काठमाडौं, १६ असोज – एमालेको स्थाई कमिटिले आगामी निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्ने निर्णय गरेलगत्तै माओवादीले एमालेसँग पार्टी एकता नै गर्ने गरी छलफल अगाडि बढाउन तीन नेतालाई जिम्मेवारी दिएको छ। एमाले स्थाई कमिटिको निर्णय आएको भोलिपल्ट सोमबार पार्टी कार्यालयमा बसेको माओवादी केन्द्रको बैठकले एमालेसँग पार्टी एकीकरण वा चुनावी तालमेलमा जाने निर्णय गरेको हो।
पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सोमबार भएको ६ घण्टा लामो सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालका अनुसार संघ र प्रदेशसभा निर्वाचन अघिनै दुई पार्टीबीच एकता गर्ने गरी तयारी अगाडि बढाउने निर्णय भएको छ।एमालेसँगको एकता वा चुनावी तालमेलको विषयमा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिइएको छ। माओवादी नेताहरूले मंगलबारदेखि नै एमालेका नेताहरूसँग चुनावी तालमेल र पार्टी एकताबारे छलफल गर्नेछन्।
मुलुकको आवश्यकता र बृहत्त बाममोर्चाको अवधारणालाई सार्थक तुल्याउन २ वाम पार्टीबीच एकता गर्ने निर्णयमा माओवादी केन्द्र पुगेको भुषालले बताइन। मंगलबारदेखि एमाले र माओवादी केन्द्रका नेताहरूबीच छलफल हुने र केही दिनभित्रै निष्कर्षसमेत निकाल्ने तयारी भइरहेको बताइएको छ।
सोमबारको बैठकमा माओवादी नेताहरूले मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि वाम शक्तिहरुको एकतामा अगुवाई गर्न पार्टी नेतृत्वले अग्रसरता लिनुपर्ने सुझाव दिएका थिए।
एमालेसँग एकता बढाउन माओवादीमा तीन नेतालाई जिम्मा
Previous Articleत्रिपाठीसहितका पाँच नेता सूर्य चिन्हमा चुनाव लड्ने
Next Article लस भेगास गोली काण्डमा मारिनेको संख्या ५० पुग्यो