कुश्मा, २० कात्तिक – नेपाली कांग्रेसका आधिकारीक उमेदवारका विरुद्ध बागी उठेका कांग्रेस नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले उमेदवारी फिर्ता लिएका छन्। नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधिसभामा उमेदवार बनेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीविरुद्ध बागी उम्मेदवारी दिएका पौडेलले आइतबार हेलिकोप्टर चार्टर गरी उम्मेदवारी फिर्ता लिएका हुन्।
पौडेलले उमेदवारी फिर्ता लिन पोखराबाट कुस्मासम्म हेलिकप्टर चार्टर गरेका थिए । प्रभु एयरको हेलिकप्टर ५० हजार रुपैयाँमा चार्टर गरिएको थियो। पौडेलको नाममा १ बजे अघि नै उमेदवारी फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिइएको थियो। तर पौडेल भने १:३० पछि मात्रै निर्वाचन कार्यालयमा पुगेका थिए।
पौडेलले नेपाली कांग्रेसले उचित जिम्मेवारी दिने बिषयमा सहमति भएपछि उमेदवारी फिर्ता गरेको बताए। नेपाली कांग्रेसका युवा नेता तथा व्यवसायी मनोज गुरुङ्ग, मोहन आचार्य, प्रकाश पौडेललगायतको पहलमा शनिबार मध्यरातसम्म पोखरामा छलफल भएपछि आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले उमेदवारी फिर्ता लिएका हुन्।
शनिबार राति पोखराको एक होटलमा अर्जुनप्रसाद जोशी, नवराज गुरुङ्ग, खगेन्द्र तिवारी, राजेन्द्र तिवारी र पौडेलबीच उम्मेदवारी फिर्ताबारे छलफल भएको थियो। बैठककै क्रममा शेरबहादुर देउवाले गरेको फोन नउठाई बसेका पौडेलले उमेदवारी फिर्ता लिनुको भित्री कारण भने खुलेको छैन।
पर्वतको प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ उमेदवारीको दाबी गर्दै आएका शर्माले नेपाली कांग्रेस पर्वतमा एउटा व्यक्तिको अधिनायकवाद कायम रहेकाले त्यसविरुद्ध उमेदवारी दिएको बताएका थिए। उनले दबाबमा उमेदवारी फिर्ता लिए पनि कांग्रेस भित्र असन्तुष्टी कायम छ।
पर्वतका बागी उम्मेदवारी फिर्ता गर्न हेलिकोप्टर चार्टर
Previous Articleगाउँपालिका बैठकमा कांग्रेस र माओवादीबीच खुकुरी हानाहान
Next Article चुनाव जित्न काँग्रेसले वाड्न थाल्यो मदिरा