तारानाथ आचार्य
बागलुङ, २१ मंसिर– देशमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको छ । यही समयमा लैंगिक हिंसाका घटना बढ्दो दरमा सार्वजनिक भैरहेका छन् । दिन दुई गुना र रात चौगुनाले बढ्दै गएको हिंसाले समाजमा विकराल रुप लिइरहेको छ । घटना बढेको भन्दा चेतना बिकासको कारण हिंसाका घटनाहरु सार्वजानिक भैरहेका हुन । पछिल्लो चार महिनामा बागलुङमा भएका सम्बन्ध बिच्छेदका घटनालाई अध्ययन गर्ने हा भने हिंसाको शिकार भएका महिला तथा पुरुष दुबैले न्यायिक बाटो खोज्न थालेको देखीन्छ ।
जिल्ला अदालत बागलुङको तथ्याङक अनुसार, पछिल्लो चार महिनामा मात्रै जिल्लामा २९ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । जीवनको महत्वपूर्ण निर्णयको रुपमा मानिने बैबाहिक निर्णय गर्दा राम्रो सँग बिचार गर्न नसक्नु र बैबाहिक जीवनको महत्वलाई आत्मासाथ नगरी सामान्य शंकाहरुले ठुलो रुपधारण गर्दा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको अल्पकालिन महिला सेवा केन्द्र बागलुङका संयोजक शर्मिला थापाले बताईन् । बिषेष गरेर बैदेशिक रोजगारीमा रहेका युवाहरुको घरजम सम्बन्ध बिच्छेदको चरणमा पुग्ने गरेको उनको भनाई छ । ‘बिबाह पछि घरमा छोडेकी जीवन साथीलाई साना तिना कुरामा शंका गरेर यातना दिने गरेका घटना हामीकहाँ आउने गरेका छन् ’ थापाले भनिन ‘यस्ता घटनाहरुकै कारण एउटा राम्रो बनेको घर भताभुङ्ग हुने गरेको छ ।’ सम्बन्ध बिच्छेदको मुख्य कारण हिंसा नै भएको थापाको ठहर छ ।
पहिले पहिले महिलाहरुले जस्तो सुकै हिंसा पनि सहने गरेको र पछिल्लो समय महिलाहरु सचेत बनेर त्यस्ता घटनाहरुको न्याय खोज्न थालेको उनको भनाई छ । जिल्लामा भएका घटनाहरुलाइ नियाल्दा गत आर्थिक बर्षको अन्त सम्ममा जिल्ला अदालतमा १ सय ३८ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । यो संख्या निकै ठुलो भएको एड्भोकेसी फोरमका संयोजक राम शर्माले बताए । पस्चिमाहरुको सिको गरेर एकल जीवनको बाटो रोज्नेहरुको जमात बढेकाले सम्बन्ध बिच्छेदले बढावा पाएको शर्माको भनाई छ । ‘महिलाहरुले पछिल्लो समय सामान्य रुपमा हुनु हिंसा समेत सहन छोडे ’ शर्माले भने ‘न्यायको खोजी गर्दै एकल जीवनको बाटो रोज्नेहरुको जमात बढेकाले सम्बन्ध बिच्छेदका घटना बढेका हुन ।’ सम्बन्ध बिच्छेदका घटनाबाट महिलाहरु पिडित हुने गरेको भए पनि पछिल्लो समय पुरुषहरु पनि यस्ता घटनाका सिकार हुने गरेका छन् ।
पछिल्लो समय बिदेशमा रहेका युवाहरु यस्ता घटनाहरुको शिकार हुने गरेको शर्माले बताए । ‘परिवारको गास बास र कपासको ग्यारेन्टी गर्न बिदेशीएका युवाहरु यस्ता घटनाको सिकार हुने गरेका छन् ’ शर्माले भने ‘अर्को जीवनको आधारभूत आवस्यकता सहबासका कारण सम्बन्धहरुमा खटपट आउने गरेका छन् ।’ जिल्लामा दर्ता भएर सम्बन्ध बिच्छेद हुने घटनाहरुमा अधिकांश बैदेशीक रोजगार सँग जोडीएका युवा युवतीका मुद्दा हुने गरेको उनको अनुभव छ । ‘बिदेशमा दुख गरेर कमाएको सम्पत्ति सहित सम्बन्ध बिच्छेद गर्न युवा बाध्य छन्’ शर्मा भन्छन् ‘सुन्दर परिवारको सपना बोकेर बिदेशीने युवाहरुनै नजानिदो हिंसाको सिकार बन्ने गरेका छन् ।’