जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई लिएर ‘रणनीतिक धैर्यताको युग’ समाप्त भएको बताएका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो बताएका हुन्। ‘कोही मेरो बोली कडा भयो भन्छन्। तर कमजोर बोलीका कारण गत २५ वर्षमा के भयो हेर्नुस् त!’ सोमबार ट्रम्पले भने। ट्रम्पले जापानसँग सुदृढ सम्बन्धलाई जोड दिएका छन्।
उनले जापानसँग ‘स्वतन्त्र, निष्पक्ष र पारस्परिक व्यापारिक सम्बन्ध’ राख्न चाहेको बताएका छन्। आइतबार जापानको भ्रमण सुरु गरेका ट्रम्प मंगलबार चीन पुग्नेछन्। एक फरक प्रसंगमा राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री आबेसँगै माछालाई चारो खुवाउने क्रममा धैर्यता गुमाउँदा सामाजिक सञ्जालमा उनको मजाक उडेको छ।
सोमबार जापानमा कोइ कार्प जातको माछालाई चारो खुवाउने क्रममा ट्रम्पले पूरै भाँडोको चारो पोखरीमा खन्याइदिएपछि उनको मजाक उडेको हो। आफ्ना सहयोगीहरुको बीचमा बसेर ट्रम्प र आबेले काठको भाँडोबाट चम्चाले अलिअलि गर्दै चारो खन्याइरहेका थिए। तर ट्रम्पलाई यो प्रक्रिया झञ्झटिलो लागेकोले उनले एकै पटक सबै चारो खन्याइदिए।
त्यो फोटो सार्वजनिक भएपछि माछाप्रेमी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ट्रम्पको आलोचना गरेका छन्। माछाले एकै पटक धेरै चारो खान नसक्ने भन्दै उनको आलोचना भएको हो। अनेकौँ ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘ट्रम्प माछालाई चारो पनि ठिकसँगले खुवाउन सक्दैनन्!’
Previous Articleबाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय
Next Article ‘साहो’को एक दृश्य खिच्न ३६ घन्टा लगाए प्रभासले