काठमाडौं,२ फागुन – एमाले-माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बुधबार दिउँसैबाट बसेको संयोजन समितिको बैठक पार्टी एकताका विषयमा सकारात्मक छलफल गर्दै सकिएको हो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार वैचारिक नीतिलाई शुत्रबद्ध गर्ने विषयमा थप छलफलको आवश्यकता भएकाले बिहीबार पुन बस्ने गरी संयोजन समितिको बुधबारको बैठक स्थगित भएको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता श्रेष्ठले भने, ‘पार्टी एकताका विषयमा संयोजन समितिमा सकारात्मक छलफल भएको छ । एकता चाँडै हुन्छ । तर, वैचारिक नीतिलाई कसरी शुत्रबद्ध गर्ने भन्ने विषयमा थप गृहकार्य आवश्यक भएकाले बैठक पुनः भोलि बस्नेगरी आजका लागि स्थगित भएको छ ।’
श्रेष्ठका अनुसार एकीकृत पार्टीको वैचारिक राजनीति विषय, संगठनात्मक संरचना र सरकार गठनलगायत विषय छलफल भएको थियो। निर्वाचन आयोगले राष्ट्रियसभाको सभानुपातिकतर्फको परिणाम राष्ट्रपतिसमक्ष बुझाएकोले नयाँ सरकार गठनको बाटो खुलेको छ।
नेता श्रेष्ठले भोलिको बैठकमा सरकार गठनबारे पनि छलफल हुने जानकारी दिए। मानभवनमा रहेको शारदा अधिकारीको घरमा अपराह्न करिब ५ बजेदेखि संयोजन समिति बैठक बसेको थियो। एकीकृत पार्टी संयुक्त नेतृत्व प्रणालीमा अगाडि लैजानेमा दुवै पार्टीका नेताहरु सहमत भइसकेका छन्।
Previous Articleनेपालले क्यानडालाई हरायो, जितमा करण केसी नायक
Next Article मतदानको ६९ दिनपछि मात्रै बुझायो आयोगले परिणाम