रमेशप्रसाद गौतम
शिक्षकहरू नै समाजको बौद्धिक व्यक्तित्व हुन् । गुरुकुल शिक्षा पद्धतिको संस्कारबाट प्रेरित हाम्रो पूर्वीय वाङ्मयमा शिक्षकको महत्व झनै बढी देखिन्छ । शिक्षकलाई आदर्श र प्रेरणाको स्रोतका रूपमा लिइन्छ । तसर्थ, शिक्षक बन्दा उच्च श्रेणीका अब्बल मानिएका व्यक्तिलाई छनोट गर्ने प्रक्रियालाई अवलम्बन गर्नुपर्छ । शिक्षक जहिले पनि पठनशील भने हुनुपर्छ ।
शिक्षकहरूको पठन संस्कृतिका सन्दर्भमा खासै भरपर्दो वैज्ञानिक सर्वेक्षण भएको भेट्टाइएको छैन तर पनि सामान्य बुझाईमा पठनशील शिक्षकको सङ्ख्या न्यून छ भन्ने आँकलन गर्न सकिन्छ । डिजिटल प्रविधिले ओगटेको वर्तमान बजारमा पुस्तकालयको प्रयोग कम हुन गए पनि विद्यालयमा पुस्तकालयको कम महŒव भने मान्न सकिँदैन । विद्यालयको पुस्तकालयबाट शिक्षक, विद्यार्थी दुवैले लाभ उठाउन सक्छन् तर विगतमा जस्तो पुस्तकालय खोल्ने लहर कमजोर बन्दै गएकोले पनि पठनीय संस्कृतिमा ह्रास आएको छ तर विना पठनीय संस्कृति शैक्षिक गुणस्तरको कल्पना गर्न सकिँदैन । साथै शिक्षक वर्गमा हौसला र प्रोत्साहनको पनि त्यत्तिकै खाँचो पर्छ ।
एउटा कुन्ठित र उदासिन शिक्षकबाट अपेक्षित सुधारको आशा गर्न सकिँदैन । राष्ट्र र समाजको समृद्धिका लागि पनि गुणस्तरीय शिक्षा चाहिन्छ । यसर्थ, राष्ट्रिय शिक्षा नीति निर्माण गर्दा मुलुकको विविधता तथा समयको आवश्यकतालाई ख्याल गरिनुपर्छ । वर्तमान समय र प्रविधिमा आएको परिवर्तनलाई आत्मसात् गर्न सक्ने शिक्षा नीति तर्जुमा गर्नु आजको राष्ट्रिय दायित्व हो । विद्यमान शिक्षा ऐन नियममा टेकी स्थायी प्रकृतिको राष्ट्रिय शिक्षा नीति आयोग बनाउने र यसै आयोगद्वारा प्रभावकारी परिचालन गरी शिक्षा नीति, निर्माण, कार्यान्वयन गर्नमा जोड दिने भने पनि हालसम्म खासै केही हुन सकेको छैन । यस आयोगले संविधानअनुरूप राष्ट्रिय, प्रान्तिय र स्थानीय तह अनुरूपको समयसापेक्ष ढङ्गको शिक्षा नीति निर्माण गरी लक्ष्य निर्धारण गरिनुपर्छ ।
नेपालको संविधान २०७२ ले विद्यालय शिक्षालाई स्थानीय सरकारको दायित्वमा राखिएको छ । संविधान लागू भएको यत्तिका समय बितिसक्दा पनि शिक्षा केन्द्रीय निकायकै नियन्त्रणमा सञ्चालन भएको छ । स्थानीय चुनाव सम्पन्न भइसकेपछि पनि निर्वाचित स्थानीय प्रतिनिधिले संविधानले तोके मुताबिकको अधिकार उपभोग गर्न नपाउँदा अरू अन्योलको स्थिति उत्पन्न हुन सक्छ । यो स्थिति सिर्जना हुनुमा वर्तमान अवस्था मात्र जिम्मेवार नभएर विगत देखिका कमीकमजोरी जटिलताबाट पेचिलु बन्न पुगेको छ ।
२०४६ सालको राजनीतिक परिवर्तनसँगै नयाँ शिक्षा नीतिको जरुरी थियो तर राजनीतिसँगै शिक्षा नीति परिवर्तन हुन सकेन । फलस्वरूप सामुदायिक विद्यालय नाजुक हँुदै जान थाले । २०६३ सालको परिवर्तन पछि पनि शिक्षा क्षेत्रप्रति बेवास्ता नै गरियो । २०७२ साल असोजमा गणतन्त्रात्मक नेपालको संविधान आयो । संविधानअनुसारका ऐन, नियम मुलुकले पाउन सकेन । शिक्षा ऐन संशोधन विधेयकमा सभासदले लामो समयसम्म खासै चासो राखेनन् । बल्ल २०७३ साल मध्येतिर आएर ऐन संशोधन भयो, यस ऐनअनुसार प्रारम्भिक बाल कक्षादेखि आठसम्म आधारभूत र कक्षा नौ देखि १२ सम्मलाई माध्यामिक तह मानेर शिक्षाको संरचनामा फेरबदल ल्याएको छ । अर्को पक्ष कक्षा नौदेखि प्राविधिक विषय अध्ययन गर्न पाउन व्यवस्था गरिएअनुरूप १२ कक्षा पछि पनि एक वर्ष व्यावहारिक अभ्यास गराइने प्रावधान राखेको छ । यस ऐनले उच्च माध्यामिक शिक्षापरिषद् खारेज गरी राष्ट्रिय परीक्षा बोर्ड गठन गरेको छ । हुन त नयाँ संविधानले माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहको सरकारलाई जिम्मा लगाउने उल्लेख गरिएको छ । यस अर्थमा राष्ट्रिय परीक्षा बोर्डको पनि औचित्य देखिँदैन । आज देशले सङ्घीय गणतन्त्रात्मक राज्य व्यवस्था स्वीकारी संविधान लागू भइसकेको सन्दर्भमा विगत केही यता निर्माण भएका ऐन, कानुन तत्काल फेर्नुपर्ने हुन्छ । यो अवस्थामा हाम्रो शिक्षा नियम पनि फेरबदल गर्नुपर्ने देखिन्छ ।
वर्तमान संविधान २०७२ ले आधारभूत तहको शिक्षा अनिवार्य र माध्यामिक तहसम्मको शिक्षा निःशुल्क बनाउने भने पनि सरकारले यस विषयमा कार्यान्वयनतर्फ लैजाने खासै पहल गरेको देखिँदैन । सरकारी काम कारबाहीको ढिला सुस्ती, अनुगमन र नियमन नै कमजोर र फितलो भइरहेको बेला प्रभावकारी कार्यान्वयनको के अपेक्षा राख्ने ? सरकारी विद्यालयको लगानीअनुरूपको प्रतिफल छैन, प्रविधितर्फ आत्मसात् गर्न सकेको देखिँदैन । पाठ्यक्रम विद्यालयमा हेरिँदैन, पाठ्यपुस्तक विद्यार्थीले पाउन सक्तैनन, कतिपय शिक्षक दलका झोले बन्छन् । शिक्षकले राजनीतिमा लाग्न नमिल्ने नियम बनाइएको छ । त्यो व्यवहारमा लागू हुन सक्तैन । सबै शिक्षकलाई पुनर्ताजगी तालिमको व्यवस्था हुन सकेको छैन । समग्रमा विद्यालयमा राम्रो गर्ने शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था छैन । राजनीतिक नेतालाई राम्रो शिक्षक होइन, हाम्रो शिक्षक चाहिएको छ ।
विद्यालयमा राम्रा शिक्षक भए भने तिनबाट अभिभावको भूमिका पनि निर्वाह हुन सुक्छ । अहिले कतिपय ठाउँमा शिक्षक र अभिभावक दुवै एकअर्कालाई दोषी देखाउन खोजी आफ्नो कमजोरी लुकाउन खोज्छन् । सबैका बीच आपसी अन्तक्र्रिया छलफल र विमर्श आदिका माध्यमबाट सही कुरा पत्ता लगाई मिलिजुली समाधानको बाटो पहिल्याउनुमा नै सबैको भलो हुने कुरामा ध्यान जानु जरुरी छ । विद्यार्थीले पढाइमा ध्यान दिनका लागि पढाइ रोचक र कक्षा कोठाको वातावरण रमाइलो बनाइनु असल शिक्षकको गुण हो । शिक्षक आफ्नो विषयमा दक्ष र सक्षम बन्न सक्नुपर्छ । शिक्षकले आफूलाई विद्यार्थीका अगाडि हाउगुजी बनाउनुहुँदैन ।
शिक्षकले राम्रोसँग नसिकाई विद्यार्थीले सिक्न सक्तैनन् । विद्यार्थीमा पठनपाठन गरिने विषयवस्तु सिक्ने उत्सुकता नहुनुमा दोषी शिक्षक ठहर्छ । शिक्षकको मनो सामाजिक रुचिअनुसार सिकाउने नयाँ–नयाँ प्रविधि र विधि खोज्ने उत्साह र इच्छा रुचि चाहिन्छ । केटाकेटीमा नयाँ सोच र चाहनाको खोजी भएको अवस्थामा शिक्षक भने उही पुरानो परम्परागत प्रविधि र विधिमै अलमल्याउन खोज्ने भए भने केटाकेटीमा त्यस्तो सिकाइप्रति उत्सुकता हुँदैन । कतिपय नजान्ने विद्यार्थी जान्न कोसिस गर्दैनन् । अध्ययनमा ध्यान दिएर पनि नजानेका हुन कि जान्न नखोजेको हो वा शिक्षकले पढाउन नजानेर हो । आखिरमा कक्षाकोठामा शिक्षकभन्दा विद्यार्थी क्रियाशील हुनु जरुरी छ । विद्यार्थीका मनका कुरा शिक्षकले सुन्नुपर्छ । उनीहरूको समस्या के हो ? राम्रोसँग नबुझी समाधानको खोजी हुन सक्तैन ।
विद्यार्थीका स–साना दोष केलाएर गलत साबित गराउने प्रकृतिमा सुधार आउनु जरुरी छ । अबका विद्यार्थीमा कमजोर पक्ष कोट्याएर होइन सबल पक्ष देखाएर कुरा गर्नुपर्छ । तिमी ज्ञानी छौँ, बुद्धिमान छौँ, तिमीलाई पढनु छ भनेर हौसाएर पढाउनुपर्छ । शिक्षकले आफूलाई साथीका रूपमा सहजकर्ताका रूपमा कक्षा कोठामा प्रस्तुत हुन सक्नुपर्छ । कक्षा कोठाभित्र समान सिकाइ क्षमताका विद्यार्थी हँुदैनन् । त्यहाँ सुनेर सिक्ने, पढेर सिक्ने हेरेर सिक्ने, छोएर, गरेर सिक्ने आदि क्षमताका विद्यार्थी हुन्छन् । जुन विद्यार्थी जुन विधिद्वारा सिक्छन् सोही विधिको प्रयोग गरेर रमाइलो वातावरणमा सिकाउने सक्ने शिक्षक नै आजको आवश्यकता हो ।
Previous Articleअबकाे दशक समृद्धिकाे नेतृत्व गर्न चाहेकाे छु – प्रचण्ड
Next Article बहिरा संघको बार्षिक १८ औं स्थापना दिवस