काठमाडौं, १५ असोज – विजयादशमीको अवसरमा विभिन्न पार्टीका नेताहरुले मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दशैंघरका मूल पुजारी देवराज अर्यालबाट विजया दशमीको टीका ग्रहण गरेकी छन्। सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नी आमाको हातको टीका पनि लगाइन् र छोरी ज्वाईं तथा आफन्तलाई टीका लगाइदिइन्।प्रधानमन्त्री शेरबहादुर देउवाले भने ११ः५५ बजेको साइतमा आफ्ना गुरु विनोद सापकोटाको हातबाट टीका लगाएका छन्। त्यसपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाउन शीतलनिवास जाने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले अपरान्ह ४ बजेदेखि आफन्त तथा नेताकार्यकर्ताहरुलाई टीका लगाइदिने भएका छन्।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो निवासमा परिवारका सदस्यहरुलाई टीका लगाइदिएर विजयादशमी मनाएका छन्। उनले पत्नी, छोराबुहारी तथा छोरीज्वाइँलाई टीका लगाइदिए। पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पनि बुबा भोजप्रसाद भट्टराईको हातबाट विजयादशमीको टीका लगाएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले भने यसपटक दशैंको टीका लगाइदिएनन्। उनले देशमा प्राकृतिक विपत्ती आएको भन्दै दशैंमा टीका नलगाउने भएका हुन्। त्यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बडादशैँको अवसरमा आफ्ना दाजु बन्धुराज पौडेलको हातबाट टीका लगाए। नेता पौडेलले त्यसपछि परिवारजन, इष्टभित्र र पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो निवास बोहोराटारमा दशैँको टीका जमरा लगाइदिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले पहिलो पटक पार्टीका नेता, कार्यकर्तालाई टीका लगाइदिएका छन्।राप्रपा अध्यक्ष कमल थापाले दाजुभाउजु नेत्रबहादुर र अमिता थापाबाट टीका लगाएका छन्। उनले परिवारका अन्य सदस्यहरुलाई टीका लगाइदिए।
एमाले नेता योगेश भट्टराई भाउजुको हातबाट टीका लगाएका छन् भने रवीन्द्र अधिकारीले बाबुआमाको हातबाट।
कांग्रेस नेता गगन थापाले पनि सासुससुराको हातबाट टीका लगाउनुका साथै आफ्ना छोरीहरुलाई टीका लगाइदिएका छन्।
कुन नेताले कसको हातबाट टीका लगाए (फोटो सहित)
Previous Articleयात्राको क्रममा थाक्नु भएको छ भने यसो गर्नुहोस्
Next Article ‘राजनीतिमा लाग्दा साली जिस्क्याउन पाइएन’