बुटवल, ६ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस कार्यकर्ताहरुलाई वाम गठबन्धनको लोकतन्त्रप्रतिको प्रतिवद्धतामा विश्वास गर्न आग्रह गर्दै वाम गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । बुटवलमा बुधवार भएको संयुक्त वाम गठबन्धनको चुनावी सभालाई संबोधन गर्दै अध्यक्ष ओलीले वाम गठवन्धनको सरकार बनेरै छाड्ने भन्दै अब कांग्रेस कार्यकर्ताहरुले वाम गठबन्धनमा मतदान गर्न आग्रह गरे ।
उनले भने, ‘काँग्रेसका कार्यकर्ताहरु तपाईहरुले पनि वाम गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्नुहोस्, खेर जाँदैन, यो चुनावी महायज्ञमा तपाईहरुको पनि थोरै मात्रामा चरु होम भएको हुन्छ, तपाईका सन्ततीहरुको भविष्य सुन्दर हुन्छ ।
उनले आगामी निर्वाचनपछि जनताले तीव्र गतिको विकासको अनुभुत गर्ने गरी सरकार बन्ने दावी उनले गरे । ‘निर्वाचनमा वाम गठबन्धनले अत्यधिक बहुमत ल्याएर सरकार बनाउछ र त्यो सरकारले सरकार कस्तो हुने रहेछ भन्ने देखाउँछ’ उनले भने । एमाले अध्यक्ष ओलीले २००७ साल यता देशले पाँच वर्ष टिक्ने स्थिर सरकार नपाएको उल्लेख गर्दै अब सरकार नढल्ने गरी बहुमत ल्याएर स्थिर सरकार निर्माण हुने र जनतालाई विकासको अनुभुति दिलाउने गरी काम गरिने दावी गरे ।
विगतमा देश विकासका लागि चर्चामा ल्याइएका पूर्व-पश्चिम सडक ६ लेनका बनाउने, पूर्व-पश्चिम रेल गुडाउनेदेखि विभिन्न विकासका काम द्रुर्त गतिमा गर्ने भन्दै उनले संयुक्र राष्ट संघले भनेको दिगो विकास लक्ष्य प्राप्त गर्ने गरी काम हुने बताए ।
अध्यक्ष ओलीले देशमा लामो समय कांग्रेसले सत्ता सञ्चालन गरेको र उसकै पालामा देशका उद्योगधन्दा बन्द भएर लाखाैं युवा विदेश पलायन हुनुपरेको बताए । साथै उनले वामपन्थीको सरकार आयो भने अर्थतन्त्र बिग्रिन्छ भन्ने भ्रम नफैलाउन चेतावनी दिए । उद्योग धन्दा बन्द गराउने, बिक्रि गरेर खाने, मेडिकल कलेज खोल्न नदिएर विद्यार्थी विदेश पठाउनेहरुले लोकतन्त्रको कुरा गर्न नसुहाउनै भन्दै उनले अदक्ष श्रमशक्ति सप्लायर्स गर्ने देशका रुपमा परिणत गर्न चाहेको अरोप लगाए । ओलीले देशको आर्थिक विकासका लागि माथिल्लो तहबाटै भ्रष्टाचारको अन्त्य गरिने दावी गदै गरे ।
देउवालाई बढी गफ नगर्न सुझाव
कांग्रेसले वाम गठबन्धनलाई लोकतन्त्र बिरोधीको आरोप लगाएको सन्दर्भमा अध्यक्ष ओलीले वामपन्थीले अरु कसैबाट लोकतन्त्रको प्रमाणपत्र लिनु नपर्ने बताए । आफूले २०४६ सालमा बुटवलको सडकमा लोकतन्त्रका लागि संघर्ष गर्दा कांग्रेस सभापति देउवा लन्डनको गल्लीमा घुमिरहेको उल्लेख गर्दै ओलीले भने, ‘वामपन्थीले कसैबाट लोकतन्त्रको प्रमाणपत्र लिनु पर्दैन, मैले लोकतन्त्रका लागि संघर्ष गर्दा देउवा लण्डन घुम्दै थिए । उहाँहरुका गफ अलि बढी भए, उहाँहरुलाई ठिक्कका साईजका गफ गर्न मेरो सुझाव छ ।’