काठमाडौं, २६ साउन-व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिले डा. गोविन्द केसीको अनशन तोडाउन तत्काल पहलकदमी लिन सरकारलाई निर्देशन दिएको छ । सिंहदरवारमा आज बसेको समितिको बैठकले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ तथा अन्य सरोकारवालालाई बोलाएर यस्तो निर्देशन दिएको हो ।
बैठकमा शिक्षा सचिव शान्तराज श्रेष्ठले डा.केसीको माग सम्बोधनका लागि पूर्व न्यायाधीशको संयोजकत्वमा छानविन समिति गठन गरेर काम सुरू गरेको जानकारी दिदै यसमा सरकार गम्भिर रहेको बताए । माथेमा प्रतिवेदनको भावना अनुरूप नै काम अघि बढाइ सकिएको भन्दै उनले आफ्नो जीवनको ख्याल राखी अनशन तोड्न केसीलाई आग्रह समेत गरे । समिति सभापति सुशील श्रेष्ठले डा केसीका माग सम्बोधनमा समयमै ध्यान दिनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराए । समितीका अन्य सदस्यहरुले डा. केसीले उठाएका जायज माग पुरा गर्नुपर्नेमा अन्यौलता सिर्जना गरी अनशनको १८ औं दिनसम्म पनि सरकारले सहमति गर्न नसक्नु दुखद भएको बताए । उनीहरुले पटकै पिच्छे आश्वनसन बाँड्ने तर सहमती कार्यान्वयन नगर्ने भन्दै सरकारी नियतप्रति प्रश्न उठाएका थिए ।