भरतपुर, २१ पुस – पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त भएको बताएका छन् । ‘२४० वर्षसम्म शक्तिको स्रोत राजा महाराजालाई भनियो, जनतालाई त्यही सिकाइयो। उनीहरु कहिले चीनतिर ढल्किए, कहिले भारततिर फर्किए’ भरतपुर महानगरपालिकाको पहिलो नगरसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले हामी त्यो जमानामा छैनौं, गणतन्त्रको युगमा छौं, हामी कसैको अधिनस्थ छैनौं, सार्वभौम अधिकार जनतामा सुरक्षित छ। हामी बामपन्थीहरुको स्वतन्त्र विदेश नीति छ, त्यसैका आधारमा बामपन्थी सरकार अघि बढ्छ। हामी भारतपरस्त पनि होइनौं, चीनपरस्त पनि होइनौं, नेपाल परस्त मात्र हौं ।’
‘अघि कांग्रेसका नेताहरुले मलाई भावी प्रधानमन्त्री भन्नुभयो। तर, म गठबन्धनलाई बलियो बनाएर अघि बढ्ने पक्षमा छु’ प्रचण्डले भने, ‘तपाईं मिल्नेलाई मिल्न दिनुस्, फुटाउनेतिर नलाग्नुस्। हामी फुट्दा फुट्दा देशको दुर्गति भयो, अब देश बनाउने बेला आएको छ। हामी कम्युनिष्टहरु मिल्दा तपाईहरु पनि खुसी हुनुस्। बरु तपाईं कांग्रेसहरु पनि मिल्नुस्, मिल्दा मात्र देशको हित हुन्छ, विकास र समृद्धिको चाहना पूरा हुन्छ।’ ‘हामी सबै मिल्नेतिर लागौं, अब कसैलाई फुटाएर राजनीति गर्नेतिर नसोचौं। राजनीतिक क्रान्ति नयाँ चरणमा पुग्यौं, अब हाम्रो कार्यभार आर्थिक समृद्धि र विकास हो। ६० वर्ष पहिले हाम्रै हाराहारीमा रहेका मुलूकहरु धेरै अगाडि बढे’ प्रचण्डले भने, ‘हामीले अब गम्भीर रुपमा सोच्नुपर्छ, जनताले पटकपटक अवसर दिदैनन्, अहिले पनि जनताले दिएको अभिमतको सम्मान गर्न सकेनौं भने देश अप्ठ्यारोमा पर्न सक्छ। कर्मचारी साथीहरुले पनि आफूलाई जनताको शासक होइन, सेवक सम्झेर काम गर्नुस्।’
नगरसभामा मेयर रेनु दाहालले आर्थिक वर्ष २०७४र०७५ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तावित नीति, कार्यक्रममाथि शनिबारदेखि छलफल गर्ने कार्यतालिका रहेको छ।
हामी नेपाल परस्त हौं, भारत वा चीन परस्त होइनौं – प्रचण्ड
Previous Articleगलकोट नगरपालिकाद्धारा प्रथम चौमासिकको कार्यप्रगति सार्वजानिक
Next Article तोकिएन प्रदेश मुकाम र प्रमुख, सहमतीको प्रयास