काठमाण्डौ, ३ मंसिर – छोरा प्रकाश दाहालको आकस्मिक निधन भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी कार्यक्रम सकेर झापाबाट काठमाडौं फर्के। बल्खुस्थित बयोधा अस्पतालमा उनी चढेको हेलिकोप्टर ल्याण्ड भएपछि उनी सिधै लाजिम्पाट स्थित निवास पुगे, पत्नी सीता दाहालको अवस्था बुझ्न, उनलाई सम्झाउन।
प्रचण्ड निवासमा पुगेको केही समयपछि नै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, मुख्य सचिव लोकदर्शन रेग्मी र गृहसचिव मोहनकृष्ण सापकोटा प्रचण्ड परिवारलाई समवेदना प्रकट गर्न प्रचण्ड निवास पुगे। मुख्य सचिव रेग्मी र गृहसचिव सापकोटासँगै प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दीलिप रेग्मीपनि प्रचण्ड निवास पुगेका थिए।
प्रचण्ड निवासमा यो टोली करिव आधा घण्टा रह्यो। प्रचण्ड परिवारलाई समवेदना प्रकट गरेपछि उच्च प्रशासनिक र सुरक्षा प्रमुखहरुको टोलीले प्रचण्डसँग सोध्यो, ‘उहाँ (प्रकाश) को असामयिक निधन भएको छ। उहाँको निधनका सम्बन्धमा हजुरहरुलाई कुनै शंका छ कि! यस विषयमा अनुसन्धान गर्नुपर्ने हो कि!’ स्रोतका अनुसार, मुख्य सचिवको उपस्थितिमा सुरक्षा निकाय प्रमुखहरुले यस्तो कुरा राखेपछि प्रचण्डले प्रकाशको निधनबारे छोटो जानकारी दिएका थिए।
नाम उल्लेख गर्न नचाहने एक सुरक्षा निकायका प्रमुखका अनुसार, प्रचण्डले भनेका थिए, ‘प्रकाश ३–४ दिनदेखि विरामी थियो। खाने कुरामापनि त्यति रुचि थिएन। ज्वरोपनि आइरहेको थियो। विरामी भएकाले बाहिर कसैसँग सम्पर्कपनि थिएन।’ यति भन्दै प्रचण्डले के पनि जानकारी दिए भने, ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार बिहानै अस्पताल लगिन्थ्यो।’
‘तर अकस्मात यस्तो घटना भयो। ३–४ दिन यता उसको कसैसँग सम्पर्क नभएको र घरमा पनि कोही नआएकाले त्यस्तो शंका गर्नुपर्ने स्थिति छैन।’ छोरा प्रकाशसँग आफ्नो शनिबार दिउँसोपनि फोनमा कुरा भएको जानकारीपनि प्रचण्डले दिए।
प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन – प्रचण्ड
Previous Article३ मंसिर २०७४, ढोरपाटन दैनिक
Next Article प्रकाश दाहालः भूमिगत कार्यकर्तादेखि सेक्रेटरी सम्म