बागलुङ, ११ मंसिर – पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ३२ जिल्लामा आइतबार मतदान सम्पन्न भएको छ । पहिलो चरणका १११ जनप्रतिनिधिका लागि ७०२ उम्मेदवार चुनावी मैदानमा छन् ।
जनमतको कसीमा सात सयभन्दा बढी उम्मेदवार उभिएका भए पनि केही निर्वाचन क्षेत्र गठबन्धनको अभ्यास, उम्मेदवारको व्यक्तित्व र राजनीतिक टकरावका कारण सबैको चासोको केन्द्रमा छ । उम्मेदवारीपछि सुरू भएको विवाद, आरोप प्रत्यारोप र सम्भवित नतिजाबारे आआफ्ना विश्लेषण छन् ।
पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमध्ये बहुचर्चित क्षेत्र हो गोरखा-२ । जहाँ लोकतान्त्रिक गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वाम गठबन्धनका तर्फबाट नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन । कुनै समयमा एकै पार्टीका सहयोद्धा भट्टराई र श्रेष्ठबीचको प्रतिस्पर्धा रोचक छ । पछिल्लो पटक वाम उम्मेदवार श्रेष्ठको पक्षमा केही बुद्धीजीवीले जिताउन अपिल नै जारी गरेपछि यो क्षेत्र थप चर्चामा छ । चुनावी सभाका क्रममा भएका घोचपेचले माहोल तरङ्गित छ । पूर्वप्रधानमन्त्री भट्टराई र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष श्रेष्ठको चुनावी नतिजा सबैका लागि चासोको केन्द्रमा छ ।
सिन्धुपाल्चोकका दुवै निर्वाचन पनि चासोका केन्द्रका छन् । अन्तिम पटकका लागि भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा काँग्रेसको सहयोगमा सिन्धुपाल्चोक २ मा प्रतिस्पर्धामा छन । चार वर्षअघि २०७० को संविधानसभा सदस्यमा सिन्धुपाल्चोक ३ बाट पराजित राणाले यो पटक क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन । क्षेत्र फरक भछन । पनि भूगोल र प्रतिस्पर्धी एकै हुन् । २०७० मा राणालाई पराजित गरेका एमालेका शेरबहादुर तामाङ नै यो पटक पनि उक्त क्षेत्रमा उम्मेदवार छन ।
सिन्धुपाल्चोक २ को चुनावी परिणाम सबैको चासोको विषय छ । सिन्धुपाल्चोक २ जस्तै १ मा पनि चुनावी माहोल तातेको छ । विशेषगरी चुनाव प्रचारका क्रममा उम्मेदवारले व्यक्त गरेको अभिव्यक्तिका कारण सिन्धुपाल्चोक १ तरङ्गित छ । बहालवाला सञ्चारमन्त्री मोहन बस्नेत लोकतान्त्रिक गठबन्धन र पूर्वसञ्चारमन्त्री अग्नि सापकोटा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन ।
२०७० को संविधानसभा सदस्य निर्वाचनमा पार्टीको अप्रत्याशित नजिता आउँदा सापकोटा तत्कालीन बागमती अञ्चलबाटै माओवादीबाट निर्वाचित हुने एक मात्र सांसद् हुन । बस्नेत पनि यसअघि सिन्धुपाल्चोक १ को सोही क्षेत्रबाट निवाचित जनप्रतिनिधि हुन । दुवैको चुनावी भिडन्त रोचक छ । मतपरिणाम प्रतिस्पर्धी हुने आँकलन गरिएको छ ।
नुवाकोटका दुवै क्षेत्रको चुनावी परिणामलाई पनि चासोका साथ हेरिएको छ । नुवकोटबाट लगातार निर्वाचित हुँदै पटक पटक मन्त्री बन्नुभएका डा. रामशरण महत यो पटक पनि नुवाकोट १ बाटै प्रतिस्पर्धामा छन । महतसँग दुई पटक पराजित हुनुभएका हितबहादुर तामाङ वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन । गठबन्धनका कारण यो पटकको नतिजालाई निकै चासोका साथ हेरिएको छ । काँग्रेसकै अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसी पनि नुवाकोट २ मा प्रतिस्पर्धामा छन । वाम गठबन्धनले नारायणप्रसाद खतिवडालाई उम्मेदवार बनाएको छ । यो क्षेत्रको नतिजा पनि रोचक हुने आँकलन छ । त्यस्तै पाँचथरबाट कांग्रेसका भीष्मराज आङदेम्बे र एमालेका बसन्त नेम्वाङ तथा सोलुृखुम्बुको कांग्रेसका बलबहादुर केसीको भाग्य फैसला पनि यसै चुनावले गर्दै छ । सोलुखुम्बुका हरेक चुनाव जित्दै आएका केसीसँग माओवादीका हेमकुमार राई प्रतिस्पर्धामा छन् ।
ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार पनि आमने सामने भएका छन् । खतिवडा र सुनुवार दुबै नेता उत्तिकै चर्चित छन् । युवामाझ लोकप्रिय यी दुई नेतामध्ये कसको पक्षमा चुनावी परिणाम जाला भन्ने चासो छ ।
माओवादी नेताहरु देव गुरुङ, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीको भाग्य फैसला पनि पहिलो चरणको निर्वाचनबाट हुँदैछ । यी पाँचै जना माओवादी नेताहरुका प्रतिस्पर्धा नेपाली कांग्रेससँग छ । ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई र कांग्रेसका केशव दाहाल उम्मेदवार छन् । उनीहरुको प्रतिस्पर्धा पनि रोचक हुने अनुमान गरिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङका मतदाताले भट्टराई र दाहालमध्ये कसलाई जिताउलान् हेर्न बाँकी छ ।
यी चर्चित नेता, जसको मतपरिणाममा छ सबैको चासो
Previous Article६५ प्रतिशत मतदान, कहाँ कति खस्यो ?
Next Article ११ मंसिर २०७४ ढोरपाटन दैनिक