नारायण ढुंगाना
चितवन,९ असार – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित कालिकाखोलामा गएराति एउटा ट्रक र प्रहरीको भ्यान पहिरोसँगै त्रिशुली नदीमा खसेको छ। राति करिब १ बजे कालिखोलामा खसेको पहिरोले बगाएर प्रहरीको भ्यान र ट्रक त्रिशलीमा पुर्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए।
उनका अनुसार इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित प्रहरी जवान दिपक मास्के, सन्दीप कार्की र लिलबहादुर चेपाङ सम्पर्कविहीन छन्। अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाट भट्ट, प्रहरी प्रमुख थापा सहितको उद्धार टोली खटिएको छ। नेपाली सेना, जनपद प्रहरी र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद उद्धार टोलीसमेत घटनास्थलमा पुगेर उद्धार थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ठूलो पहिरो खसेकाले बाटो अवरुद्ध भएको छ। पहिरो पन्छाउने क्रम र उद्धारको क्रम सँगसँगै भैरहेको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले राति गस्तीमा रहेको ४ जनाको प्रहरी टोली पहिरोमा परेर सम्पर्कविहीन भएको जानकारी दिए। ‘४ जना प्रहरीहरु सम्पर्कमै छैनन्, ट्रक चालकलाई सकुशल उद्धार गरिएको छ, सहचालक गम्भीर घाइते छन्’, उनले भने, ‘हामी अहिले उद्धारमै खटिएका छौं।’
मुग्लिन प्रहरीका अनुसार राति ९ बजे पनि उक्त सडकमा पहिरो गएको थियो र सो पहिरो पन्छाएर प्रहरी टोली सडक गस्तीमै रहेको थियो। त्यही क्रममा राति ठूलो पहिरो गएको हो। यसअघि गत सातामा पनि सोही ठाउँमा दुईवटा पहिरो खसेको थियो। यो क्षेत्र मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ पर्छ।
Previous Articleस्थानीय चुनावमा यसकारण बढी चर्चामा छ थवाङ
Next Article स्थानीय तह निर्वाचन र आर्थिक विकास