म्यानपावरको चरम मनपरीका कारण धेरै सर्वसाधरण नेपालीले विदेशमा बिचल्ली हुनुपर्ने अवस्था छ । म्यानपावरको चिल्लो आश्वासनमा मख्ख पर्नु, विदेश जानुअघि जान्नु पर्ने कुरा र म्यानपावरको बैधानिकताबारे बुझ्न नसक्दा धेरै नेपालीहरु विदेशमा बिचल्ली भएर बाँच्नु पर्ने अवस्था छ । म्यानपावरकै चरम लार्पवाहीका कारण उदयपुर जिल्लाका करिब १७ जना युवा साउदी अरबमा अलपत्र परेका छन् । काठमाडौंको सिनामंगलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरबाट तीन साता अघि साउदीमा पुगेका १७ जना युवा अहिले बिचल्लीमा परेका हुन् । उदयपुरका गोविन्द खड्का, होमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्र बस्नेत, तेजबहादुर कटुवाल, वसन्त राई, दुर्गानारायण श्रेष्ठ, तेजबहादुर कटुवाल, उमेश खड्का, युवराज कार्की, सोभित राई, तोपबहादुर मगर, मोहन राई, मनोज राई, मातृका घिमिरेसहितका युवा साउदीमा अलपत्र परेका हुन् ।
प्रतिव्यक्ति एक लाखका दरले रकम लिएर युवालाई गाईघाटका म्यानपावर सञ्चालकले काठमाडौंको साउनलाइन्स मार्फत साउदी पठाएका थिए । साउदी पुगेका युवाले सम्झौताअनुसार काम नपाएको र अहिले बिजोग अवस्थामा होटलमा बस्नु परिरहेको आफन्तले बताएका छन् । साउदीमा आफुमार्फत पुगेका युवाहरु बिचल्लीमा परेपछि म्यानपावर सञ्चालक सम्पर्कबिहिन भएका छन् । श्रम सम्झौता अनुसारको तलब नपाउने, एग्रिमेन्ट पेपरमा एउटा काम उल्लेख भएपनि विदेशमा जाँदा अर्के काम गर्नुपर्ने बाध्यताका कारण नेपाली युवा समस्यामा पर्दै आएका छन् । खाडी मुलुकमा नेपाली युवा अलपत्र परेको यो कुनै नौलो घटना होइन । म्यानपावरको ठगी धन्दाका कारण धेरै युवाहरु विदेशमा अलपत्र परेका छन् । नेपाली युवाहरु विदेशमा अलपत्र भएका घटना दिनहुँ जसो घटेपनि सरकारले म्यानपावर कम्पनीलाई कार्वाहीको दायरामा भने ल्याउन सकेको छैन । म्यानपावरको मनपरीतन्त्र जबसम्म रोकिदैन तबसम्म नेपाली युवाले विदेशमा सन्तोषको सास फेर्न पाउने छैनन् । च्याउसरी खोलिएका म्यानपावर कम्पनीले मोटो रकम असुल्ने गर्छन् । उनीहरुको यस्तो लुटतन्त्रलाई सरकारी निकायले लगाम लगाउने प्रयाससम्म गरेको छैन ।
खाडी मुलुकमा श्रम गर्न जानेमा अधिकांश गरिब नागरिक हुन्छन् । गाउँघरमा ऋणधन गरेर विदेशमा पैसा कमाएर परिवारको जीविका चलाउने सपना देखेर विदेश पलायन हुने सर्वसाधरण ठगिएपछि उनीहरुमा कस्तो मनोवैज्ञानिक असर पर्ला यसतर्फ सरकारी निकायले सोच्नु पर्दैन ? ऋण काढेरको धन ठगिएपछि कतिपय सर्वसाधारण घर न घाटका हुन पुगेका छन् । उनीहरुलाई राहत दिने काम सरकारले गर्नुपर्छ । विदेश जानुअघि बुझ्नु पर्ने कुरालाई पनि बेवास्ता गर्दा धेरै ठगिन पुग्छन् । त्यसैले विदेश जानु अघि सबै कुरा बुझ्न जरुरी छ । जसको लागि सरकारले परामर्श डेस्कको पनि व्यवस्था गरेको छ । विदेशम अलपत्र परेका आफ्ना नागरिकको उद्वार गर्नु राज्यको दायित्व हो । त्यसैले विदेशमा अलपत्र परेकालाई समयमै उद्वारी गरी ठगी गर्ने म्यानपावर कम्पनीलाई कार्वाहीको दायरामा ल्याउनु पर्छ ।