काठमाडौं, १९ माघ – नेपालको औपचारिक निम्तोबिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दुई दिने भ्रमणमा नेपाल पाचँवटै राष्ट्रिय पार्टीका नेतासँग भेटघाट गरिन्। केहीसँग सामूहिक त केहीसँग ‘वान टु वान’ वार्ता पनि गर्न भ्याइन् सुष्माले । उनले राष्ट्रिपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष महन्त ठाकुरलगायत नेतासँग भेटघाट गरेकी छन् ।
उनले एमाले अध्यक्ष ओली, माआवोदी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष यादवसँग ‘वान टु वान’ वार्ता गरेकी छन् । नेपाली कांग्रेस र राजपाका नेतासँग उनले सामूहिक भेटवार्ता गरिन् । सदभावना र शुभकामना आदानप्रदानका लागि आएको भनिए पनि भित्री रहस्य फरक रहेको धेरैको विशलेषण छ ।
एकथरीले ओलीको राष्ट्रवादी चरित्रमाथि जनताले प्रश्न उठाउने अवस्था सुष्माको भ्रमणले सिर्जना गरिदिएको टिप्पणी गरेका छन् भने अर्काथरीले नाकाबन्दी र अनावश्यक राजनीतिक हस्तक्षेपबाट सम्बन्धमा तिक्ता आएपछि ‘कोर्ष करेक्सन’ गरेको तर्क पनि गरिरहेका छन् । वाम गठबन्धन सरकारमा गइनसकेको र देउवा सरकारको बहिर्गमन भइनसकेको संक्रमणकालिन अवस्थामा नेपाल भ्रमण आएकी सुष्माले नेपालको नेतृत्व र यहाँका नेताहरुलाई के सन्देश छाडेर गइन् त ? भित्री तथ्यहरु विस्तारी उद्घाटित हुँदै जालान् खुलेको एउटा तथ्य भनेको उनले भेटेजति सबै नेतालाई बधाईको पोको दिएर फकाउने प्रयास गरिन् ।
ओलीबाट सुरु भएको बधाईको श्रृंखला प्रधानमन्त्री देउवासम्म पुगेर टुंगियो । बिहीबार साँझ होटल सोल्टीमा पहिलो भेट गर्ने क्रममा ओलीलाई उनले निर्वाचनबाट सबैभन्दा ठुलो दलको नेता तथा भावी प्रधानमन्त्रीकारुपमा बधाई दिन भ्याइन् । दोस्र भेटमा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई वाम गठबन्धनकाबीच पनि राम्रो चुनावी नतिजा ल्याएको भन्दै बधाई टक्र्याइन् ।
तेस्रो भेट उनले होटल सोल्टीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरिन् । त्यहाँ पनि उनले निर्वाचन सफल गराएकोमा तथा चुनावी परिणाम राम्रो ल्याएको भन्दै बधाई तथा सहकार्यको प्रस्ताव गरिन् । त्यसपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई होटल सोल्टीमै भेटेर मधेस (दुई नम्बर प्रदेश) को ठुलो दल बनेको बधाई दिइन् । उनले त्यससँगै निर्वाचनबाट नयाँ जनादेश प्राप्त गरेपछिको अवस्थामा संविधान संशोधनको मुद्दाबारे पनि यादवसँग प्रश्न गर्न भ्याइन् । उनले यादवसँग २ नम्बर प्रदेशको सरकार र मुख्यमन्त्रीबारे पनि चासो राखेकी थिइन् ।
कुन् दल र नेतासँग के भनिन् ?
नेकपा एमाले : एमाले अध्यक्ष ओलीसँग चिसिएको सम्बन्ध सुधार्नु भारतको मुख्य उद्देश्य थियो । उनले पहिलो भेटवार्ता एमाले अध्यक्ष ओलीसँग गरिन् । विदेश मन्त्री स्वराजले ओलीसँगको भेटमा निर्वाचन सम्पन्न गराएर पहिलो पार्टी बनेकोमा बधाई दिइन् । उनले निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलताका लागि बधाई दिएकी थिइन् ।
करिब ४५ मिनेट ओली र सुष्माको बीच ‘वान टु वान’ वार्ता भएको थियो । निर्वाचनबाट प्राप्त स्पष्ट जनादेशले नेपालमा शान्ति र स्थिरता कायम हुने बताउँदै विदेशमन्त्री स्वराजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्वाचनपछि नेपाल विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको बताइएकी थिइन् ।
आफूसँग सल्लाह नगरी नयाँ संविधान जारी गरेको भन्दै भारतले लगाएको नाकावन्दीको तत्काली प्रधानमन्त्री ओलीले कडा प्रतिकार गरेका थिए । ओलीले सरकारको नेतृत्व गरेका बेला नेपाल चीनसँग नजिकिन पुगेको थियो । त्यो बेला पारवहन र वेल्ट एण्ड रोड परियोजनाबारेमा पनि सम्झौता भएको थियो ।
जसका कारण भारत ओलीसँग चिढिएको थियो । त्यहीकारण ओली र भारतबीचको सम्बन्ध अझै सुध्रिसकेको छैन। ओलीकै नेतृत्वमा वामपन्थीले चुनाव जितेपछि ओलीसँग सम्बन्ध सुधार्नुको विकल्प भारतसँग थिएन । चुनावपछि ओलीलाई सरकारमा जान रोक्न भारतले मधेसवादी, माओवादी र कांग्रेसलाई मिलाउन हरसम्भव कोशिश पनि गरेको थियो । तर, त्यो प्रयास असफल भयो अनि मोदीले निर्वाचन जितेको र भावी प्रधानमन्त्री भन्दै ओलीलाई फोन गरेर बधाई दिए ।
ओली आफ्नो सद्भाव र समर्थनका कारण दोस्रो पटक प्रधानमन्त्री बन्न सकेको सन्देश विश्व समुदाय देखाउन पनि भारतले सुष्मालाई नेपाल पठाएको थियो। ओली र नेपाललाई चीनसँग नजिक हुनबाट रोक्ने भारतीय प्रयासका रुपमा पनि यो भ्रमणलाई हेरिएको छ ।
माओवादी केन्द्र: माओवादीका अध्यक्ष प्रचण्डसँग पनि उनले ‘वान टु वान’ वार्ता गरिन् । प्रचण्डसँग पनि होटल सोल्टीमै निर्वाचनमा वाम गठबन्धनले जितेकोमा उनले बधाई दिइन् । ओली र प्रचण्डसँगको भेटमा सुष्माको चासो दुई पार्टीबीचको एकतामा पनि थियो । तर उनले आफूहरु अब सहकार्य गरेर अघि बढ्न तयार रहेको सन्देश प्रचण्डलाई पनि दिइन् । चुनावपछिको नेपालको परिस्थिति र नयाँ सरकार गठनबारेमा प्रचण्डको भेटमा उनले चासो राखेकी थिइन् ।
वर्तमान परिस्थितिमा नेपालको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषयमा समेत उनले चासो दिइन् । भारतीय अर्थमन्त्री अरुण जेट्लीले नयाँ बजेटमार्फत नेपालको सहयोग ७० प्रतिशतले बढाएको घोषणा गरेको भोलिपल्ट नेपालको स्थायित्व र विकासका लागि सहयोग गर्न भारत तयार रहेको आश्वासन उनले दिइन् ।
नेपाली कांग्रेसः विदेशमन्त्री स्वराजले अन्तिम भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेकी थिइन् । देउवासँगको भेटपछि उनी सोझै एयरपोर्ट पुगेर स्वदेश फर्किएकी छन् । उनले प्रधानमन्त्रीलाई नयाँ संविधान बनेपछि तीनै तहका निर्वाचन गराएको बधाई दिन नेपाल आएको बताएकी थिइन् ।
प्रधामन्त्री देउवासँग दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउन दुवै पक्षले गर्नुपर्ने कामबारे पनि बैठकमा कुराकानी भएको थियो । प्रधानमन्त्रीसँगको भेटवार्तामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका मन्त्री र कांग्रेसका अन्य नेताहरु समेत रहेका थिए ।
राष्ट्रपतिः राष्ट्रपति विद्यादेवी भण्डारी र स्वराजबीचको भेटमा दुई देशको सम्बन्ध सुधारबारे कुराकानी भएको बताइएको छ । उनले राष्ट्रपतिलाई भेट्नेबित्तिकै देशमा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा बधाई दिइन् । उनले नेपाल र भारतबीच परम्परादेखि बहुआयामिक सम्बन्ध रहेको बताउँदै यसलाई अझै घनिष्ठ बनाउन आफू नेपाल आएको प्रष्टोक्ति राष्ट्रपतिसमक्ष दिएकी थिइन् ।
फोरमः सोल्टी होटलमा संघीय समाजवादी फोरमका अध्यक्ष यादवसँग उनले ‘वान टु वान’ भेट गरिन् । स्वराज र यादवबीचमा नयाँ सरकार गठनदेखि संविधान संशोधनका विषयमा शुक्रबार आधा घण्टा छलफल भयो । उनले २ नम्बर प्रदेशको सरकार निर्माणबारेमा बढी चासो राखेकी थिइन् । उनको चासो सरकार प्रमुखबारेमा पनि थियो । प्रदेश २ को मुख्यमन्त्री चयनबारे स्वराजले चासो दिएकी यादवनिकट स्रोतले जनाएको छ। त्यसैगरी वाम गठबन्धनको सरकारमा गएर संविधान संशोधनको मुद्दा अघि बढाउने सुझाव पनि स्वराजले मोदीको तर्फबाट दिएकी छन् ।
यादवसँगको भेटमा नेपालको नयाँ संविधान सशोधनका मुद्दा सम्बोधन नभएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन । ‘नयाँ जनादेश प्राप्त भएको अवस्थामा संविधान संशोधनको मुद्दा कसरी अगाडि बढाउनु हुन्छ?’, यादवलाई स्वराजले सोधेकी थिइन् । मधेसवादी दलसँगको भेटमा स्वराजले संविधानको कुरा उठाएर अझै पनि स्वीकार्न नसकेको जनाउ दिएकी छन् । भारतले नेपालको नयाँ जनादेशको स्वागत गरे पनि नयाँ संविधानको भने अहिलेसम्म औपचारिक स्वागतमा बोलेको छैन ।
राजपाः राजपाका नेतासँगको भेटमा स्वराजले प्रदेश २ को विकासमा भारतले जस्तोसुकै सहयोग गर्न तयार रहेको आश्वासन दिएकी छन् । उनले नेता महन्थ ठाकुरसहितको सामुहिक भेटका क्रममा राजपा र फोरमबीच एकता गर्न पनि सुझाव दिइन् । त्यस क्रममा उनले नेपालको संविधानमा मधेसीका मुद्दा समावेश नभइसकेको संकेत गर्दै नयाँ जनादेशपछि त्यो मुद्दालाई अघि बढाउनेबारे पनि छलफल गरेकी थिइन् ।
फोरम र राजपाका नेतासँगको भेटका क्रममा उनले मधेसवादी दलले निर्वाचनबाट ल्याएको परिणामले आफु खुसी भएको बताएकी थिइन् । निर्वाचन परिणामबाट भारत खुसी भएको सन्देशसँगै एकता गरेर अघि बढ्न सुझाएकी स्वराजले मधेसको मुद्दाबाट नेपालमा अझै राजनीतिक अस्थिरता खोजेको भारतीय दृष्टिकोण पनि छरपष्ट पारिन् ।