बाम गठबन्धन बनाएर चुनावमा होमिएपछि नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकै उत्साहित देखिएका छन् । यसपटक काठमाडौ निर्वाचन क्षेत्र नं २ रोजेका नेता नेपाल निर्वाचन पछि सुविधाजनक बहुमतसहित बाम गठबन्धनको नेतृत्वमा सरकार बन्नेमा ढुक्क छन् । मुलुकको विकास र समृद्धिका लागि स्थायी सरकार अनिवार्य रहेको बताउने नेता नेपालले अझै सक्रिय राजनीतिमा रहेकाले राष्ट्रपति बन्न परिपक्व नभएको बताए ।
चुनाव प्रचार अभियान कसरी बढेको छ ?
चुनाव प्रचार प्रसार क्रमशः भइरहेको छ । बाम गठबन्धनको चुनाव प्रचार प्रसार कार्यालयहरु खुल्दै गइरहेका छन्। काठमाडौ महानगरको ३२ वडामा पर्ने सूर्यकोटमा शुक्रबार घर दैलो कार्यक्रम गरियो । वडास्तरमा चुनाव प्रचार कार्यालय खोलेका छौ । यसरी नै चुनाव अभियान जारी छ।
५१ मा यहाँले चुनाव लड्नु भएन । त्यसपछि लडेका चुनावमा यहाँले रौतहट र काठमाडौ रोज्दै आउनुभएको छ । अहिले भने काठमाडौमा मात्रै केन्द्रीत हुनुभएको छ । रोज्ने छोड्ने जस्तो भएन र ?
त्यस्तो होइन । २०५६ को आमनिर्वाचनमा म रौतहटका दुइटै क्षेत्रमा विजयी भएको हुँ । २०६४ को संविधान सभा चुनावमा अलि भिन्न परिस्थिति रह्यो । २०७० मा पनि काठमाडौलाइ छोडेको हैन । अहिले काठमाडौकै क्षेत्रमा मात्र छु । अर्थात् ०६४ मा काठमाडौको क्षेत्र रोजि सकेपछि मैले काठमाडौलाइ छोडेको छैन । अघिल्ला दुइ चुनावमा दुइ ठाउँबाट लडेपनि काठमाडौका मतदातासँगको मेरो सम्बन्ध नियमित छ । जीवन्त छ । ०६४ मा हारेर छाडेको वा ०७० मा जितेर कागजी रुपमा छोडे पनि जनताका हरेक दुखसुखमा सँधै सँगसँगै छु । यस क्षेत्रका जनताले बोलाएको ठाउँमा म सँधै पुग्ने गरेको छु । रौतहटमा भन्दा पचासौ गुणा म काठमाडौको क्षेत्रमा पुग्दै आएको छु । २०७० को चुनाव पछि मधेस आन्दोलन चर्केका कारण पार्टीले मधेस नछोड्न भन्यो र काठमाडौलाइ कागजी रुपमा छोड्नु परेको हो ।
यस क्षेत्रका प्रत्येक ठाँउहरू लप्सेफेदी, नाङलेभारे,साँखु तथा अन्य गाँउहरुको कुनाकुनामा पुगेको छु । यस क्षेत्रका सबै सामाजिक काम विवाह ब्रतबन्धदेखि विकास निर्माणका काममा पुग्ने गरेको छु । पूर्वाधार निर्माण होस् वा राहत विवतरणका मैले यस क्षेत्रलाइ प्राथमिकता दिंदै आएको छु । अब पनि यो क्षेत्र माधव नेपालले नछाडिदियोस् भन्ने जनताको चाहना प्रति म पूर्ण सचेत र जानकार छु । जनताको माया र सद्भाव म प्रति छ । अब त एउटा मात्रै क्षेत्र छ । किलो जस्तै गाडिनु पर्छ । अब कपाली तमसुक गरिरहनु पर्दैन । यही क्षेत्र मेरा लागि दिगो रहन्छ।
तपाइ जस्तो राष्ट्रिय स्तरको राजनीतिज्ञ जो विधि निर्माणका लागि छानिने हो । तर नेताहरु एउटै क्षेत्र केन्द्रीत हुँदै जान थाले । अलि उल्टो भएन र ?
हाम्रो कर्मचारी प्रशासनले स्वतन्त्र ढंगले काम गर्न नसक्ने भएकोले र मन्त्रीहरु राजनीतिक रुपमा निष्पक्ष हुन नसकेकोले निर्वाचन क्षेत्र विकासका लागि जनप्रतिनिधि नै लाग्नुपरेको हो । जनप्रतिनिधिको नाउँमा त्यस क्षेत्रको विकास हुनसक्छ भनेर जनताको चाहना र आकांक्षा जोडिएको हुन्छ । त्यसैले विधायिकी निर्वाचन भएपनि क्षेत्र विकासका लागि केन्द्रीत हुन परेको छ । संसदीय प्रजातन्त्र भएका मुलुकमा यस्तो व्यवस्था जहाँसुकै रहेको छ ।प्रतिनिधिहरु जनता र उनीहरुका आकांक्षासँग जोडिन्छन् । जनताका पिरमर्कासँग जोडिइएन भने भोली मेरो त कानुन बनाउने काम हो भनेर उम्किने खतरा रहन्छ । त्यसैले यो विधिलाइ मैले बेठिक ठान्दिन । तर विकास निर्माणको काममा लाग्दा र विधि निर्माणको काममा सन्तुलन मिलाउन सक्नुपर्छ ।
पार्टीतन्त्र र कर्मचारीतन्त्र निष्पक्ष नहुँदा विकासको वितरण प्रणाली न्यायिक नबनेको उल्लेख गर्नुभयो। तपाइ जत्तिको वरिष्ठ राजनीतिज्ञ एउटा क्षेत्र विशेषको मात्रै बन्न सुहाएन नि ?
देशभरीमा मैले के गरे भनेर व्याख्या गर्ने हो भने मेरो क्षेत्रलाइ के गर्नुभयो भनी सोध्छन् । देश र दुनियाँका लागि गरेको कुरा सुनिदिन्छन् तर चित्त बुझाउँदैन् । उनीहरुलाइ आफ्नो ठाउँको समस्या प्रमुख लाग्छ । कर्मचारीतन्त्र निपूर्ण छैन । सामान्य मान्छेका कुरा सुन्दैन । स्थानीय तहको निर्वाचनले एउटा वातावरण बनाएको छ। घर आँगनमा जनताका गुनासा सुन्ने प्रतिनिधि छानिएका छन् । प्रदेश सभा बने पछि यो प्रक्रिया मजबुद बन्दैछ ।
अहिलेसम्म विकासका आधारभूत काम पनि भएका छैनन् । बाटोघाटो, पिउने पानी, विद्युतीकरण, सञ्चार, यातायात, शिक्षा र स्वास्थ्यको प्रबन्ध सुगम छैन । जनताले चाहेका कुरा यिनै हुन् । प्रदेश सभा बनेपछि क्षेत्राधिकार अन्तर्गत कामहरु हुनेछन् । तैपनि निर्वाचन क्षेत्रका प्रबन्धहरु निर्वाचित व्यक्ति बाटै हुने भएकाले क्षेत्र केन्द्रीत हुनुपरेको हो । समय दिनुपर्छ, मिलाउनुपर्छ । नेताहरु जनतासँग जोडिनुपर्छ । प्रत्यक्ष निर्वाचित व्यक्तिहरु जनताबाट टाढा भएको गुनासो आइरहेको छ । समानुपातिकबाट आएका नेताहरु त जनताबाट झन् टाढा भएका छन् । हामीलाइ विधि बनाउन चुनिएको हो भनेर उम्किएका पनि छन् । जनप्रतिनिधिलाइ जनतासँग घनिष्ट रुपमा जोड्न विकासको कुरा महत्वपूर्ण छ । तर विकासका लागि पठाइएको रकम दुरुपयोग हुनुभएन । सदुपयोग नभएका प्रशस्त उदाहरण छन् ।
काठमाडौ क्षेत्र नं २ का मुख्य समस्याहरु के के हुन् ?
यस क्षेत्रको मुख्य समस्या बाटो नै हो । कागेश्वरी मनहराको चक्रपथ निर्माण गर्ने कुरा छ । कोटेश्वर देखि सालीनदीसम्म मनहराको किनारै किनार बाटो बनाउनुछ । विस्तार गर्न लागिएको बाटो धुलाम्मे छ । जनताले दुख पाएका छन् । स्मार्ट सिटीको अवधारणा अन्तर्गत शहरी पूर्वाधार निर्माण नै मेरा प्राथमिकता हुन् । अर्कोतर्फ सुरु भएका काम पनि समयमा हुनसकेका छैनन् । ठेकेदारले दुख दिने गरेका छन् । ठेकेदारले जति ढिलो ग¥यो भेरिएसनको नाममा पैसा खाइदिन्छ । ढिलो गर्दा उ पुरस्कृत हुन्छ । ठेकेदार, इञ्जिनियर देखि अर्थ मन्त्रालय हुँदै मन्त्रीमण्डलसम्मको संरचनामा परिवर्तन हुनु आवश्यक छ । कर्मचारीतन्त्रले दुःख दिने गरेको छ। त्यो बन्द हुनुपर्छ । त्यसैले विकासका लागि बलियो र स्थायी सरकार चाहिन्छ।
अहिले त स्थायी सरकारको नारा दिंदै बाम गठबन्धन बनाउनुभएको छ । तपाइ निकै उत्साहित देखिनुहुन्छ ?
अहिले मुलुक भ्रष्टाचारको जालोमा परेको छ । प्रमुख व्यक्ति, नेता, मन्त्री प्रधानमन्त्री भ्रष्टाचार मुक्त हुनैपर्छ । बाम गठबन्धनले बनाएको स्थायी सरकारले भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्नेछ । आजसम्म नेपाली कांग्रेससँग जति भ्रष्टाचारको मुद्दा जोडिएको छ कम्युनिष्टहरूसँग त्यस्तो मुद्दा जोडिएको छैन । नेपाली कांग्रेस भ्रष्टाचारको छिटैछिटाले भरिएको छ । सत्ताको दुरुपयोग नगर्ने, जनहितमा सत्ताको उपयोग गर्ने, स्वच्छ र गतिशिल प्रशासन कायम गर्नुपर्ने आवश्यकता छ । त्यसैले भ्रष्टाचारमुक्त मुलुकका लागि बाम गठबन्धन नेतृत्वको सरकार बन्नु आवश्यक छ । बलियो सरकार तथा आम परिवर्तनका लागि बामपन्थीको नेतृत्वमा सरकार बन्नु आवश्यक छ । आजसम्म कम्युनिष्टहरू भ्रष्टाचारमा मुछिएर दण्डित हुनु परेको छैन ।
सिंगो देशको सन्दर्भमा पनि मेरो जोड के हो भने यातायात सञ्जाल निर्माणलाइ राष्ट्रले पहिलो प्राथमिकता दिनुपर्दछ। सडक, रेल वा हवाइ मार्गको विस्तार हुनुपर्दछ । जिल्ला सदरमुकामहरु सडक सञ्जालमा जोडिनुपर्छ । रेलको राष्ट्रिय सञ्जाल निर्माण गर्ने काम अघि बढाइएको छ । केरुङबाट काठमाडौमा रेल ल्याएर पोखरा हुँदै लुम्बिनी पुर्याउने योजना छ । मेची महाकाली रेल सञ्जाल निर्माण पूर्वबाट सुरु भइसकेको छ । हवाइ मार्गका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम अघि बढेका छन् ।
नेपालमा जलस्रोतको सम्भावना धेरै नै छ । बगिरहेको पानीलाइ उर्जामा परिवर्तन गर्न ढिलो गर्नुहुन्न । आफ्नो क्षमताको पहिचान गर्न नसकेर नेपाली कांग्रेसले माथिल्लो तामाकोशी विदेशीलाइ सुम्पिने काम गर्यो । मेरो नेतृत्वको सरकारले सरकारले तामाकोशी परियोजना नेपालीले नै बनाउने निर्णय गरेको हो । नेपालको सीप, क्षमता र पुँजी छैन भनिएको थियो । तर जुटाइयो । काठमाडौ तराइ द्रुत मार्ग (फास्ट ट्रयाक) का सन्दर्भमा पनि यस्तै भनिएको थियो । अब नेपाली सेनाले तीन वर्षमै पुरा गर्दैछ । यसैगरी मध्यपहाडी लोकमार्ग, तराइको हुलाकी राजमार्ग, उत्तरदक्षिण नदि करिडोर, उत्तर दक्षिण नाका जोड्ने कुरा नेपालकै स्रोत साधनबाट निर्माण गर्नसकिन्छ । मानव संशाधनको विकास, यान्त्रिकीकरण, कृषिको आधुनिकीकरण गरी विदेशीएका युवालाइ स्वदेशमै रोजगारी दिने काम गर्नुछ । नेपालमा स्रोत र साधनको कुनै कमि छैन । पर्यटनको सम्भावना उत्तिकै छ । धार्मिक पर्यटनका लागि हिन्दू र बुद्धिष्ट सर्किट बनाउन सकिन्छ । जसका लागि स्थायी सरकार अनिर्वाय छ । कांग्रेसले तीन पटक सम्म बहुमत ल्याउँदा समेत मुलुकको विकास हुन सकेको छैन । एमालेको नेतृत्वमा बाम गठबन्धनको सरकार बन्यो भने एमालेको अग्नीपरीक्षा सुरु हुनेछ ।
तपाईका सपनाहरूको जनताले विश्वास गर्ने आधारहरू के के हुन् ?
विश्वास गर्ने आधार के हो भने हामीले मौका पाउदा (सरकारको नेतृत्व गर्दा) माथिल्लो तामाकोशी, द्रुतमार्ग, निजगढ र लुम्बिनीका अन्तर्राष्ट्रिय विमानस्थल, मध्य पहाडी लोकमार्ग र त्यही मार्गले छुने दशवटा स्मार्ट सिटी जस्ता परियोजना अघि बढायौ ।
प्रतिस्पर्धीहरु प्रति यहाँको धारणा के छ ?
प्रतिस्पर्धीहरू हुनु आवश्यक छ । प्रतिस्पर्धी बिना चुनावको महत्व नै हुन्न । उहाँहरूलाई म सम्मान गर्छु । म उहाँहरूको आलोचना गर्दिन उहाँको रचनात्मक सल्लाहको सदैव आशा गर्नेछु । भोली प्रतिपक्षमा रहेर पनि रचनात्मक भूमिका खेल्न म अनुरोध गर्छु । मेरा प्रतिष्पर्धीका आफ्नै सिमा छन्, चाहेर पनि गर्न सक्नुहुन्न । मेरो आफ्नै किसिमको स्थान छ, त्यसैले जनताले म बाट धेरै अपेक्षा गरेका छन् ।
तपाईहरुले सबैलाई चकित पार्नेगरी बाम गठबन्धन बनाउनुभयो । अहिले अपेक्षा गरेभन्दा सुगम ढंगले चुनावमा जानुभएको छ । विगतमा माओवादीका नेताले तपाइलाइ ‘विष वृक्ष’ भनेका थिए । सरकार साझेदारीको सम्बन्ध पनि तनावपूर्ण रहँदै सकिएको थियो । उतार चढावको सम्बन्धमा पार्टी एकीकरण गर्ने मार्गचित्र कसरी बढ्छ ?
सम्बन्ध कटुतापूर्ण र मित्रतापूर्ण दुवै रह्यो । मलाइ रिकगनाइज गर्दिन भनेका प्रचण्ड म प्रधानमन्त्री हुँदा बालुवाटार र सिंहदरबार दुवै ठाउँमा आएर सँगै खानपान गरियो, रमाइलो पनि गरेका थियौ । त्यतिमात्रै होइन, त्यसवेला उहाँहरुको सेनाको हेडक्वाटर रहेको शक्तिखोरमा मलाइ लिएर जानुभयो, अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको उपस्थितिमा माओवादीका सेनाहरुले स्यालुट गरेर उच्च सम्मान पनि दिनुभयो । त्यत्रो शानदार कार्यक्रम सफलताका साथ सम्पन्न गर्ने काम पनि भयो । त्यसकारण हामीले कुन चाहि पक्षलाई हेर्ने भन्ने कुरा आउँछ । मेरो त धारणा के छ भने फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार । म काँडा सम्झन चाहन्न फुल बन्छु, यो काँडाको होइन गुलाफको फुल हो । त्यसैले म गुलाफलाई सम्झन्छु काँडालाई सम्झन्न। राजनीतिमा र सामाजिक व्यवहारमा तीता टर्रा कुराको कुनै स्थान छैन । मानव जीवनमा पनि तीता कुरा सम्झेर चल्ने होइन, मेरो संस्कार र हुर्काइ नै प्रेम र संस्कारबाट भएको हो ।
माओवादीले छानी छानी एमालेका नेता कार्यकर्ताको हत्या गरेको यति छिट्टै बिर्सन मिल्छ र? तपाइको कोठामा गौतम बुद्धको पनि तस्वीर झुण्डिएको छ । एमालेले बुद्धत्व प्राप्त गरिसकेको हो ?
यस्ता सबै कुरा सम्झिदै गर्ने हो भने साध्य छैन । हाम्रा नेतामाथि भएका घटनाहरुका छानवीन राज्यका नियमले कानुनले ती व्यवस्था गर्छन् । हामीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिक आयोग बनाएका छौं, त्यसले टुङ्गो लगाउँछ । त्यसले कानुन र विधिका आधारमा मापदण्ड अनुसार काम गर्नेछ । क्रुर अमानवीय खालका अपराध भएका छन् भने त्यसलाई त्यही अनुसार डिल गर्छ । अरु कुनै छन् भने मेलमिलापको आधारमा टुङ्गो लगाउँछ । दुईवटै पक्षलाई चित्त बुझाएर, सन्तोषका साथ दुई पक्ष बस्ने आधारमा त्यसलाई टुङ्गो लगाउने काम गर्छ। त्यसकारण कतिखेर बदला लिऊ भन्ने सानो चित्तका मान्छे हामीले बन्नु हुँदैन ।
अब त्यसो भए माओवादीले गरेको युद्धलाइ माफी दिनुभयो । समिक्षा गर्न पर्छ कि पर्दैन ?
युद्धले केही पार लाग्दो रहेनछ भनेर मान्छेले महशुस (रियलाइजेसन) गरिसकेका छन् ।
के प्रचण्डजीले महशुस गर्नुभएको हो ?
मैले भने मान्छेले गरिसकेका छन् । उहाँहरुको नेता पङ्तिले आज भनेको होइन म गोरखपुर पुग्दा मैले सुनेको हुँ।
तर, एमालेको नेतृत्वको सरकारमा सहभागी भएको माओवादी केन्द्र आधा बजेट पारित गरेर आधार छोडेर त्यसपछि कांग्रेससँग गठजोड गर्न पुगेको पनि त हो नी ? यस्तो अवस्थामा माओवादी केन्द्रको बुद्धत्व कसरी प्राप्त भयो, के थियो त्यस्तो टर्निङ प्वाइन्ट ?
त्यो त एमालेको सरकार ढाल्ने कांग्रेस, फेरि मलाई प्रधानमन्त्रीको अफर गर्ने पनि त कांग्रेस नै हो नी । त्यसकारण यस्ता कुरालाई मनमा राखेर राजनीति गर्न सकिदैन । समाजमा बस्न र जीवन चलाउन सकिदैन, यदी जीवन चलाउनु छ भने तीता पिरा कुरालाई बिर्सनुपर्छ ।
त्यो त स्वार्थी भएन र ?
स्वार्थी होइन, स्वार्थी त आफू केन्द्रीत हुन्छ, व्यक्ति केन्द्रीत हुन्छ, खाली आफ्नो कुरालाई घोचेको कुरालाई मात्र सम्झि रहन्छ । अरुलाई पनि त कुनै कुराले घोचेको त होलान नी । कुनै पनि कुरालाई समय र स्थान अनुसरा निर्धारण गर्छ भन्ने कुरालाई हामे विकासको नियम अनुसार बुझ्न जरुरी छ । त्यसकारण हामीले टाइम र स्पेशलाई ध्यान दिन आवश्यक छ ।
अहिले जहाँ जे स्वार्थ मिल्छ त्यही गठबन्धन बनाएर गएको छ, यस्तो प्रवृत्ति देख्दा राजनीति संस्कारयुक्त छैन जस्तो लाग्दैन ?
स्वार्थ होइन, मान्यता मिल्छ भने गठबन्धन गर्ने हो । बिचार र उद्देश्य त मिल्नुप¥यो नी ।
ल, बाम गठबन्धनमा त तपाईले भनेको कुरा मिल्यो रे, तर राप्रपासँग, अन्य पार्टीसँग कसरी मिल्छ एमालेको नीति ?
किन भने देशभक्त शक्तिहरुसँग सहकार्य गर्नैपर्छ । सबै देशभकत र बाम नहुन पनि सक्छन् । त्यसैगरी सबै लोकतन्त्रका मान्यता बोक्नेहरु देशभक्त भावना नभएका पनि हुनसक्छन् । अर्काे लोकतन्त्रको मान्यता बोके पनि सामाजिक न्यायको निम्ति कटिबद्ध नहुन पनि सक्छ । सबैको हित र कल्याणको निम्ति नलाग्ने व्यक्तिगत स्वभावको पनि हुनसक्छ । त्यसकारण हामीले सबै पक्षलाइ समेट्नुपर्छ अनि मात्रै एउटा समष्टि रुप बन्दछ ।
त्यसो भए निर्वाचन पछाडी पार्टी एकता हुने नै हो ? कसरी गर्नुहुन्छ पदीय भागवण्डा ?
निर्वाचन पछि पार्टी एकता हुन्छ । हामीले सबैको भूमिकालाई उपयुक्त स्थान दिनुपर्छ।
अहिले हामीले दुईवटा पार्टीलाई मिलाउन गइरहेको बेला पदका निम्ति मारामार गर्ने ? चुनाव त जित्न दिनुस् । जितेपछि सेकेण्ड स्टेपको कुरा हुन्छ । अहिले नै प्रधानमन्त्रीका निम्ति आतुरता किन ? आशक्ति किन प्रधानमन्त्री पदका निम्ति ? यदी समयले माग गरिरहेको छ भने अवश्य पनि व्यक्तिले प्राप्त गर्न सक्छ । त्यसको निम्ति अनेक फ्याक्टरले काम गरेको हुन्छ ।
तपाईहरुको गठबन्धनलाई चिनियाँ प्रभावित (इन्फ्लुएन्स) गठबन्धन भनिदैछ । तपाइ के भन्नुहुन् ?
हामीलाई कसैको पनि अनावश्यक हस्तक्षेप र चासो स्वीकार्य छैन । चीनले कुनै हस्तक्षेप गरेको, हात हालेको पाइएको छैन । भारतले पनि हामीले बुझिने गरी अनुचित काम गरेको लागेको छैन । हामी पनि छिमेकी मुलुकसँग साथ र सहयोग चाहन्छौं । मित्र बदल्न सकिन्छ छिमेकी बदल्न सकिदैन । दुई छिमेकीसँगको सम्बन्ध सुमधुर होस् भन्ने हामी चाहन्छौं । हामी यही उद्देश्यका साथ हाम्रो विदेशनीति बनाउनेछौं । नेपालको संवेदनशीलतालाई ध्यान दिएर राष्ट्रिय सुरक्षा नीति बनाउने छौं ।
एउटा गसिप प्रश्न । तपाईहरुको गठबन्धनको बहुमत आउने अड्कलबाजीका बीच तपाईलाई भावी राष्ट्रपतिको रुपमा अघि सारिने चर्चा पनि चलेको छ, तपाईको विचार के छ ?
राष्ट्रपति बन्नका लागि सांसद बन्नु पर्दैन । म राष्ट्रपति बन्ने भए किन चुनाव लड्नु पथ्र्याै ? हाम्रो बीचमा कुनै कुरा भएको छैन । म अहिले राष्ट्रपति बन्न गइरहेको छैन । अहिले म जनप्रतिनिधि भएर जान्छु, सांसद भएर काम गर्छु त्यसपछि समयले के भूमिका खोज्छ त्यही गर्छु । मैले बार बार भनेको छु, राष्ट्रपति बन्न मेरो उमेर पुगेको छैन । कुरा नै भन्नुहुन्छ भने मलाई विद्या भण्डारी हुँदै राष्ट्रपति बनाउन नेताहरु दौडधुपमा लाग्नुभएको थियो । तर, मैले मानिन । म जागरिलो मान्छे, मेरो कामकाजी नेचर छ, मैले राष्ट्रपति भएर दिव्यज्ञान दिने, उपदेश दिएर बस्ने बेला भएको छैन ।
त्यसो भए गठबन्धनबाट राष्ट्रपति, प्रधानमन्त्री को त ?
अहिले हामीले सोचेकै छैन । भोलि को को आउने हुन्, के के विचार गर्ने हुन्, कस्तो परिवेश बन्ने हो । कुन पार्टीका कुन नेताको व्यवस्थापन कसरी गर्ने हो । त्यो पछि तय गर्ने कुरा हो ।
त्यसो भए पार्टी एकीकरण कत्तिको सहज छ ?
चुनावी गठबन्धन पनि सहज थिएन । सिटको भागवण्डा पनि सहज थिएन । हामीले मिलायौ । असहज अवस्थालाइ सहज बनाउन नै हाम्रो भूमिका रहन्छ । एमाले–माओवादीले गठबन्धन सफल भएको छ । पहिलो परीक्षामा उतीर्ण भएको छ । अब एकीकरण गर्ने, सरकार चलाउने परीक्षा हुनेछन् । हामी उत्तीर्ण हुनेछौ ।
यदी बामहरुको बहुमत भएन भने के हुन्छ नेपाली राजनीति ?
बाम बहुमत आएन भने मिल्न सकिनेहरुको फोर्स बनाइनेछ । जनताले मत नदिएर बहुमत नआए त्यसको पीडा जनताले पनि भोग्नुपर्छ ।
भनेपछि बाम गठबन्धनको बहुमत आउने कुरामा ढुक्क हुनुहुन्न ?
बहुमत मात्रै होइन सुविधाजनक बहुमत आउनेछ । समयले संकेत र दिशानिर्देश गरिसकेको छ यसपटकको सरकार बामपन्थीहरुको सरकार हुनेछ । नेपाली कांग्रेसले प्रतिपक्षीमा बस्नुपर्नेछ र त्यो रचनात्मक होस् भन्ने हाम्रो शुभेच्छा छ । अब कांग्रेसले चित्त बुझाउने र अनर्गल झुठा प्रचार नगर्नु वेश हुन्छ ।
त्यसो भए कांग्रेस कुन साइजमा आउला ?
कांग्रेसले आफ्नो काम र व्यवहार अनुसारको साइज पाउला । जनता कांग्रेससँग धेरै रिसाएका छन, सायद धेरै घटाइदेलान जस्तो लाग्छ।नागरिक