काठमाडौं, १० कात्तिक – नेपालका लागि जर्मनीका नवनियुक्त राजदूत रोलान्ड सेफरले नेपालको शान्ति प्रक्रिया सफल र अनुकरणीय रहेको बताएका छन् । ओहदाको प्रमाणपत्र बुझाएको भोलिपल्टै निजी निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्व जगतकै लागि उदाहरणीय हुन सक्ने नेपालको शान्ति प्रक्रियालाई थप प्रचार गर्नुपर्नेमा जोड दिए । ‘शान्ति प्रक्रियाको सफल उदाहरण बाहिरी जगत्मा लैजान जर्मनीले सहयोगी भूमिका निर्वाह गर्न सक्छ,’ उनले भने ।
सेफरले कोलम्बियाको उदाहरण दिँदै त्यहाँको शान्ति प्रक्रिया विश्वमै चर्चित रहेको र त्यसका नायकले पाएको नोबल शान्ति पुरस्कारको महत्त्व बुझ्नसमेत आग्रह गरे । आधा शताब्दी लामो द्वन्द्व अन्त्य गर्न भूमिका निर्वाह गरेबापत कोलम्बियाका राष्ट्रपति जुअन म्यानुअल सान्तोसले सन् २०१६ को नोबल शान्ति पुरस्कार पाएका थिए । ‘नेपालको शान्ति प्रक्रिया पनि कम उदाहरणीय छैन । एकअर्कामा बन्दुक सोझ्याएकाहरू अहिले कुम जोडेर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । नयाँ संविधान दिएर त्यसको कार्यान्वयनमा अघि बढेका छन्,’ उनले भने । कोलम्बियाको शान्ति प्रक्रियामा युरोपेली महासंघ (ईयू) का तर्फबाट सेफरले काम गरेका थिए ।
उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न जर्मनीले सक्दो सहयोग गर्ने दृढतासमेत व्यक्त गरेका छन् । ‘द्वन्द्वका दोषीमाथि कारबाहीका लागि हुने छानबिन विस्तारै अघि बढ्ने प्रक्रिया हो । आजको भोलि हुँदैन । तर, पीडितले न्याय पाउने गरी सम्बोधन गर्नुपर्छ । कानुनी शासनको प्रत्याभूति दिनुपर्छ,’ उनले भने ।
युरोपेली संघमा हेड अफ द डेलिगेट्स र अर्जेन्टिनालगायत मुलुकमा समेत राजदूत रहिसकेका सेफरले चीन र भारतजस्ता विशाल अर्थतन्त्रका बीचमा रहेको नेपालले ती देशको आर्थिक समृद्धिबाट अथाह लाभ लिन सक्नेमा जोड दिए । नेपालमा जर्मनीको लगानी प्रवद्र्धन आफ्नो प्राथमिकताको विषय भएको स्पष्ट पार्दै उनले संक्रमणकाल अन्त्यसँगै लगानीको वातावरण बन्ने औंल्याए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा आइपुगेका उनले निर्वाचनलाई नजिकबाट नियाल्ने मौका मिलेको भन्दै अब नेपाल स्थायित्वतर्फ लम्कने विश्वास व्यक्त गरे । ‘हालै सम्पन्न स्थानीय तह निर्वाचन त्यस शृंखलाको पहिलो उपलब्धि हो,’ उनले भने ।
राजदूत सेफरले नेपालमा कुनै पनि मुलुकले धर्म परिवर्तन र जातीय सद्भाव भडकाउने गतिविधि गरे त्यसमा जर्मनीको साथ–समर्थन नरहनेसमेत प्रस्ट पारे । ‘नेपाल अहिले धर्मनिरपेक्ष मुलुक हो । कसैले धर्मका रूपमा मिसिनरी गतिविधि गरिरहेको छ भने जर्मनीको समर्थन हुँदैन,’ उनले भने, ‘राजनीतिक स्थायित्व र विकासमा सहयोग गर्न भने तयार छ ।’ उनले युरोपेली महासंघ (ईयू) को गतिविधि पनि जर्मनीको चासोमा पर्ने बताए । ‘ईयू पनि एउटा राज्यजस्तै व्यवहार गर्ने हाम्रो (युरोपेली मुलुक) साझा निकाय हो । यो कुनै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) होइन । यसले विगतमा नेपालभित्र सहकार्य गर्दा बाटो बिराएको भए अबका दिन सदस्य राष्ट्रले ध्यान दिनेछ,’ उनले भने ।
नेपालको शान्ति प्रक्रिया विश्वकै उदाहरणीय – जर्मन राजदूत
Previous Articleकांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?
Next Article मृत्यु राहत रकम प्रदान