मंगलबार एकाबिहानै काठमाडौंका निजी विद्यालय बमले आतंकित बने । राजधानीका निजी विद्यालयमा बम राखेको घटना सामाजिक सञ्जालमा आएपछि एकाएक देशभरको जनजीवन आतंकित बन्न पुग्यो । देशमा १२ वर्षे सशस्त्र युद्व समाप्त भएपनि विभिन्न पार्टी र मोर्चा संगठनको नाममा जनजीवन आतंकित बनाउने काम भने रोकिएको छैन । पार्टीको आवरणमा अहिले पनि केही आपराधिक समूहले बम आतंक मच्चाउने काम भएको छ । राजधानीमा भएको मंगलबारको बम आतंकको घटना पनि एक उदाहरण हो । पाटीको नाम बेचेर केही आपराधिक समूहले चन्दा आतंक मच्चाईरहेका छन् । पाटीको नाम बेचेर चन्दा आतंक मच्चाउने कार्य आपराधिक गिरोहको व्यवसाय जस्तै बनेको छ । पार्टीका नाममा हुने यस्ता घटनाहरु समयमै रोक्न सकिएन भने यसले भविष्यमा भयवित रुपमा लिने छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपालका नाममा मंगलबार काठमाडौंका निजी विद्यालयमा बम आतंक मच्चाईएको छ । स्कुल बसमा आगजनी भएको दुई महिनापछि केन्द्र र फोर्सको नाममा उपत्यकाका झण्डै एक दर्जन स्कुललाई लक्षित गरेर बम र शंस्कापद बस्तुहरु राखेका तथ्य खुलेको छ । घटनास्थलमा त्यही पुरानै संगठनको पर्चा भेटिनुले आतंक मच्चाएर मोटो रकम चन्दा उठाउने उदेश्य रहेको प्रष्ट हुन्छ । विगतमा यस्ता घटना भएपछि विद्यार्थी संगठनका नाममा चन्दा माग्नेहरु आउने विगतका घटनाले देखाउँछ । विद्यार्थी संगठनको नाममा चन्दा माग्ने गिरोह बढी सक्रिय भएको यस घटनाले उजागार गर्छ । बम आतंक मच्चाउने केन्द्र र फोर्सका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । विद्यालय शान्ति क्षेत्र हुन् । देश निर्माता उत्पादन गर्ने शिक्षण संस्थामा बम आतंक मच्चाउनु अक्षम्य अपराध हो । त्यसैले यस्ता अमानवीय क्रियाकलाप संलग्न हुने जो–कोहीलाई उन्मुक्ति दिनु हुँदैन । आतंक मच्चाउने गिरोहको समुल नष्ट गर्नको लागि सरकारले कडा कदम चाल्नु पर्छ ।
बढ्दो चन्दा आतंक र आतंकित गतिविधिका कारण बालबालिकाहरुले निर्धक्क भएर पठनपाठन गर्न पाएका छैनन् । आतंकको छाया पठनपाठन गर्दा दक्ष जनशक्ति उत्पादन गर्न सकिदैन । त्यसैले शिक्षण संस्थाहरुलाई भयरहित बनाउनको लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न जरुरी छ । सरकारले भरपर्दाे शान्ति सुरक्षाको व्यवस्था नगर्ने होभने विद्यालय संचालनमा समेत कठिनाई हुन्छ । सरकारले विद्यालयमा सुरक्षाको भरपर्दाे व्यवस्था गरेको भए सायद बम आतंक निम्तने थिएन । राजनीतिक दल सम्बद्व भातृ संगठनहरुले अनेकन मागेर रोखर धम्की दिने गरेको भन्दै शिक्षण संस्था संचालक संस्थाहरुले बताउँदै आएका छन् । यस्ता अवाञ्छित गतिविधिलाई निरुत्साहित गर्नको लागि स्वयम् विद्यार्थी संगठन परिचालित हुनुपर्छ । सरकारले बम आतंक मच्चाउनेलाई कानुनी कार्वाहीको दायरामा ल्याई विद्यार्थीले भयरहित वातावरणमा पढ्न पाउने व्यवस्थाको ग्यारेन्टी गर्न जरुरी छ ।
Previous Article५ असोज २०७३, ढोरपाटन दैनिक
Next Article ५ असोज २०७३, राशीफल, तपाईको आज