म्याग्दी, १ असोज-बस्ती नै चक्ला चक्ला भई बग्न थालेपछि बेग गाविस–१ बास्बोट र लिस्ने बस्तीका २७ घर परिवार उच्च जोखिममा परेका छन् । बस्तीको दायाँ र बायाँ ठूला पहिरो झरेकोले दुवै बस्ती पहिरोमा फसेको हो ।
‘हामीलाई बचाउनुस्, पहिरोले गाउँ नै बगेको छ । बायाँ बान्दुक र दायाँ बेग गाउँ पुग्ने बाटो पहिरोले बगाएकोले भाग्ने ठाउँ पनि पाएनौं’ उद्धारका लागि गुहार माग्दै टेलिफोन सम्पर्कमा आएका स्थानीय तुलप्रसाद फागामीले भने, ‘घर भत्केका त छैनन् तर सिङ्गो बस्ती फाट्दै केही मिटर तल झरेको छ । पुछारबाट पनि पहिरो निरन्तर माथि–माथि सर्दै गएको छ ।’
पहिरोको जोखिममा परेको बास्बोट र लिस्नेरीका सबै २७ घर परिवारलाई उद्धार गर्ने प्रयास भइरहे पनि सफल भैएको छैन । उद्धारका लागि प्रहरी घटनास्थलतर्फ परिचालित भएको छ भने थप सहयोगका लागि पर्वतस्थित सशस्त्र प्रहरी बललाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी केशव आचार्यले बताए ।
बस्ती रहेको पुरै पाखो धँजा–धाँजा परेर फाट्दै बग्न शुरु गरेपछि यहाँका २७ घर परिवार घरबाहिर निक्लेर बसेका छन् । तर, उद्धारका लागि छिमेकबाट कोही पुग्नसकेको छैन । पहिरोमा फसेका स्थानीयलाई नजिकको बेगस्थित महादेव माविमा ल्याई सुरक्षित गर्न रेडक्रसका उद्धारकर्मी त्रिपाल तथा कम्बलसहित राहत सामग्री लिएर घटनास्थल पुगेका छन् । तर, डोरी लगायतका आवश्यक उद्धार सामग्री नहुँदा स्थानीयको उद्धार प्रयास सफल भएको छैन ।
म्याग्दीका बास्बोट र लिस्ने बस्तीका २७ घर जोखिममा
Previous Articleअबको सरकार एमालेकै नेतृत्वमा हुने सचिव भट्टराईको दाबी
Next Article एमाले बागलुङको अधिवेशन तीन महिनापछि सर्यो