अनिल थापा
काठमाडौं १५ असोज – हिन्दू धर्मावलम्बीले बडादशैंलाई महान चाडका रुपमा मान्ने गर्छन् । खासगरी नेपालमा बसोबास गर्दै आएका नेपालीले यो चाडलाई उल्लासका साथ मनाउने गर्छन् । सदियौंदेखि चल्दै आएको यो पर्वले नेपालीबीचको आत्मीयतालाई अझ कसिलो बनाउन भूमिका खेलेको छ ।
घरदेखि टाढा भएका नेपाली घरमै फर्किने, मीठा चोखो खाने, मान्यजनको हातबाट टीका तथा आशिर्वाद थाप्ने पर्वका रुपमा लिने महान चाड दशैंको सामाजिक पाटो भने क्ही फरक बन्दै गएको छ। धार्मिक रुपमा उस्तै भएपनि पछिल्लो पुस्तामा दशैंजस्तो पावन चाडमा विसङ्गति भित्रिएको कतिपय बताउँछन् ।
गीतकार रत्नशमशेर थापाको बुझाइमा आजभोलि दशैंलाई ‘कल्चरल शो’ का रुपमा हेर्न थालिएको छ । पाँच दशकअघिको तुलनामा अहिलेको दशैं बढी ‘देखावटी’ भएको थापा बताउँछन् । ‘पहिले मान्यजनलाईसम्मान गर्ने र आशिर्वाद थाप्ने चलन थियो, अहिले ठूलाबडालाई देखे पनि तर्किन खोज्न थालिसके’, थापा आफ्नो युवावस्था स्मरण गर्दै सुनाउँछन्, ‘पहिले हामीले चंगा उडाएर, सबै नातागोता भेटेर, साथीभाइ जम्मा भएर दशैंलाई महत्त्वपूर्ण दिनका बनाउँथ्यौं ।’
यदाकदा अझै पनि चंगा उडाउने, साथीभाइ भेट्ने चलन बाँकी रहे पनि वर्षको एक दिन आउने दशैं, विशेष चाडका रुपमा मान्न छोडिएको थापा बताउँछन् । ‘अहिले त होटलमा पार्टी गरेर दशैं मनाइन्छ, चाडका नाममा उच्छृङखलता धेरै भित्रिएको छ ।’ थापा थप्छन्, ‘दुर्गादेवीको महत्त्वलाई पनि नयाँ पुस्ताले हल्का रुपमा लिन थालेका छन् ।’
‘परिवर्तनलाई त हामीले स्वीकार्नैपर्छ तर पहिले दशैं पूरै गाउँमा हुन्थ्यो, अहिले घरमै सीमित भएको छ ।’, थापा भन्छन् ।
दशैंको सांस्कृतिक पक्षमा धेरै विविधता नआए पनि आजभोलि फाटफुट रुपमा दशैंमा दिइने बलिको पनि विरोध हुन थालेको छ । अर्कोतिर दशैं मनाउने भन्दै जाँडरक्सी खाएर हो–हल्ला गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
अग्रज साहित्यकार तथा निर्देशक यादव खरेलले सांस्कृतिक पक्षमा दशैंमा खासै अन्तर नदेखिए पनि सामाजिक हिसाबले भने ठूलो अन्तर परेको बताउँछन् । दशैंमा आर्शिवाद मात्र होइन, टीका थाप्न आएकालाई घरमै भएको केही न केही प्रसादस्वरुप दिने चलन पहिले भएको तर अहिले दशैं देखासिकीमै सीमित भएको उनको बुझाइ छ । ‘पाँच दशक अघिसम्म सबै मान्छे अरुको घरमा पनि टीका थाप्न जाने चलन थियो, अहिले त छानिएका केही घर मात्र बाहेक अरु घरमा कोही जाँदैनन् ।’ खरेल सुनाउँछन्, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँका नेपाली पनि दशैं मनाउन घरमै आइपुग्थे, अहिले दशैंलाई महत्त्वपूर्ण चाड नमान्ने पनि धेरै छन् ।’
आजभोलि दशैंमा रक्सी खाएर रमाइलो गर्ने चलन पनि दोहोरिएको छ । ‘तास खेल्ने, मदिरा पिएर वितन्डा गर्ने चलन हाबी भएको छ, पहिले बाहुन क्षेत्रीले रक्सी पिउँदैनथे’, उनी थप्छन्, ‘रक्सी पिउनु सबैको पहुँचमा पनि हुँदनथ्यो, यसरी तास खेल्नु, हो–हल्ला गर्नु राम्रो होइन ।’
सामाजिक रुपमा दशैंलाई फरक किसिमले हेरिनुको कारण समाजको बदलिँदो रुप नै हो । भूकम्प र वर्षेनी तराईमा पस्ने बाढी, बेरोजगारी, वैदेशिक रोजगारजस्ता पक्षले पनि दशैंको रौनकलाई प्रत्यक्ष प्रभाव पारेका छन् । साहित्यकार माया ठकुरी बाढीपीडित तथा भूकम्पपीडितले दशैंलाई ‘दशैं’ का रुपमा मनाउन नपाएको बताउँछिन् । अहिले देशको स्थिति पहिलेजस्तो नभएकाले पनि दशैंमा कम रौनक भएको उनको बुझाइ छ । ‘वैदेशिक रोजगारीले देशको अर्थतन्त्रलाई केही बलियो त बनाउला तर आफ्नो भविष्य अन्यौलमै पारेर विदेश जाने प्रवृत्तिले पनि दशैंलाई प्रभाव पारेको छ ।’ ठकुरी सुनाउँछिन् ।
भलै दशैंको सांस्कृतिक पक्ष भने अझै पनि उस्तै बलियो छ । दुर्गामाताको पूजा गर्ने र विभिन्न दिनमा सरायँ खेल्न चलन अझै पनि छ । तर दशैंलाई फेशनका रुपमा मनाउने चलनले हुँदा खाने वर्गलाई भने दशैं ऋण बोकाउने पर्व बनेको वृदधहरु बताउँछन् ।
Previous Articleवृद्धाश्रमकी आमालार्इ छोराको सम्बोधन
Next Article पहिरोले बुटवल-तानसेन सडक अवरुद्ध