कृष्ण प्रसाद शर्मा
सामाजिक रुपमा लिभिङ टुकेदर संसार भरी बढ्दो क्रममा छभने नेपालमा पनि पछिल्लो समय लिभिङ टुकेदरले पारेका सामाजिक असर बारे कुरा उठ्दैछन् । सामाजिक रुपमा लिभिङ टुकेदर कति ठीक कति बेठीक कुनै दिन लेखौंला तर आज पछिल्लो समय नयाँ प्रयोगको रुपमा रहेको राजनैतिक लिभिङ टुकेदरको भविष्य बारे धेरैको चिन्ता छ । कतिपयलाई सामाजिक लिभिङ कै रुपमा बिना तयारी आएको बसाईले ल्याउने बिकृति सरह होस् भन्ने चाहना छ भने कतिपयलाई जर्बजस्त भएपनि राजनैतिक रुपमा विवाह भएर यो लिभिङ टुकेदरको अध्याय सकियोस् भन्ने कामना छ । सामाजिक रुपमा विवाह पुर्व संगै बसेर विवाहको लागि तयार भएपछि विवाह गर्ने वा विवाह एक झन्झटिलो पाटो हो त्यसैले मन मिल्दासम्म यसरी नै बसौं सामाजिक रुपमा विवाहको छाप नठोकौं भन्ने आसय जस्तै गरी अगाडी बढेको देखिन्छ । अब प्रचण्ड ओलीको राजनैतिक लिभिङ टुकेदर बारे हेरौं । जनयुद्धका बेला मसालबाहेक कुनै पनि राजनैतिक दलले आफ्नो कार्यकर्तालाई सुरक्षित राख्न सकेनन् । माओबादीले बागलुङका कतिपय ठाउँमा डाँडा वारीबाटै हेरेर चित्त बुझाए । एमालेले त आफ्ना कार्यकर्ता माथी दमन भएका बेला झन उल्टै आफ्नै कार्यकर्तालाई कार्वाही गरेर चुप लागेर बस्यो । त्यहाँबाट जोडिएको माओबादीसँगको अवस्था आज आईपुग्दा दुई पार्टि एकै हुने बारे बहस चल्दैछ । पार्टिका उच्च नेतृत्वको राजनैतिक सामुहिक बसाई सबैलाई मन नपर्न पनि सक्छ ।
जसको छनक माओबादी केन्द्रमा परिसकेको छ । पार्टि एक हुने कुराको विपक्षमा माओबादी केन्द्रमा बैचारिक रुपमा ससक्त मानिएको आहुती र गोपाल किराँतीहरू खुलेरै बिरोध गरेका छन्भने एमालेमा यसरी अगाडी देखिएरै विरोध गरेका कोही छैनन् । एमाले र माओबादी केन्द्रको एकता अवश्य हुन्छ भनेर चुनावमा एउटा तरङग नै ल्याए जसका कारण एमाले पहिलो स्थान र माओबादीलाई सम्मानजनक स्थानमा ल्याईपुर्याए । चाहे त्यो राजनैतिक होस् वा सामाजिक कुनैपनि नयाँ अध्यायका केही ठीक र केही बेठीक प्रयोगले वर्तमानलाई मात्र नभई भविष्यलाई समेत एउटा सही वा गलत नजीर दिन्छ नै । अहिले केपी प्रचण्डको यो लिभिङ टुकेदरले राजनैतिक रुपमा एउटा अकल्पनिय अध्यायमा छिरेको महसुस हुन्छ । गत बर्ष मात्रै एक अर्काले जुङगाको मुठ्ठा कोराकोर गरेका अहिले यसरी मुख चाटाचाट गरेको देख्दा कतिपयलाई अचम्मै पनि लागेको छ । हुन त प्रचण्ड स्वंमले राजनितिमा संभावनाको ढोका संगै खुला हुन्छ भनिराखेका हुन्छन् । प्रचण्ड एक गतिशिल नेता त पक्कै हुन तर गति समाजले सोचेभन्दा अगाडी बढ्दा कतिपय ठाउँमा शंका त कतिपय ठाउँमा निराश पनि लाग्छ । सम्पुर्ण राष्ट्रबादी शक्तिहरू समेत एक हुन सक्छन् भनेर बेलामौकामा पञ्चदेखी दरबारिया समेत छिरेको पार्टिमा एमालेसगँको एकता नौलो भने पक्कै होईन । लिभिङ टुकेदर बस्दा समाजले नमान्ने अवस्थासम्म कसैले अनैतिक नै भन्छन् कसैले लाज पचेकासम्म भन्छन् । तर यो सबै पचाउनै पर्छ । विश्व समाजलाई हेरेर अनि वातावरण सुहाउँदो भएपछि अनि सहज हुन्छ । लिभिङ टुकेदरको सबैभन्दा जटिल पक्ष हो बच्चा । बच्चाको दर्ता हुँदा बाआमाको नाम खोज्छ अनि कानुनी रुपमा विवाह खोज्दछ । जब कानुनमा विवाह बिना भएको बच्चा जन्मिन्छ त्यसमा अभिभावक भन्दा बच्चालाई बढी गालीगलौज गर्ने गरिन्छ ।
यो सामाजिक बच्चाको कुरा भयो । यसलाई अब राजनैतिक बच्चाको रुपमा हेर्ने होभने अब निस्कने एउटा पार्टिको स्वरुप हो तर पार्टिमा कुनै दुईको मिलेमोतोमा निस्केको कुनै राजनैतिक आलिङगन या त समरपर्णबाद हुन्छ वा सम्झौताबाद हुन्छ । यसलाई सामाजिक बच्चालाई जस्तो दुई जनासँग मात्र सोधिदैंन हजारौसँग सोधिन्छ तर यसमा अरूले जवाफ दिने ठाउँ नै हुँदैन किन कि राजनैतिक रुपमा भएको लिभिङ टुकेदरमा अराजकता भएको दोष बोक्नु पर्छ जहाँ की सामाजिक रुपमा भएको बच्चा मायाको चिनो । ओली प्रचण्डसँग लिभिङ टुकेदर गर्नुको बाध्यता थाहा भएन तर पनि आफ्नै पार्टि भित्र माधव कुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूको लगातारको दबावले प्रचण्डसँग संगै बस्दैछन् । टाउको एउटा पार्टिको मन अर्को पार्टिमा राखेर बस्नु भन्दा बरु दुबैलाई जोडेर एउटै टाउको र एउटै मन बनाउन कस्सिएका कामरेडहरूका कारण पनि पक्कै यो नेपाली संस्करणको राजनैतिक लिभिङ टुकेदर चलिरहेको देखिन्छ । सिद्धान्त अलग, विचार अलग, आएको पृष्ठभूमी अलग, अहिले बाँचेको जीवनशैली अलग, दुनिया देख्ने गरी हिडेको बाटो अलग, हिजो ओडेको कम्बल र लगाएको बख्खु चप्पल अलग । यति साह्रा चीन अलग हुँदाहुँदै पनि बसाई भने एक कतिसम्म सम्भव छ र यो बसाईले जन्माएका र नजन्माएका विचार, बाद र व्यवहारका बच्चाको न्वारान के कसरी हुन्छ र यो राजनैतिक लिभिङ टुकेदरको सामाजिक हैसियत कति हुन्छ यो भविष्यले बताउला तर हाललाई यसरी बढी रहेको सामिप्यता राजनैतिक विवाहमा टुङगियोस् र उत्सव मनाएर देशलाई विकास दिने प्रण गरुन भन्ने आशा गरौ नकी भोली जनताले यो बसाईको बैधानिकता नखोजी सिधै अराजक र अनैतिक नभनुन् ।
Previous Articleगायिका सीता श्रेष्ठको एकल आवाज रहेको माइती गाउँ
Next Article अबको निकासः आर्थिक र सामाजिक विकास