बागलुङ, १७ माघ- एमालेले राष्ट्रिय सभा निर्वाचन सम्पन्न नभएसम्म मुलुक र प्रदेशबाहिर नजान आफ्ना पार्टीका मतदातालाई निर्देशन दिएको छ । मतदानको समयमा अनुपस्थित गराउने चलखेल हुन सक्ने आशंका गर्दै पार्टीले तत्काल सबै कार्यक्रम रद्द गरी प्रदेशबाहिर जान रोक लगाएको हो ।
एमाले स्थायी समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेश सांसद, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरूलाई पार्टीको निर्देशन पालना गर्न भनेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि आगामी २४ गते मतदान हुँदै छ ।
राष्ट्रिय सभामा एकल संक्रमणीय निर्वाचन प्रणालीबाट सांसद चुनिने भएकाले पार्टीले मतदातालाई त्यसम्बन्धी तालिमसमेत दिने भएको छ । आउँदो २१ गते निर्वाचनको मौन अवधि सुरु हुनुअगावै तालिम दिइसक्न प्रदेश संगठन कमिटीलाई निर्देशन दिइएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।