काठमाडौं, १ फागुन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेका मोहन वैद्य र विप्लव भनिने नेत्रविक्रम चन्दलाई पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल गरेका छन् । २३ औं जनयुद्ध दिवसका अवसरमा माओवादी मुख्यालय पेरिसडाँडामा मंगलबार भएको कार्यक्रममा अध्यक्ष दाहालले दिवास्वप्नले क्रान्ति पूरा नहुने बताए। ‘सपना धरातल र विज्ञानमा आधारित हुनुपर्छ, रहर लहडमा क्रान्ति हुँदैन,’ विप्लवको दिवास्वप्नले क्रान्ति नहुने दाहालको भनाइ थियो।
वैद्यप्रति उनको भनाइ थियो, ‘मेरो गुरु भनेर चिनिनुभएका किरण द्वन्द्वात्मक भौतिकवादको कुरा गर्नुहुन्छ, द्वन्द्वात्मक भौतिकवाद धेरैले लेखे, पढे। जनताबाट भाग्ने र घरमा बसेर क्रान्ति हुँदैन।’ जनवादी क्रान्तिको नारा धेरै लगाएको उल्लेख गर्दै दाहालले अब समाजवादको नारा लगाएर नयाँ अभियान सुरु हुने बताए। ‘हामीलाई अझ धेरै जनता, धेरै कार्यकर्ता चाहिएको छ, सबै कम्युनिष्टलाई एक ठाउँमा ल्याउने भूमिका पूरा गर्नुपर्नेछ। त्यसो नगरी समाजवाद जिन्दावाद भन्नुको अर्थ छैन,’ उनको भनाइ थियो।
दाहालले ‘प्रचण्ड’ले धोका दिए भन्नेहरुका लागि आजकै दिन पार्टी एकताको निर्णय भयो भने आफू खुसी हुने बताए। दाहालले २०४६ सालअघि नै सशस्त्र संघर्ष गर्ने योजना बनाए पनि पञ्चायत ढाल्ने शर्तमा जनआन्दोलनमा सहभागी भएको सुनाए।
आफ्ना दुई पूर्व ‘कमरेड’ हरूलाई सम्झिँदा प्रचण्डले त्यतिबेला पार्टीको दोस्रो वरियतामा रहेका नेता डा. बाबुराम भट्टराईलाई भने सम्झिएनन्। २०७२ असोज ९ मा माओवादी परित्याग गरेका भट्टराई अहिले नयाँ शक्ति नेपालका संयोजक छन्। वाम गठबन्धन घोषणामा सहभागी भट्टराई गोरखामा निर्वाचन क्षेत्र दिन माओवादी केन्द्र अनिच्छुक भएपछि गठबन्धनबाट बाहिरिएर कांग्रेसको समर्थनमा चुनाव लडेका थिए।
‘म कमरेड विप्लवलाई आग्रह गर्छु- दिवास्वप्नबाट केही पनि हुँदैन। सपना धरातलमा टेकिएको हुनुपर्छ, जनतामा आधारित हुनुपर्छ, विज्ञानमा आधारित हुनुपर्छ’, अध्यक्ष प्रचण्डले भने, ‘रहर र लहड क्रान्ति होइन। यदि त्यस्तो हुन्थ्यो भने दुनिया अर्कै भइसक्थ्यो। एकचोटी बसेर छलफल गरौँ र शक्तिशाली केन्द्र बनाएर राष्ट्रलाई एकताबद्ध गर्दै समाजवादको यात्रामा अघि बढ्न म अपिल गर्न चाहन्छु।’
विप्लवलाई ‘सुझाव’ दिएपछि प्रचण्ड आफ्ना ‘राजनीतिक गुरु’ वैद्यमाथि केन्द्रित भए। ‘मेरो गुरु भनेर परिचित कमरेड किरण… द्वन्द्वात्मक भौतिकवाद के चिज हो ? अतिभूतवाद के हो?’, प्रचण्डको प्रश्न थियो, ‘कितावमा द्वन्द्वात्मक भौतिकवाद धेरैले पढे, धेरैले लेखे तर जीवनमा रियलाइज (महसुस) गरेर जनता जहाँ छन् त्यहाँ जानु नै मार्क्सवादको चुरो कुरा हो।’
वैद्य र विप्लवका बारेमा अलगअलग बोलेपछि प्रचण्डले दुबैलाई एकताका लागि संयुक्त आह्वान गरे। उनले दुबैजना जनता छोडेर र बहसबाट भागेर हिँडेको आरोप लगाए। ‘उहाँहरू जनता छोडेर जान थाल्नुभएको छ। जनतादेखि भाग्ने अनि लुके छिपेर भन्दै नभनिकन घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवास्वप्नबाट बिउँझिन म कमरेडहरूलाई अपिल गर्न चाहन्छु। मेरो यो गम्भीर अपील हो। मेरो हार्दिक अपिल पनि हो।’
सबै कम्युनिस्टहरू मिलेर अघि बढेमात्र समाजवाद स्थापना गर्न सकिने भन्दै प्रचण्डले व्यवहारद्वारा आफ्नो कित्ता स्पष्ट गर्न वैद्य र विप्लवलाई आग्रह गरे। ‘हामी सबै एक ठाउँमा केन्द्रित भयौँ भने समृद्धि र समाजवाद एकसाथ अगाडि बढाउन सक्ने असाधारण परिस्थिति नेपालमा छ’, उनले भने, ‘यसलाई भत्काउन संसारभरका साम्राज्यवादी र प्रतिक्रियावदी लागेका छन्। तपाईँहरू साम्राज्यवाद/प्रतिक्रियावादको पक्षमा कि जनताको पक्षमा ? तपाईँको व्यवहारद्वारा टुंगिने कुरा हो।’ एउटै केन्द्रमा एकीकृत हुने अवसरहरू सधैँ नआउने भन्दै प्रचण्डले यसलाई गुम्न नदिन आग्रह गरे।
वाम एकता प्रक्रियालाई ‘महान अभियान’ को संज्ञा दिएका प्रचण्डले त्यसको नेतृत्व गर्ने अवसर आफूलाई प्राप्त भएको बताए। एमाले र माओवादी केन्द्रको एकता नेतृत्व व्यवस्थापनमा कुरा नमिलेर अड्किरहेका बेला प्रचण्डले नेतृत्वको अवसर आएको भन्दै त्यसमा पटक पटक जोड दिए। ‘नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त छ, हामीलाई’, प्रचण्डले भने, ‘नेतृत्व भन्ने कुरा मलाई दिनपर्छ भनेर पाइने होइन। आफ्नो सक्रियता, क्षमता, त्याग, तपस्याद्वारा लिनुपर्ने कुरा हो।’
जनयुद्ध, त्यसको जगमा जनआन्दोलन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, हालै भएका तीन तहका निर्वाचन, माओवादीले अघि सारेको वाम गठबन्धन र पार्टी एकताको प्रस्तावका कारण नेतृत्वको अवसर प्राप्त भएको प्रचण्डको भनाई थियो। ‘यो अवसर गुम्न नदिउँ’ प्रचण्डले भने, ‘एउटा ग्रेट डिबेट (महान बहस) बाट मात्रै ग्रेट रिभोलुसन (महान क्रान्ति) को जन्म हुन्छ। बहसबाट भागेर दुनियामा क्रान्ति कहीँ पनि अगाडि बढेको छैन।’
२०५२ फागुन १ गते सशस्त्र युद्धको घोषणा गरेको दिनको सम्झनामा माओवादीले आजको दिनलाई ‘जनयुद्ध दिवस’ का रुपमा मनाउने गरेको छ। २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौता भएसँगै माओवादीको सशस्त्र युद्ध अन्त्य भएको थियो।