पोखरा, १३ मंसिर – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाएका छन्। बुधबार पोखराको अमरसिंह चोकमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टसँग जनता हिजो पनि डराउने अवस्था रहेको र जिते भने भोलि पनि डराउने दिन आउने आरोप लगाए।
प्रधानमन्त्री देउवाले जनतासँग शासन बदल्ने कि राख्ने भन्ने अधिकार भएकाले जनतादेखि नेता डराउने शासनको विपक्षमा उभिनुपर्ने बताए। वाम गठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र सम्पत्तिको अधिकार नहुने भन्दै उनले वाम गठन्धनको लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको आरोप लगाए।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले संसारमै असफल साम्यवादको नाममा नेपाललाई फोहोर थुपार्ने कण्टेनर बनाउन लागेको बताए। स्थानीय निकायको निर्वाचनबाट केही अगाडि देखिनासाथ एमालेले बहुदलीय मान्यतालाई तिलाञ्जलि दिएर साम्यवाद अंगाल्न पुगेको जिकिर नेता पौडेलको थियो।