । मधेसी जनअधिकार फोरम सहित अन्य मधेसी दललाई सरकारमा ल्याउने सहमति जुटिसकेको भन्दै उनले सरकारलाई स्पष्ट बहुमत पुग्ने बताए । पर्वतको कुश्मामा रेडियो दिदीबहिनीले आयोजना गरेको दशौं पश्चिमाञ्चल महिला महोत्सवको बुधवार उद्घाटन गर्दै उनले देशले अब विकास र समृद्धिको यात्रा तय गर्ने उद्घोष गरे । ‘अब हामीले चुनावअघि तपाईंसामु गरेका बाचा पुरा हुँदैछन्,’ उनले भने,‘विगतमा जस्तो सरकार बनाउने र भत्काउने खेल अब हुँदैन । पुराना बाचा पुरा गर्ने कुरामा बर्तमान सरकार प्रतिबद्ध रहनेछ ।’
मधेस केन्द्रित दलहरुलाई सरकारमा ल्याएर स्पष्ट बहुमत सहितको सरकार बनाउँदा देशले स्थायित्व पाउने र देश बिकासको द्रुत गतिमा अगाडी बढ्ने दहालको जिकिर छ । मधेस केन्द्रित दलहरुले उठाउँदै आएको संविधान संसोधनको मुद्धामा सहमति भैसकेको बताउँदै उनले बाँकी विषयमा सहमति जुटाउन प्रधानमन्त्री र आफू निरन्तर छलफलमै रहेको जानकारी दिए । ‘आज(बुधबार) पनि म काठमाण्डौं गएर बांकि रहेका विषयमा छलफल गर्नुछ,’ उनले भने, ‘प्याकेजमा सहमति गरेर फोरमलाई सरकारमा ल्याउाछौं । अरु आउन चाहने दललाई पनि बाटो खुल्ला राखेकै छौं ।’ कांग्रेसलाई पनि चिढ्याउने पक्षमा नरहेको जनाउँदै दहालले प्रतिपक्षलाई पनि सम्मानजनक रुपमा व्यवहार गरिने जानकारी दिए । उनले कांग्रेसलाई रचनात्मक सहयोग गर्न आग्रह गरे ।
देशमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव भएपछि अब देशमा आर्थिक विकास र जनताको समृद्धिका सपना पुरा गर्नुपर्ने बेला आएकोले सबै दलहरु यसतर्फ केन्द्रित भएको अध्यक्ष दहालले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले देशमा संक्रमणकाल सकिएको जिकिर गर्दै अब देशले अर्को नयाँ फड्को मार्ने चरणमा रहेको बताए । एमाले र माओवादी बिच ७ बुँदे सहमति भइसकेको र अब पार्टी एकीकरणको काम बाँकी रहेकाले एकिकरण भन्दा पहिला दुवै दलका सदस्य सम्मिलित कार्यदलले एकिकरणको खाका तयार पार्न लागेको जानकारी दिए । उनले फागुन भित्रै पार्टी एकिकरण हुने संकेत गरेका छन् ।
फरक प्रसंगमा दाहालले आगामी चुनावमा महिलाहरुलाई प्रत्यक्ष रुपमा चुनाव लड्ने व्यवस्था मिलाईने बताएका छन् । ‘अहिले महिलाहरुलाई प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्न हामी सबैले अवसर नदिएकै हो,’उनले भने, ‘आगामी चुनावहरुमा महिलाहरुलाई अबसर दिनुपर्छ भन्नेमा मेरो तर्फबाट सक्दो प्रयास हुन्छ ।’ महोत्सवका अवसरमा देशभरिका रेडियोका महिला स्टेशन म्यानेजर तथा सम्पादकहरुलाई सम्मान गरिएको छ । रेडियोलाई सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरियो । कार्यक्रममा प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी, राष्ट्रिय सभा सदस्य गणेशप्रसाद तिमिल्सीना, प्रतिनिधिसभा सदस्य पदम गिरी, डा. सूर्य पाठक, मना केसी, प्रदेसभा सदस्य विकास लम्साल, जुनादेवी नेपाली, उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र ढकाल लगायतले बोलेका थिए ।
११ दिनसम्म सञ्चालन हुने उक्त महोत्सव सम्पन्न गर्नको लागि ३५ लाख खर्च लाग्ने अनुमान रेडियोले गरेको छ । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, र्याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य गणेश तिमिल्सिना, प्रतिनिधीसभाका सदस्यहरु देबेन्द्र पौडेल, पदम गिरी, सुर्य पाठक, मनकुमारी केसी, प्रदेश सभाका सदस्यहरु विकास लम्साल, जुनादेवी नेपाली, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्य चन्द्र ढकाल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने लगायतले महोत्सब सफलताको शुभकामना दिएका थिए । रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सञ्चारकर्मीहरु दुर्गा अधिकारी र बिष्णु गौतमले गरेका थिए ।