काठमाडौँ, १८ माघ – लामो समय फेसबुक च्याटमा प्रेमिल कुराकानी गर्दै आइरहेका जोडीमध्ये केटा साथीले एकदिन ‘हामीले च्याटमा मात्र कुराकानी गर्यौँ, आज अनुहार हेराहेर गरेर कुरा गरौं न,’ भन्ने प्रस्ताव राखे। केटी त्यही दिनको प्रतीक्षामा थिइन्, शायद। उनी श्रृंगारपटार गरिवरि भिडियो च्याटका निम्ति स्क्रिन अगाडि अाउन तम्तयार भइन्। लामो समयसम्म म्यासेन्जरमार्फत् मायाप्रीतिका गफ लगाइरहेका केटा साथीको अनुहार हेर्दै कुरा गर्न हौसिएकी उनी भिडियो च्याट मात्र के अन भएको थियो, उनी झण्डै मुर्छा परिन्।
‘भिडियो च्याट अन हुनासाथ उतापट्टि प्रेमीको रुपमा भिडियोमा देखिएका पुरुष आफ्नै बुबा थिए,’ इन्टरनेटले कसरी यौन हिंसा बढाइरहेको छ भन्नेबारे अध्ययन गरिरहेकी भ्वाइस अफ चिल्ड्रेनकी वरिष्ठ कार्यक्रम अधिकृत कृति भटराई हेटौंडाको घटना सुनाउँदै भनिन्, ‘लामो समयसम्म फेसबुकबाट प्रेम प्रस्ताव राख्ने केटा पल्लो कोठामा रहेका आफ्नै बुबा हुन् भनेर त्यतिन्जेल न केटीले थाहा पाइन्, न बुवाले छोरीसँग च्याट गरिरहेको भेऊ पाए।’
दुवैले अर्कैको तस्वीर राखी छद्म नाममा खोलिएको फेसबुक अकाउन्टबाट च्याट गरिरहेकोले ती दुवैलाई एकअर्काको वास्तविकता थाहा थिएन। ती अरुले झैँ म्यासेन्जरमार्फत् भर्चुअल संसारको आनन्द उठाइरहेका थिए। ‘हामीले भर्खर फेसबुकजस्ता सामाजिक सञ्जाल चलाउन सिकिरहेका छौं। हातमा स्मार्टफोन आउन थालेको पनि धेरै भएको छैन। सामाजिक सञ्जालले मान्छेलाई जोड्ने मात्र होइन, सम्बन्ध भत्काउने काम पनि गरिरहेको छ,’ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का साइबर क्राइम ब्रान्च प्रमुख एसपी नवीन अर्याल भन्छन्, ‘त्यसैले हामीकहाँ इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको छ।’
सिआइबीको साइबर क्राइम ब्रान्चमा २०७३ असारदेखि २०७४ माघ १७ सम्म दर्ता भएका अपराध रेकर्डमा सामाजिक सन्जालबाट हुने चरित्र हत्यासम्बन्धी उजुरी सबैभन्दा बढी छ। कुल ४० मध्ये २८ त फेसबुकमार्फत चरित्रहत्या गरिएका उजुरी दर्ता भएका छन्।
नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या ठूलो छ। इन्टरनेट वल्र्डले नेपालमा गरेको अध्ययनमा २०११ को फेब्रुअरीसम्ममा ८ लाख ८१ हजार १६० जना फेसबुक प्रयोगकर्ता थिए भने २०१७ को जुन महिना सम्ममा त्यो संख्या बढेर ६४ लाख पुगिसकेको थियो। नेपाल दूरसंचार प्राधिकरणको तथ्यांक अनुसार अहिले जनसंख्याको करिब ७० प्रतिशत जति मान्छे इन्टरनेटको पहुँचमा पुगिसकेको छ। हरेक दिन करिब ७ हजार नयाँ ग्राहक थपिइरहेका छन्। जति इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन्, प्रहरीकहाँ इन्टरनेटको माध्यमबाट भइरहेका अपराधका घटनाका उजुरी पनि त्यही अनुपातमा बढिरहेको देखिन्छ।
इन्टरनेटबाट अपराध गर्ने अभियुक्तहरुको शैली पनि थरिथरिका देखिन्छन्। २ वर्षअघि हेटौंडाबाट पक्राउ परेका २९ वर्षीय निरजकुमार चौधरीले होटलमा नसालु पदार्थ खुवाई खिचिएका काठमाडौँकी एक फेसबुके साथीको नग्न तस्वीर केटीसाथीको फ्रेन्ड लिस्टमा रहेका आफन्तलाई पठाइरहेका थिए। वैदेशिक रोजगारीका लागि सउदी अरब गएका चौधरीले त्यहीँबाट फेसबुकमा नजिकिएकी ती युवतीलाई काठमाडौँको एक होटेलमा बोलाइ आपत्तिजनक तस्वीर खिचेका थिए। उनले त्यही तस्वीर देखाउँदै यौन सम्पर्क राख्न दबाब दिने र नमानेपछि ती तस्वीर केटीको फ्रेण्डलिस्टमा रहेका उनका आफन्तलाई पठाइदिँदै ब्ल्याकमेलिङ गरिरहेका थिए। हेटौंडा नगरपालिका–८ का उनलाई सिआइबी टोलीले हेटौंडाबाटै पक्राउ गरेको थियो।
ग्रुमिङ गर्ने, सेक्स अफर राख्ने
गएको वर्ष भ्वाइस अफ चिल्ड्रेनले काठमाडौँका सरकारी, सामुदायिक र निजी विद्यालयका ४५२ जना विद्यार्थीबीच ‘अनलाइनबाट बालबालिकामाथि यौन दुर्व्यवहार‘ विषयमा सर्वेक्षण गरेको थियो। सर्वेक्षणले फेसबुकमा बरालिने विद्यार्थीहरुको संख्या ठूलो रहेको निष्कर्ष निकालेको थियो। सर्वेक्षणमा संलग्न ५ देखि १२ वर्ष उमेर समूहका ती विद्यार्थीमध्ये ७२.१ प्रतिशतले फेसबुक आइडी रहेको स्वीकारेका थिए।
‘एकजना विद्यार्थीले चार–चार वटासम्म पनि फेसबुक आइडी चलाइरहेको पाइयो। ‘अधिकांशलाई इन्टरनेटबाट यौन दुर्व्यवहार हुन्छ भन्ने समेत थाहा छैन,’ सर्वेक्षणमा संलग्न कृति भन्छिन्, ‘बच्चालाई त थाहा छैन नै, तिनका अभिभावकलाई समेत यसबारे जानकारी छैन।’
सर्वेक्षणमा सहभागी केही विद्यार्थीले आफूहरुले सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार भोगेको बताएका छन्। होमवर्क सकेपछि फेसबुक र भाइबर च्याट, अनलाइन गेम खेल्न अनि गीत सुन्न रुचाउने यी विद्यार्थीमध्ये केहीले इन्टरनेटमा पोर्न मुभी र तस्वीर समेत हेर्ने गरेको स्वीकारेका छन्। यसले पनि इन्टरनेट र सामाजिक संजालले हाम्रो समाजलाई कता डोहोर्याइरहेको छ भन्ने बुझ्न सघाउँछ।
यस्ता बच्चासँग सामाजिक सञ्जालमार्फत् कुरा गर्ने को हो, थाहा हुँदैन। पहिला ‘फ्रेन्ड रिक्वेष्ट’ पठाइन्छ, स्वीकारिएपछि कुराकानी बढ्दै जान्छ। च्याटले सम्बन्धको स्वरुप धारण गरेपछि डेटिङका लागि एकान्त थलोमा बोलाइन्छ। सुरुमै सेक्स प्रस्ताव राखिँदैन। त्यसअघि ‘ग्रुमिङ’ अनेकन प्रपञ्च रचिन्छ। जन्मदिनमा अनलाइन सपिङबाट घरमै केक र उपहार पठाइदिने अनि बालबालिकाले कसरी बोल्छन्, कसरी सोच्छन् त्यसरी नै तिनलाई मनोवैज्ञानिक रुपले प्रभावमा पार्दै लगिन्छ।
कुराकानीको क्रममा च्याटबाट तस्वीर आदानप्रदान गरिन्छ। त्यसरी पठाइएका कतिपय आपत्तिजनक तस्वीर र गोप्य कुराकानीलाई नै ब्ल्याकमेलिङको आधार बनाइने गरेको देखिन्छ। भेट्न बोलाइ यौन सम्पर्क गर्न आनाकानी गरे तस्वीर र च्याटको स्क्रिनसट सामाजिक संजालमा सेयर गरिदिने धम्की दिइन्छ। यस्ता सम्बन्धको अन्तर्यमा यौन नै देखिन्छ, माध्यमचाहिँ इन्टरनेट भइदिएको छ। यसरी अनलाइनमा पासो थापेर बस्नेमा युवादेखि पाका उमेर सम्मका मानिस समेत देखिन्छन्।
‘सामाजिक सञ्जालमा जति धेरै साथी बनायो, त्यति नै बढी गर्व गर्ने संस्कार भएको हामीकहाँ नचिनेका मान्छेलाई समेत नसोचिकनै साथी बनाइरहेका हुन्छौं,’ प्रहरीले इन्टरनेटबाट हुने अपराध तदारुकताका साथ हेरिरहेको बताउने सिआइबीका प्रवक्ता जीवनकुमार श्रेष्ठ भन्छन्, ‘सकिन्छ भने स्कुल पढ्ने बच्चालाई फेसबुक जस्ता सामाजिक सञ्जालमा पस्नै नदिएको बेस।’
च्याटबाटै यौन दुर्व्यवहार
डरलाग्दो तथ्य के हो भने इन्टरनेटमार्फत यौन दुर्व्यवहारका शिकार हुनेमा नाबालकहरुको संख्या उल्लेख्य छ। १६ असारमा भक्तपुरको ठिमीमा ७ वर्षीया बालिका बलात्कृत भइन्। बलात्कारको अभियोगमा प्रहरीले काभ्रेका २२ वर्षीय सुमन लामालाई पक्राउ गरेको छ। ४ महिना बित्न नपाउँदै सोही स्थाननजिकै कटुन्जेमा १३ वर्षीय बालिका आफ्नै साथीबाट बलात्कृत भइन्। उनलाई सोही ठाँउमा बस्ने राज चौधरीले बलात्कार गरेको प्रहरीले बताएको छ।
१८ माघमा कान्तिपुर दैनिकमा प्रकाशित रिपोर्ट अनुसार, जिल्ला प्रहरी कार्यालय भक्तपुरमा दर्ता भएका ८ उजुरी मध्ये ६ वटा बालिकामाथि यौन दुर्व्यवहारका छन्। गत वर्ष भक्तपुरमा बलात्कारसम्बन्धी परेका १६ वटा उजुरीमध्ये ९ वटा घटनाका पीडित ९ जना ४ देखि १३ वर्ष बीचका बालिकाहरु थिए। यी यौन दुर्व्यवहारका घटना कहीँ न कहीँ इन्टरनेट संस्कृतिमा गएर ठोक्किएको प्रहरीले स्वीकारेको छ।
इन्टरनेटमा बरालिने यस्ता तन्नेरीलाई पासो थापेर ढुकिरहेकाहरुले नै सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका हुन्। सन २०११ मा प्रहरीले पक्राउ गरेको २१ वर्षीय श्यामप्रसाद तिमिल्सिनाले धेरैओटा फेसबुक आइडी बनाइ युवतीहरुलाई साथी बनाउने र त्यसपछि अश्लील भिडियो र तस्वीर पठाएर हैरान पारिरहेका थिए। अनलाइन म्यासेज मात्र होइन फोन कल र म्यासेज समेत पठाएर सताउने उनीविरुद्ध एक पीडित युवतीले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो।
देश बाहिर आँखा लगाउने हो भने सामाजिक सञ्जालका कारण हत्या समेत हुने गरेका उदाहरण भेटिन्छन्। सन २००९ मा बेलायतका ३५ वर्षीय युवाले १६ वर्षीया फेसबुके साथीलाई म्यासेज गरेर बोलाइ बलात्कारपछि हत्या गरेका थिए। सन २०१० मा चापमेन नामक ती व्यक्तिलाई अपहरण, बलात्कार र हत्याको अभियोगमा ३५ वर्ष जेलसजाय गरिएको छ। यस्ता घटनाले विश्वभर ‘सामाजिक सञ्जालको डरलाग्दो पाटो’ माथि बहस सिर्जना गरिरहेको छ।
सन् २०१२ मा सार्वजनिक भएको एक रिपोर्टमा बेलायतमा हरेक ४० मिनटको अन्तरालमा फेसबुकलाई माध्यम बनाई अपराध भइरहेको देखाएको थियो। त्यहाँ सन् २०११ मा दर्ता गरिएका हत्यादेखि यौन दुर्व्यवहार सम्बन्धी १२ हजार ३०० अपराध फेसबुकसंग सम्बन्धित थियो। नेपालमा अहिलेसम्म सामाजिक सञ्जालमार्फत् हत्या जस्तो जघन्य अपराध नभएपनि यौन दुर्व्यवहार र हिंसा चाहिँ प्रशस्त भएको प्रहरीको उजुरीले पनि देखाउँछ।
अहिलेको प्रविधिमय समयमा बच्चालाई ‘इन्टरनेट नचलाऊ’ भन्दा पनि कसरी यसको दुरुपयोगबाट बच्ने र बचाउने भन्नेमा अभिभावकमै चेतनास्तर बढ्न जरुरी ठान्छिन् कृति। उनको सुझावमा इन्टरनेटमा भएका ‘प्यारेन्टल कन्ट्रोल सिस्टम’बारे अभिभावकलाई ज्ञान हुन जरुरी छ। इन्टरनेटमा बच्चाले के हेरिरहेका छन् चनाखो भइ निगरानी बढाउन जरुरी छ। घरमा कम्प्युटर जोडिदिए केटाकेटी बाहिर कतै जाँदैनन्, भुल्छन् भन्ने हाम्रो सोचाइ गलत छ।
‘हामी घरभित्र बच्चा सुरक्षित हुन्छन् भनेर तिनको हातमा ल्यापटप, आइप्याड र स्मार्टफोन थमाइदिएर ढुक्क हुन्छौं,’ कृति भन्छिन्, ‘तर हामीले के बुझेका छैनौँ भने सेन्सर बिनाको इन्टरनेटको पहुँचले बच्चाहरु घरभित्रै झन बढी असुरक्षित बन्दै गएका छन्।’ नेपालखवर
डेटिङ च्याटमा बाबु-छोरी नै हुनथाले आमने-सामने
Previous Articleभारतीय विदेशमन्त्री काठमाडौँमा,पहिलो भेट ओलीसँग
Next Article गोरखा र व्यास नगरपालिका सेमिफाईनलमा