बागलुङ, १५ फागुन- केही दिनअघि अमेरिकाको फ्लोरिडास्थित मार्जोरी स्टोनम्यान डग्लस हाईस्कूलमा निकोलस क्रूज नामक पूर्वविद्यार्थीले गोली चलाएर १७ जनाको हत्या गरिदिए । विद्यालयबाट निकालिएका क्रूजले प्रतिशोधस्वरूप यो हत्या गरेको खुल्यो र उनलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । सन् २०१८ मा मात्रै अमेरिकामा यस्तै किसिमका १७ वटा गोलीकाण्ड भइसकेका छन् । विगतका वर्षहरूमा पनि अमेरिकामा सामूहिक हत्याका अनेकौं कहालीलाग्दा घटनाहरू भएका थिए ।
यस्ता हत्याकाण्डहरू अमेरिकाको सहज हतियार कानूनका कारण हुने गरेका छन् । अमेरिकाको संविधानको दोस्रो संशोधनले व्यक्तिलाई हातहतियार राख्न दिने व्यवस्था गरेको छ । अनि त मानसिक असन्तुलन भएका व्यक्तिहरूले समेत हतियार लिएर सामूहिक हत्या गर्ने गरेका छन् ।
निर्दोष बालबालिकाको ज्यान गएपछि विगतमा झैं यसपाली पनि हतियारमा प्रतिबन्ध लगाउनुपर्ने मागहरू जनस्तरमा उठे । तर फेरि पनि अमेरिकाको शक्तिशाली हतियार उद्योग अनि त्यसको अग्रणी संस्था नेसनल राइफल एसोसिएसन (एनआरए) का सामु यस्ता मागहरू सेलाउँदै जाने गरेका छन् । तर हतियार कानून कडा बनाउने दबाब दिनका लागि डेल्टा एयरलाइन्स, हर्ज, मेटलाइफ, सिम्यान्टेक जस्ता केही कर्पोरेट संस्थाहरूले एनआरएसँगको सम्बन्ध तोडेकाले यसमा केही सुधार आउने अपेक्षा गर्न सकिन्छ । दुःखको कुरा, अमेरिकाको राजनीतिक प्रणाली नै पैसामा बिकेको छ र शक्तिशाली हतियार उद्योगले सबै दलका नेताहरूलाई किनिसकेको छ ।
त्यसैले कुनै पनि नेताले हतियारमा प्रतिबन्ध लगाउनुपर्ने मागलाई वास्ता नै गर्दैन । अझ राष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडा गोलीकाण्डपछि हतियारमा प्रतिबन्ध लगाउने नभई विद्यालयका शिक्षकहरूलाई हतियार दिएर आक्रमणकारीसँग जुध्न लगाउनुपर्ने प्रस्ताव गरेका छन् । फ्लोरिडास्थित एक स्कूलमा भएको हमलाबाट बचाएर सुरक्षित स्थानतर्फ लगिँदै विद्यार्थीहरू ।
वास्तवमा अमेरिकाको पूँजीवादी अर्थतन्त्र नै हिंसामा अडिएको छ । हतियारको व्यापक बेचबिखनमा आधारित अर्थतन्त्र भएकाले अमेरिकाको रक्षा बजेट नै ६०० अर्ब डलरभन्दा बढी छ । अनि बन्दुकको पक्षपाती नेसनल राइफल एसोसिएसनले राजनीतिकर्मीहरूलाई लाखौं डलर दान दिने गरेको छ । ट्रम्पको निर्वाचन अभियानलाई उसले दुई करोड डलरभन्दा बढी रकम दिएको थियो भने फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई लगभग साढे तीन करोड डलर दिएको थियो ।
यसरी हतियार उद्योगले राजनीतिकर्मीहरूलाई आफ्नो खल्तीमा राखेपछि उनीहरू त मोटाए तर मध्यमवर्गीय तथा गरीब तप्काका बहुसंख्यक अमेरिकीहरूको आर्थिक तथा सामाजिक स्थिति दिनानुदिन खस्किँदै गइरहेको छ । ट्रम्पले आफ्नो राष्ट्रपतित्वको पहिलो वर्षमा २० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको फुर्ती लगाएपनि त्यसमध्येका ८० प्रतिशत जागिरमा तलब न्यून रहेको यूएस ब्यूरो अफ लेबर स्ट्याटिस्टिक्सले जनाएको छ । यसको अर्थ धेरै अमेरिकीहरूले हातमुख जोर्न अझै पनि संघर्ष गरिरहनुपरेको छ ।
अनि रक्षा र हातहतियारमा धेरै पैसा खर्च गर्दा अमेरिकाको विकास निर्माण कार्य पनि खस्किँदै गएको छ । तटीय इलाकाहरूमा केही राम्रो स्थिति रहेपनि मध्यभागका केही क्षेत्र त तेस्रो विश्वका गरीब मुलुकको जस्तो दयनीय स्थितिमा छन् । फोहोरका डंगुरहरू, मैला पानीका खाडल, भत्केका पुल, टुटफुट भएका राजमार्ग तथा विमानस्थलहरू अमेरिकामा यत्रतत्र छन् । त्यहाँका एमट्य्राक ट्रेनहरू प्रायः दुर्घटनामा परिरहेका हुन्छन् ।
संयुक्त राष्ट्रसंघीय निकाय ओएचसीएचआरले सन् २०१७ को डिसेम्बर महीनामा निकालेको एक प्रतिवेदनमा अमेरिकाको चरम गरीबीको विश्लेषण गरेको छ । त्यसमा उल्लेख भएअनुसार, अलाबामा राज्यको लाउन्डेस काउन्टीमा धेरै मानिसले घरमा सेप्टिक ट्यांक राख्न नसक्ने भएकाले उनीहरूको घरमा फोहोरको बाढी जमेको हुन्छ । यो फोहोरले गर्दा उनीहरूको आन्द्रामा हूकवर्म नामक परजीवी पाइएको छ जुन महागरीब विकासशील देशका नागरिकमा मात्र भेटिन्छन् ।
त्यसमाथि अमेरिका टुप्पीसम्म आउनेगरी ऋणमा डुबेको छ । भौतिक निर्माणका समस्याहरूलाई समाधान गर्नका लागि डेढ खर्ब डलर चाहिने अवस्थामा अमेरिकाको ऋण सन् २०२२ सम्ममा चार खर्ब डलर पुगिसक्ने विश्लेषण सीएनएनका म्याट इगानले गरेका छन् । वास्तवमा अमेरिकी अर्थतन्त्र पूरै बिग्रिएका कारण अन्य देशबाट उसले भारी मात्रामा आयात गर्ने गरेको छ । अमेरिकाको उत्पादन क्षेत्र लगभग मासिइसकेको छ । आयातनिर्भरता र व्यापार असन्तुलन सन् १९८० को अन्त्यदेखि नै चलिरहेको छ । विगत तीन दशकयता अमेरिकाको व्यापार घाटा लगातार बढिरहेकोमा अहिले त्यो घाटा ७४० अर्ब डलर पुगिसकेको छ ।
यसरी अर्थतन्त्र धर्मराउँदै जाँदा त्यसको सबभन्दा बढी चोट कामकाजी वर्ग तथा गरीबहरूले उठाउनुपरेको छ । अनि सरकारले गरीबहरूको समस्या समाधानमा कुनै चासो नदेखाउने गरेकोले उनीहरूमा चरम निराशा छ । त्यसमाथि अमेरिकामा हातहतियार सजिलै उपलब्ध हुन्छ । आफ्नो भविष्य अनिश्चित देखेर चरम निराशामा रहेका व्यक्तिहरूले पीडा पोख्न वा ध्यान आकर्षण गराउन हिंसाको मार्गमा हिँडेका हुन सक्छन् ।
हतियार उद्योगले किनेका नेताहरू बन्दुक बोक्न गाह्रो बनाउँदा मात्र गोलीकाण्ड नरोकिने बताउँछन् । तर यो कुतर्क हो किनकि अस्ट्रेलिया, चीन, जापान, बेलायत र क्यानडा जस्ता देशमा बन्दुक किन्न एकदम गाह्रो छ त्यसैले ती देशमा कमै मात्र गोलीकाण्ड हुने गर्छन् । ती देशमा आतंकवादी आक्रमणहरू पनि चक्कु, घरैमा बनाइएका विस्फोटक पदार्थ वा वाहनहरूमार्फत गरिन्छन् ।
कुतर्कमै रमाउने हतियार उद्योगले आफूलाई सान्दर्भिक बनाइरहनका लागि अन्य देशहरूको हौवा पिटाउने गरेका छन् । चीन, रुस, इरान र उत्तर कोरियाजस्ता देशले अमेरिकालाई जोखिममा पारेको अनि अमेरिकाको सैन्य क्षमता घट्दै गएको भनी हतियार उद्योगले कथित विश्लेषकहरूलाई मिडियामा बकाउने गरेको छ । यसरी दुष्प्रचार गरेपछि आफ्नो हतियार बिकाउन उनीहरूलाई सजिलो हुन्छ ।
अमेरिकाले हातहतियार थुपार्दा अन्य देशहरूले पनि उसबाट जोखिम हुनसक्ने भनी हतियार संख्यामा वृद्धि गरेका छन् । विशेषगरी चीन र रुसले सैन्य क्षमता व्यापक मात्रामा वृद्धि गर्नुका पछाडि अमेरिकाको हतियारमोह प्रमुख कारण हो । अनि अमेरिकाले अन्य देशलाई औंला ठड्याउनुका पछाडि अर्को कारण पनि छ । आफ्नो देशमा धनी र गरीबबीचको खाडल गहिरिँदै जाँदा सामाजिक विस्फोटको स्थिति आइरहेको अनि सामान्यजनमा आक्रोशको स्थिति रहँदा त्यसलाई लोकतन्त्रमाथिको जोखिम अनि त्यो जोखिम रुस र चीन जस्ता देशबाट रहेको अमेरिकाका बिकाउ बुद्धिजीवीहरूको तर्क रहन्छ ।
आफ्नो कमजोरीलाई स्वीकार नगर्ने अनि विश्व राजनीतिमा उदाइरहेका शक्तिहरूलाई सत्तोसराप गर्ने अमेरिकी प्रवृत्ति देखिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अरू कुनै काम नै छैन कि जस्तो गरी अमेरिकालाई अस्थिर बनाउन षड्यन्त्र गरिरहने पात्रका रूपमा अमेरिकी मिडियाले प्रस्तुत गर्ने गरेका छन् । अनि चीनले हाम्रो अर्थतन्त्र खाइदिन लाग्यो भनी उनीहरू चीनको सत्तोसराप गर्ने गर्छन् । तर अमेरिकीहरूले जति नै विलाप गरेपनि अबको युगमा यूरेसियाकै उदय हुने देखिन्छ । बरू अमेरिकाले यसरी अर्कालाई दोष देखाएर उम्किनुभन्दा आफ्नै प्रणालीलाई सुधार गर्नु आवश्यक देखिन्छ । हतियारमोह त्याग्नु नै सुधारको पहिलो कदम हो । त्यसो नगरेमा अनेकौं निर्दोष नागरिकले अनाहकमा गोलीकाण्डहरूबाट ज्यान गुमाइरहनु नै पर्नेछ । एजेन्सीहरूको सहयोगमा
माफियाको इशारामा महाशक्ति, हतियारको ‘गुलाम’ बन्दै अमेरिका
Previous Article५ सय दरका नक्कली नोट छ्यापछ्याप्ती
Next Article यूएर्इविरुद्धको अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी