बागलुङ, ७ पुस – नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता तथा भावी सरकारको स्वरूपबारे आन्तरिक तयारी थालेका छन् । एमालेले यही विषयमाथि छलफल गर्न शुक्रबार पार्टी स्थायी समितिको बैठक बोलाएको छ । माओवादीले दुई दिनअघि पार्टी हेडक्वार्टरको बैठकबाट छिटो एकता प्रक्रिया अघि बढाउने निर्णय गर्दै खाका तयार गर्न पार्टी नेतृत्वलाई जिम्मेवारी दिइसकेको छ ।पार्टी एकताको स्वरूपमा विभिन्न विकल्पबारे नेतृत्वबीच व्यक्तिगत तवरमा छलफल भइरहेको छ । एमालेले केही विकल्पमा सुझाव लिन शुक्रबारको बैठक बोलाएको हो ।
एमाले उपाध्यक्ष भीम रावलले बैठक सरकार र पार्टी एकता दुवै विषयमा केन्द्रित हुने जानकारी दिए । उनका अनुसार कुन विकल्प अपनाएर पार्टी एकता गर्ने भन्ने स्पष्ट भइसकेको छैन । दुवै पार्टीका नेताहरूको अनौपचारिक कुराअनुसार दुई दलका प्रमुख नेताले संयुक्त नेतृत्व गर्ने गरी पार्टी एकता गर्ने खालको विकल्पमा चर्चा भइरहेको छ ।
एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले यसको पुष्टि गरेका छन् । ‘पार्टी एकीकरणको विशेष अवस्थामा नेतृत्व एकल नहुन सक्छ । दुई पार्टी एक गर्ने संक्रमणकालीन अवस्था हो,’ नेता पोखरेलले भने, ‘यस्तो विशेष अवस्थामा संयुक्त नेतृत्वमा केही समय पार्टी चल्न सक्छ ।’ पोखरेलले दुई पार्टी एकता र नेतृत्वका विभिन्न मोडलमा छलफल भइरहेको जानकारी दिए ।
‘एकता महाधिवेशन नहुँदासम्म संयुक्त नेतृत्वमा पार्टीलाई लैजाने मोडलमा छलफल गरिरहेका छौं,’ उनले भने । एमालेभित्र पार्टी एकल नेतृत्वमा चलाउने कि संयुक्त नेतृत्वमा भन्नेमा फरक धारणा छन् । पार्टीभित्र बहुकेन्द्र बन्न सक्ने भएकाले सकेसम्म दुवै दल मिलेर एकल नेतृत्व नै स्थापित गर्नुपर्ने धारणा महासचिव ईश्वर पोखरेलको छ ।
उनले दुई दलको सहमतिमा अन्य विकल्पमा पनि जान सकिने धारणा पनि सँगसँगै राखिरहेका छन् । नेता माधवकुमार नेपालले भने सामूहिक नेतृत्वमा जान सकिने धारणा राखिरहेका छन् । एकता प्रक्रिया मुख्य भएकाले यसलाई भत्कन नदिन सामूहिक नेतृत्व प्रणाली आवश्यक पर्ने उनको पनि धारणा छ ।
माओवादीभित्र पनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक कार्यकारी पद लिनुपर्ने दबाब पुष्पकमल दाहालमाथि छ । दुई दिनअघिको बैठकमा पनि नेताहरूले दाहाललाई जसरी पनि एउटा कार्यकारी पद लिने गरी एकताको खाका बनाउन दबाब दिएका थिए । दुवै पार्टीमा रहेकाहरूको मनोबल उच्च राख्न पनि संयुक्त नेतृत्व गर्ने गरी अघि बढ्नु उपयुक्त हुने विकल्पमा बढ्ता जोड दिइरहेको स्रोतले बताएको छ ।
त्यसो त छलफलका क्रममा अध्यक्ष र प्रधानमन्त्रीको कार्यकाल आधा–आधा बाँड्ने विकल्प पनि आएका छन् । अध्यक्ष र सहअध्यक्षको अवधारणा पनि छ तर दुवैलाई ‘विन–विन’ को अवस्था हुने गरी एकीकरण गर्नुपर्ने बाध्यताले गर्दा संयुक्त नेतृत्वप्रति धेरैको चासो छ ।