काठमाडौं, ५ साउन । निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । आयोगद्वारा बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार सरकारबाट असार १ गते प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनका लागि मिति असोज २ गते निर्वाचन सम्पन्न गर्ने गरी तोकिएको थियो ।
सोही निर्णय अनुरुप आयोगले प्रदेश नं. २ का ८ (आठ) जिल्लाका १ सय २७ स्थानीय तह (गाउँपालिका र नगरपालिका) को निर्वाचन सम्पन्न गर्नका लागि भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेसम्मको कार्यक्रम सञ्चालन गर्ने र मतदानको कार्य असोज २ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ ।स्वीकृत निर्वाचन कार्यक्रम अनुसारका कार्यहरू सम्पादन गर्नको लागि आयोगले मुख्य/निर्वाचन अधिकृतको नियुक्ति लगायत अन्य आवश्यक तयारी गरिरहेको जनाएको छ ।