बुनु थारु
काठमाडौँ, ११ फागुन – माघबाट सुरु हुने भनिएको सिटामोल उत्पादनको काम बल्ल सुरु भएको छ। माघमा नै उत्पादित सिटामोल बजारमा पुर्याउने योजना बनाएको नेपाल औषधि लिमिटेडले बिहीबारबाट सिटामोल उत्पादनको काम सुरु गरेको हो। लिमिटेडसँग सिटामोल उत्पादनका लागि सबै कच्चा पदार्थ भएपनि भारतबाट प्राविधिक नआउँदा मेसिन जडानमा समस्या भएकाले औषधी उत्पादनमा ढिलाई भएको लिमिटेडका महाप्रबन्धक डा. रोभस कुसुम सुवेदीले जानकारी दिए।
सरकारी स्वामित्वमा रहेको लिमिडेटलाई गत असोज २ को मन्त्रिपरिषद् बैठकले पुनःसञ्चालनमा ल्याउने निर्णय गरेको थियो। विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तराष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि सो उद्योग बन्द भयो। बन्द हुनुपूर्व लिमिटेडले १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो। नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनः औषधि उत्पादन गर्न सुरु गरेको छ। अघिल्लो वर्षबाट पुनःसञ्चालनमा ल्याइएको लिमिटेडले गत वैशाख २४ गतेबाट जीवन जल उत्पादन गरी बजारमा पठाएको थियो।सरकारले जिएमपीअनुसार पुनःसञ्चालन गर्न १४ करोड ६५ लाख रुपैँया ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो। सोहीअनुरुप पहिलो चरणमा छ करोड ४८ लाख निकासा गरेको थियो। उक्त नयाँ मेसिनबाट चक्की बन्न करिब ४ देखि ६ दिन लाग्छ, एकपटकमा ३ लाख २० हजार चक्की उत्पादन हुने महाप्रबन्धक सुवेदीले बताए।
उनले भने, ‘अहिले पहिलो लटमा परीक्षणका लागि ८० हजार ट्याबलेट उत्पादन गरिँदैछ, गुणस्तर मापन विभागले ठीक छ भनेपछि मात्र बजारमा पठानेछौं। करिब ८ देखि १० लाख ट्याबलेट सिटामोल उत्पादन भएपछि बजारमा जानेछ।’ उपभोक्ताले सस्तो र सुलभ मूल्यमा गुणस्तरीय औषधि पाउने उद्धेश्यले उत्पादन भइरहेको जनाउँदै सिटामोलको खुद्रा मूल्य प्रतिचक्की १ रुपैयाँ पर्ने सुवेदीले जानकारी दिए।
औषधी उत्पादन प्रक्रिया विश्व स्वास्थ्य संगठनले तोकेको कुशल उत्पादन अभ्यास अनुसार रहेको, गुणस्तर तथा नापतौल विभागको मापदण्ड अनुसार प्रयोगशाला बनाइएको र भौतिक पूर्वाधार तथा अन्य प्रक्रिया पनि पूरा गरी उत्पादन थालिएको लिमिटेडले जनाएको छ।
यसरी सुरु भयो सरकारी सिटामोल उत्पादन
Previous Articleनेपालमा फेरि रक्तपात गराउने कोशिश – प्रचण्ड
Next Article ११ फागुन २०७४, ढोरपाटन दैनिक