काठमाडौँ, १३ असोज – यातायात व्यवसायीले दशैं र तिहारका लागि बसभित्रको ग्यालरीमा ‘मुढा’ राखेर यात्रु ओर्सान पाउनुपर्ने माग गरेका छन् । माग पूरा गर्न दबाब दिनका लागि व्यवसायीहरूले सुदूर, मध्य तथा पूर्वक्षेत्रमा चल्ने लामो दुरीका यातायातका साधन (बस)को अग्रिम टिकट बुकिङ सेवा केही दिनलाई स्थगित गरिएको सूचना टाँसेका छन् ।
यातायात व्यवस्था विभागमा बुधबार भएको सर्वपक्षीय छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले सुदूरपश्चिम लगायत केही क्षेत्रमा अग्रिम टिकट बुकिङ स्थगित गरिएको जानकारी दिए । २० लाख ओसार्न १५ हजार बसले पुग्दैन, उनले भने , दसैँ र तिहारका लागि ३५ हजार बस चाहिन्छ ।
सरकारले बसको ब्यवस्था गर्छ भने अग्रिम टिकट बुकिङ सेवा नियमित हुन्छ, अन्यथा समस्या छ । तर, यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले ग्यालरीमा राखेर सर्वसाधारणलाई कष्टपूर्ण यात्रा गराउनुभन्दा पटके इजाजत जारी गरी बसहरू थप्दा उपयुक्त हुने बताए ।
विभागले दसैँका लागि असोज १५ गतेदेखि २२ गतेसम्म बसलाई पटके इजाजतअन्तर्गत मुलुकभर सञ्चालन गर्न पाउने अनुमति दिएको छ । त्यस्तै, उपत्यकामा चल्ने साझा र महानगर लगायत विभिन्न बस यात्रु लिएर उपत्यका बाहिर सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
यो सेवा सञ्चालनका लागि यातायात व्यवसायीले सरकारसँग एक सय लिटर सहुलियतमा इन्धनको माग गरेका छन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वारले भने , जाँदा यात्रु बोकेर जान्छ, आउँदा रित्तो हुने भएकाले खर्च धान्नलाई इन्धन सहुलियत माग गरेको हौँ । उनका अनुसार, यस अवधिमा काठमाडौँ बाहिर जाँदा फाइदा, फर्किंदा घाटा हुने देखिन्छ ।
दसैँका लागि यस्तो छ बस व्यवसायीको ‘बार्गेनिङ’
Previous Article१८ असोजबाट डीभी, के-के छन् नियम ?
Next Article एसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव