बागलुङ, २३ मंसिर – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल २२ हजार मतान्तरले रुपन्देही क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। उनी ४४ हजार ९ मत प्राप्त गरी बुटवलबाट तेस्रो पटक विजयी भएका हुन्। पौडेलका प्रतिस्पर्धी युवराज गिरीले २१ हजार ९ सय ४६ मत प्राप्त गरे।
२०५६ सालको आम निर्वाचन यता पौडेल बुटवल र आसपासको क्षेत्र समेटिएको निर्वाचन क्षेत्रबाट लगातार उमेद्वार बन्दै आएका छन्। पहिलो पटक बुटवलबाट ०५६ सालमा तत्कालीन रुपन्देही ३ मा चुनाव लड्दा पौडेल कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका थिए।२०६४ सालमा संविधानसभाको चुनाव जितेयता उनी लगातार बुटवलमा हावी हुँदै आएका छन्। पहिलो संविधानसभामा कांग्रेसलाई तेस्रो स्थानमा छोडेर पौडेल माओवादीका उमेद्वारसँग थोरै मतान्तरले विजयी भएका थिए।
२०७० सालको संविधान सभाको चुनावमा एमालेका उमेद्वार विष्णु पौडेलसँग भिड्न माओवादीका बाबुराम भट्टराई गोरखाबाट आएका थिए। पूर्व प्रधानमन्त्रीको रुपमा भट्टराई गोरखासँगै बुटवलबाट पनि उमेद्वार बनेका थिए। तर बाबुराम भट्राईलाई कांग्रेस उम्मेदवार सूर्यप्रसाद प्रधानले पनि पछाडि पारे। सूर्यप्रसादलाई ६ हजारको अन्तरले पराजित गर्दै विष्णु पौडेल तत्कालीन रुपन्देही क्षेत्र नम्बर ४ बाट दोस्रो पटक विजयी भए।
यस्तै क्षेत्र नम्बर २ अन्तर्गतको दुवै प्रदेश क्षेत्रमा एमाले उमेद्वार विजयी भएका छन्। प्रदेशको क्षेत्र नम्बर २(क)मा लीला गिरी २१ हजार ७ सय ३४ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका काजीमान श्रेष्ठले ९ हजार ७ सय ७८ मत प्राप्त गरे। प्रदेश २(ख)मा एमालेकै भोजप्रसाद श्रेष्ठले २१ ह्जार १ सय ३७ मत प्राप्त गरी जीत हात पारे । उनका प्रतिस्पर्धी महेशमान सिंहले १२ हजार ५ सय ६८ मत ल्याए।
बुटवलमा एमालेका उपमहासचिव पौडेल तेस्रो पटक विजयी
Previous Articleधनुषा ३ मा राजेन्द्र महतो विजयी, निधि पराजित
Next Article पर्वतमा गठबन्धनका सबै उम्मेदवार बिजयी