बागलुङ, ५ पुस-सरकारले हुलाकी राजमार्ग वरिपरि दश नयाँ सहरको विकास गर्ने योजनालाई अगाडि बढाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाले हुलाकी राजमार्ग वरिपरि नयाँ सहर विकासका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया थालेको जानकारी सो आयोजनाका निर्देशक पराग कायस्थले दिए ।
सरकारले सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई मधेसको जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण गर्न लागिएको हुलाकी राजमार्गमा नयाँ दस सहरको विकास गर्न लागेको हो ।
उनका अनुसार छ वटा परामर्शदाताका लागि आवेदन आह्वान गरिएकोमा ४९ वटा आवेदन परेको र आर्थिक र प्राविधिक आधारमा सो आवेदनहरुको छनोट प्रक्रिया भइरहेको छ । पुस १४ गतेसम्म परामर्शदाता छनोट भई फागुन पहिलो सातादेखि एकीकृत विकास योजना निर्माण सुरु हुने जानकारी उनले जानकारी दिए । मङ्सिर २ गते परामर्शदाताका लागि आवेदन आह्वान गरिएको थियो ।
छनोट भएका परामर्शदाताले छ महिनाभित्र एकीकृत विकास योजनाको तर्जुमा गरी प्रतिवेदन बुझाउने छन् र सो प्रतिवेदन मन्त्रालयबाट स्वीकृत गराएर नयाँ सहर विकास कार्यलाई अगाडि बढाइने जानकारी उनले जानकारी दिए । यो आयोजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ८६ लाख रुपियाँ विनियोजन गरिएको छ । गोरखापत्र
Previous Articleजाँदाजाँदै आसेपासेलाई ८ करोड बाँड्दै देउवा
Next Article यस्तो छ गृह मन्त्रालयले प्रस्तावित गरेको वरीयता क्रम